गृहपृष्ठ इटहरीमा ग्लोबल आइएमईको गुण्डागर्दी शैली : सिईओ भन्छन्, ‘प्रक्रिया अनुसार नै गएको हो’ 

इटहरीमा ग्लोबल आइएमईको गुण्डागर्दी शैली : सिईओ भन्छन्, ‘प्रक्रिया अनुसार नै गएको हो’ 

इटहरीमा ग्लोबल आइएमईको गुण्डागर्दी शैली : सिईओ भन्छन्, ‘प्रक्रिया अनुसार नै गएको हो’ 

सुनसरीको इटहरी स्थित ग्लोबल आइएमई बैंकले इहटरीका शुभलक्ष्मी ज्वेलर्सका व्यापारीलाई हातहतियार सहित कर्मचारी खटाएको भन्दै इटहरीका व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
बिहान ८ बजे देखि १२ बजे सम्म इटहरीका व्यवसायीहरु ग्लोबल आइएमई बैंक विरुद्ध आन्दोलन गर्दै इटहरीको पसल बन्द गराएको उद्योग वाणिज्य संघ (उवासं) इटहरीका अध्यक्ष जिवन पराजुलीले बताए ।

आइतबार साझ उवासंघको आकस्मिक बैठक बसेर सोमबार आन्दोलन गर्ने निर्णय भएको पराजुलीले न्युज कारोबारसँग बताए । ‘यो आन्दोलन भनेको ग्लोबल आइएमई बैंक विरुद्ध मात्र होईन,’ पराजुली न्युज कारोबारसँग भन्छन्, ‘यो समग्र बैंकको गुण्डागर्दी शैली विरुद्ध हो ।’
आगामी दिनमा आन्दोलनले कस्तो स्वरुप हुन्छ भन्ने कुरा बैंकले गर्ने व्यवहारले निर्धारण गर्ने पराजुली बताँउछन् ।

१० गते उवासंघ इटहरीले एक सूचना जारी गर्दै आन्दोलन गर्ने बताएको थियो । ‘बैंकले इटहरीबाट गुण्डागर्दी शैलीमा हातहतियार सहित व्यवसायिक स्थलमा प्रवेश गरी कर्जा असुलीको नाममा अमानवीय रुपमा मानमर्दन हुने गरी सामान जफत गर्ने उद्देश्यका साथ भएको गतिविधि’ भनेर उवासंले जारी गरेको सूचनामा भनेको छ ।

ग्लोबल बैंकका कार्यकारी अधिकृत (सिईओ) रत्नराज बज्राचार्यसँग बैंकले गरेको अमानवीय व्यवहारका विषयमा समेत कुरा भएको अध्यक्ष पराजुलीले बताएका छन् । ‘हाम्रो आन्दोलनले केही सार्थकता पनि पाएको छ, यो विषयलाई लिएर उद्योग वाणिज्य महासंघका प्रदेश, केन्द्रका पदाधिकारीहरुले पनि सहयोग गर्ने बताई रहनु भएको छ’, पराजुलीले भने, ‘बैंकका सिइओ ज्युले पनि मलाई सम्पर्क गर्नु भएको थियो ।’

बैंक ज्वेलर्समा प्रक्रियागत रुपमानै गएको सिइओले पराजुलीलाई बताएका थिए । ‘सिईओसँग मेरै कुरा भएको थियो, उहाँले बैंकको ३ पटक सम्म सुचना निक्लेको र लिलामी प्रक्रीयामा गएको छ,’ पराजुलीले सिईओको भनाई उद्रित गर्दै भने, ‘उहाँले ‘हामीले नियमित प्रक्रीयागत रुपमै त्यसरी गएका थियौं’ भन्नु भएको थियो ।’

पराजुलीका अनुसार सिईओ बज्राचार्यले सवै चिज प्रक्रिया अनुसार नै गएको तर त्यहाँ जाने व्यक्तिले कस्तो व्यवहार गर्नु भएको त्यो फरक रहेको बताएका थिए ।

अहिले समयमै ऋण नतिरेको भन्दै बैंकले लिलामी प्रक्रिया अगाडी बढाइसकेको छ । आइतबार ज्वेलर्सका सरसामान जफत गर्ने प्रयास गरेको बैङ्क लामो समय गलफती गरेपछि फिर्ता भएको स्थानीयले बताएका छन् । बैंकले लिलामी प्रक्रियाकै क्रममा सामान जफत गर्न बैंक ज्वेलर्स पुगेको थियो ।

प्रकाशित समय : १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु