गृहपृष्ठ हराउँदै असारे भाका, मसँगै छोड्यो गाँउ
हराउँदै असारे भाका, मसँगै छोड्यो गाँउ
आजभन्दा १० वर्ष अगाडी यही दिन झिमझिम पानी परिरहेको थियो । अहिले पनि त्यो दिन याद छ । किनकि मौसमले नै खेतीमा जाँउ–जाँउ जस्तो भइरहेको थियो । त्यसमा पनि झापा धान खेतीका लागि देशकै अग्रस्थानमा पर्छ ।
त्यो दिन असार १५ अथवा धान राप्ने दिन अनि दही चिउरा खाएर रमाइलो गर्दै हिलोमा छुपु–छुपु धान रोपेर रोपाईको सुरुवात गरी मानो खाएर मुरी उब्जाउने दिन । मलाई असार १५ का बारेमा त्यती थाहा थिएन । तर, यो भन्दा १० वर्ष अगाडीको असार १५ भने मेरा लागि अविस्मरणीय रहयो । नरहोस् पनि किन ? सिमेसिमे पानी परिरहेको थियो । भान्साबाट आमाले भन्नुहुन्थ्यो ‘सानो प्लास्टिक दिएर ओढेर मात्र बाहिर निस्क है । आज रोपाई पनि छ । धान रोम्रो र अरुले भन्दा छिटो रोप्न सिक्नुपर्छ, वर्ष भरी खाने धान त्यहीँ हो ।’

आमाले घुम ओढेर खेतमा जान्नुहुन्थ्यो । मलाई पनि घुम ओढेर धान राप्ने खुबै रहर थियो । सायद, त्यो दिन पहिलो पटक हो मैले पनि घुम ओढेर धान रोपे । नजिकै धान रोपीरहेकी आमाले ‘तलाई घुम ठूलो हुन्छ । ओढ्न जान्दिनस् भन्दै ओढाई दिनुभयो । मलाई पनि घुम ओढ्न रहर थियो, पुरा भयो ।’
त्यो दिन, छरछिमेकीका सबै हिलोमा रमाउँदै थिए । मेरै समुहका सबै साथीहरु खेतमै थिए । असार लागेपछि स्कुल पनि छुट्टी थियो सबै मिलेर खुबै हिलो पनि खेलियो ।
आमाहरुले भाका हालेर असारे गीतहरु गाउन थाल्नुहुन्थ्यो । नजिकै गोरु जोतिरहेका बा’हरुले पनि आमाहरुले गाएको गीतलाई जिस्काउँदै दोहोरी गाउँदै ‘गीतसँग गीतको जवाफ दिएको मैले कहिले सुनको थिइन ।
आमाहरु : ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’ जस्ता गीत गाएर रमाइलो गर्दै छुपुछुपु धान रोप्न साह्रै रमाइलो हुन्थ्यो । त्यो दिन परम्परामैत्री गीतमा धान रोपाई हुन्थ्यो । मैले अझै पनि बिर्सिएकी छैन आमाहरुले एक लय हालेर हातमा धानको बीउ बोकेर छुुपुछुपु पार्दै गाएका गीतहरु ।
आमाहरु : दशैँमा खाने खसीको मासु माघैमा खाने घिउ, छुपुमा छुपु रोप्दैमा जाँउ है यो पिपलपाते बीउ
बा : असारेमास जोतियो गोरु मंसिर धान भित्राउने, यो दिन लगाएको बालीले अब वर्षदिन कटाउने
आमाहरु : ब्याडे दाजु काडी ल्याउनु ब्याडे बिउ दिनु, हली दाजु हलो है जोत्दै रसिया गाइदिनु रिमि र झिमि पानी है पर्यो असार मासैमा सिडेको हामी धानै मा रोप्न बेंसीको फाटैमा
बाहरु : नाच न बाउसे नाँच न रोपार दबदबे हिलोमा बरिलै दबदबे हिलोमा, छुपुमा छुपुधानैमा रोप्नु् असार पन्ध्रैमा बरिलै असार पन्ध्रैमा होरि पच फुर्के दाइने भन्दै हजुरआमाले खाजा खान बोलाउनुहुन्थ्यो । केही समयपछि सबैजना खाजा खान अलि फराकिलो ओभानो ठाँउमा एकट्ठा हुन्थे । हजुरआमाले दुई दिन अगाडिबाट जमाएर राखेको दही, भर्खरै मिलबाट ल्याएका चिउरा र केहीअघिबाटै पकाउन हालेको केरा र आँप सबै निकालेर साना साना कचौरामा तयार पार्नुहुन्थ्यो ।
सबैलाई मिलाएर दिदैँ जानुहुन्थ्यो सबैलाई त्यति खाइसकेपछि त्यही कचौरामा कटहर दिदैँ जानुहुन्थ्यो । धेरै जना मिलेर सामुहिक रुपमा त्यसरी खुसीसाथ खाजा खाँदा अत्यन्तै आनन्द आउथ्यो । सिमसिम पानीमा सबैजना मिलेर गीत गाउदै धान रोप्नुको मज्जा नै छुट्टै थियो । माथी तान्ने मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्दा त्यो प्रचण्ड गमीको यादै हुदैनथ्यो ।

