गृहपृष्ठ सरकारी गोदाममा ७४ हजार मेट्रिक टन मल मौज्दात, किसानको बोरा रित्तै
सरकारी गोदाममा ७४ हजार मेट्रिक टन मल मौज्दात, किसानको बोरा रित्तै
विगत ५ वर्षदेखि मुख्य नगदेवाली लगाउने बेलामा किसानले रासायनिक मल पाउँदैनन् । यो समस्या किसानले वर्षेनी भोग्दै आएपनि सरकारले समयमा मल उपलब्ध गराउन सकेको छैन ।
हाल ७३ हजार मेट्रिक टन मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । तर, देशभरका किसान मल खोज्दै दैनिक कृषि सामाग्री केन्द र सहकारी धाउने गरेको सामाजिक सञ्जालसँगै सञ्चारमाध्यममा गुनासो गर्छन ।
युरिया मल ५९ हजार ४ सय ५१ मेट्रिक टन, डीएपी १३ हजार ४ सय ९२ र पोटास १ सय २२ मेट्रिक टन मौज्दात छ । चालु आर्थिक वर्षमा जेठ तेस्रो हप्तासम्म ३ लाख ३ हजार मेट्रिक टन मल आयात भएको र गएको आर्थिक वर्षको मौज्दातसहित २ लाख ६० हजार मेट्रिक टन मल बिक्री भैसकेको कृषि मन्त्रालयले जनाएको छ । भने, किसानले धानको विउ र अन्य वालीमा हाल्ने मल नपाएको भन्दै मल खोज्न बोरा बोकेर शहरमा डुल्ने गरेका छन् ।
धानबालीको मुख्य सिजन असारदेखि भदौसम्मका लागि मलको अभाव नहुने कृषि मन्त्रालयका मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले जानकारी दिए । मल सबै डिपोमा पठाइएको र मलको अभाव नभएको उनको दाबी छ । के कारणले मल अभाव भएको हो हामीले सम्बन्धीत निकायसँग बुझिरहेका छौं । यो समस्या समाधान गर्न सरकार गम्भीर भएर लागेको उनको भनाइ छ ।
अनुदानमा सरकारले उपलब्ध गराउने मलको बिक्री मूल्यमा पारदर्शिता कायम गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्पूर्ण पालिकालाई अनुरोध गरेको कृषि मन्त्रालयले जनाएको छ ।
कृषि कम्पनीले आयात गर्ने ५ हजार मेट्रिक टन पोटास र साल्ट ट्रेडिङले आयात गर्ने २ हजार ५ सय मेट्रिक टन पोटास पनि भारतको विशाखापटनम् आइसकेको छ । साल्टले आयात गर्ने २० हजार मेट्रिक टन डीएपी मल चीनको लोड पोर्टमा लोडिङ्ग भएर भोलिसम्ममा कोलकोत्ता आइपुग्ने मन्त्रालयले जनाएको छ ।
यस्तै, कृषि सामग्री कम्पनीले आयात गर्ने २० हजार मेट्रिक टन डीएपी मल भारतको विशाखापट्नम बन्दरगाहबाट नेपालका लागि चलान भएको छ । त्यसमध्ये केहि मात्रामा मल नेपालको विरगंज आइसकेको कम्पनीले जनाएको छ । यस्तै साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आयात गर्ने २७ हजार मेट्रिक टन युरिया कोलकोत्ताबाट नेपालका लागि चलान अवस्थामा छ । साथै २५ हजार मेट्रिक टन डीएपी मल पनि कोलकोत्ता आइपुगेको छ ।
प्रकाशित समय : ०७:०० बजे


