देखावटी
तर मैले गाँउ छोडेसँगै परम्परागत असारे भाका र शैली त गाँउले पनि छोडिसकेछ । अहिले त असार १५ भने पहिलेको भन्दा व्यापक पो भइसकेछ । केही समयको व्यस्ततापछि गाँउमा जाँदा त धान रोपेको थाँहै पाइन् । अहिले गाँउमा पनि असारमा न त असारे गीत न खेतमा हलो जोत्ने हली नै । अहिले त गाँउमा टयाक्टरले खेत जोत्छ र मेशिनले धान रोप्छ ।
न त मान्छेहरुको जमघट न त पानीमा भिज्दै धान रोप्नुको रमाइलो । पहिले हामीलाई धान रोप्न जाने दिन कहिले आउछ होला भन्ने लाग्थ्यो तर अहिलेका युुवाहरुमा त्यो उत्सुुकता नै देखिदैन । जसले जे गरे पनि मतलब छैन । कहिलेकाँही त लाग्छ प्रविधिले गर्दा युवाहरुको महसुस गर्ने खुसीबाट बञ्चित भएको पो हुन् की ।
नेपालमा अधिकांशको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । कामको चटारोले थकित भएका किसानलाई शक्ति प्राप्तिका लागि दही चिउरा खानको साटो होटलमा बनेको हानिकारक खानेकुराको रबाब देखाउने गरेको देखे । फलानोका भन्दा मेरोमा महँगो भन्ने खालको हेयले होटेलमा बनेका शरीरलाई असर गर्ने खालका खानेकुरा खाने गरेको देखेर त मलाई अचम्म लागेर आयो ।
कहाँ गयो हाम्रो परम्परागत शैलीमा गरिने धान रोपाई ? त्यसको जर्गेना कसरी गर्ने ?
अहिले त्यहाँ त असार पन्ध्रमा खेतीपातीभन्दा लाज मान्नेहरु पनि असार १५ मा देखाउनलाई भए पनि एउटा गाबो धान रोपेको र एक चम्चा दही चिउरा खाएको देखाउँछन् । धान दिवस भड्किलो देखावटी मात्र धेरै हुने गरेको छ ।

नत छन् असारे गीत, न त छ परम्परागत शैली । कहिल्यै खेत नै नटेक्नेहरु मान्छेहरु पनि टिकटकमा भाइरल हुने उद्देश्यले खेतमा जाने गर्छन् । न की वर्षभरि खाने धान उत्पादनको चिन्ताले । सामाजिक सञ्जालमा देखाउनका लागि मात्रै छोटा छोटा कपडा लगाएर भड्किलो रुपमा मनाउने गरिएको छ ।

सरकारले २०६१ सालदेखि १५ असारलाई राष्ट्रिय धान दिवस रूपमा मनाउन थालेको हो । यो दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हुन त अहिले सामाजिक सञ्जालकै प्रभावले होला विदेशी पर्यटकहरु पनि नेपाली धान दिवसका दिन धेरै ठाँउमा रमाइरहेको पाइन्छ । विश्वमा नेपाली धान दिवसको प्रशंसा भइरहेको छ ।
नेपालीहरुको धान दिवस देखेर विदेशमा पनि मनाउन थालिएको छ । संसारले हाम्रो संस्कृतिलाई अगाँल्दै जान थालेको छ ।

यस्तो अवस्था आफ्नै देशमा भने हाम्रो परम्परा लोप हुन्छ कि भन्ने डर रहेको छ । पहिले सास्कृतिक महत्व भएको असार १५ अहिले आर्थिक महत्वको रुपमा परिणत भएको छ । त्यो एउटा राम्रो पक्ष हो तर साँस्कृतिक शैलीलाई पनि चटक्कै बिर्सिनु पनि ठीक होइन ।
सरकारले यसवर्षको धान दिवस तथा रोपाईं महोत्सवको नारा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ प्रमुख खाद्यान्न बाली धानको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरणलाई प्रवर्द्धन गर्न २० औं राष्ट्रिय धान दिवस मनाइएको हो । तर त्यसलाई अहिलकोे पुस्ताले रमाउने दिनका रुपमा मात्र लिने गरेको छ ।
हाम्रो परम्परागत शैली हाम्रो पुरानो संस्कृति नै ओझेलमा पर्छ की भन्ने डर भएको छ । नेपालजस्तो कृषि प्रधान देशमा यसलाई देखाउन मात्र नभएर उब्जनी बढाउन साथै हाम्रो संस्कृति संरक्षण गर्ने तरिकाले निरन्तरता दिन आवश्यक छ ।
प्रकाशित समय : १०:३५ बजे



















