गृहपृष्ठ नक्कली शरणार्थी प्रकरण : थुनछेक बहस सकिँदै
नक्कली शरणार्थी प्रकरण : थुनछेक बहस सकिँदै
नक्कली भुटानी शरणार्थी प्रकरणबारे जिल्ला अदालत काठमाडौंमा चलिरहेको थुनछेक बहस बिहीबार सकिने भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेले ‘भोलि जसरी पनि सक्नुपर्छ’ भनेर बुधबार इजलास टुंग्याएका थिए ।
प्रतिवादीका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्न लगाएर उनले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने कि धरौटी वा साधारण तारिखमा छाडेर मुद्दा किनारा लगाउने भन्ने आदेश दिनेछन् ।
इलजासमा बुधबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र पूर्वसांसद आङ्टावा शेर्पाका कानुन व्यवसायीहरूले बहस गरेका थिए । बिहीबार भुटानी शरणार्थी नेता टेकनाथ रिजालका तर्फबाट १६, हरिभक्त महर्जनका तर्फबाट दुई र उनकी पत्नी लक्ष्मी महर्जनका तर्फबाट एक जना अधिवक्ताको बहस हुनेछ । त्यसलाई खाजाअघिको समयमै सक्ने योजनामा न्यायाधीश न्यौपाने रहेका छन् ।
गिराेहमा कसकाे भूमिका के ?
टोपबहादुर रायमाझी
नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने अपराधका सबैभन्दा उच्च ओहदाका व्यक्ति हुन् टोपबहादुर रायमाझी । पूर्वउपप्रधानमन्त्री, ४ पटक सांसद र पाँचपटक मन्त्री भएका उनी माओवादीको पार्टी सचिव र संसदीय दलको उपनेता हुँदै एमालेको सचिवसम्म भएका व्यक्ति हुन् । ११ दिन फरार भएपछि बैशाख ३१ मा पक्राउ परेका उनी अहिले प्रहरीको अनुसन्धान दायरामा छन् । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रमुख योजनाकार वा मतियारका नाइके नै उनी भएको तथ्य प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
बालकृष्ण खाँण
पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण नेपाली काँग्रेस केन्द्रीय सदस्य हुन् । खाँण गृहमन्त्री भएकै बेला रुपन्देहीमा चुनाव हारेका ‘हाइप्रोफाइल’ नेता हुन् । उनी गृहमन्त्री रहेकै बेला मन्त्रालयकै गाडीमा बोराका बोरा पैसा ओसारेकोदेखि मन्त्रालय नै गिरोहले कार्यालयको रुपमा प्रयोग गरेको तथ्य अहिले सार्वजनिक भएको छ । नक्कली शरणार्थी प्रकरणमा नक्कली प्रतिवेदन बनाउन गिरोहलाई सघाउने भूमिका खाँणले खेलेका थिए । उनी पक्राउ परेपनि काँग्रेसले अझै निलम्बन गरेको छैन ।
आङटावा शेर्पा
संविधान सभा निर्वाचनमा रामेछापबाट निर्वाचित सभासद् हुन् आङटावा शेर्पा । उनी नेपाली काँग्रेसका नेता पनि हुन् । नक्कली शरणार्थी प्रकरणमा उनले तीन ठाउँमा कार्यालय नै सञ्चालन गरि पैसा उठाएको मात्रै सार्वजनिक भएको छैन, पीडितले घेरेपछि पैसा फिर्ता गरेको विषय समेत सार्वजनिक भएको छ । उनी पूर्वगृहमन्त्री खाँण निकट मानिन्छन् । विशेषगरि अमेरिका जान इच्छुक शेर्पा समुदायका व्यक्तिलाई उनले निशाना बनाएका थिए । पक्राउ पुर्जी जारी भएको हल्ला भएपछि उनी आफै तर्सिएर प्रहरी समक्ष जेठ १ गते आत्मसमर्पण गरेका थिए । नक्कली शरणार्थी बाहेकका १६ जना व्यक्तिलाई अमेरिका पठाउने भन्दै उनले झण्डै एक करोड ठगि गरेको विषयसमेत सार्वजनिक भएको छ ।
टेकनाथ रिजाल
यो प्रकरणको चौथो ठूलो प्रोफाइलका नेता हुन् टेकनाथ रिजाल । नक्कली भुटानी शरणार्थी बनाउन सक्कली भुटानी शरणार्थीका नेता नै मुछिएको भेटिएपछि उनी जेठ चार गते पक्राउ परेका छन् । उनले शरणार्थी नेताका रुपमा नेपाल सरकारबाट मासिक लाख रुपैयाँ बराबरको तलब भत्ता र गाडीसहितको सुविधा उपभोग गर्दै आएका थिए । तत्कालिन समयमा भुटानी शरणार्थीलाई अमेरिका पठाउन हुन्न, हामी भुटान नै फर्किएर मर्न चाहन्छौं भन्दै स्वदेश फिर्ताको मुद्धा उठाएपछि उनलाई इमान्दार र निष्ठावान् नेताका रुपमा चर्चा गरिएको थियो । भुटानी राजाको सल्लाहकार परिषद्को सदस्यसमेत रहेका रिजालले दरबारको सल्लाहकार होइन, शरणार्थी शिविरको आवाज बन्ने बाटो रोजेका थिए । यसका लागि उनले १० वर्ष भुटानको जेलमा विताए । २० वर्षयता नेपाल निर्वासन थिए । तर नेपालकै जेलमा बस्ने बाटो समाएपछि उनी आफ्नै समुदाय र आफूलाई शरण दिएको देशमाथि घात गर्न पुगे । उनी मृगौला रोगका बिरामी पनि हुन् ।
डा. इन्द्रजित राई
तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार थिए, डा. इन्द्रजित राई । उनी गिरोहका अर्का शक्तिशाली नाइके हुन् । गिरोहको सेटिङ गृहमन्त्रालयभित्रै बसेर गरेका उनी बैशाख १९ गते पक्राउ परेका थिए । गिरोहका सदस्य सानु भण्डारीले बयान दिएपछि पक्राउ परेका हुन् । प्रहरीले धेरै प्रमाण जुटाएको व्यक्ति मध्ये उनी अग्रस्थानमा छन् । यद्यपी बयानमा उनले आफ्ना गृहमन्त्री र तत्कालिन गृहसचिव प्रेम राईलाई भने जोगाएको आरोप छ । तर यो प्रकरणमा मतियारका रुपमा उनका छोरा निरज पनि मुछिएका छन् । निरजविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी अहिले फरार छन् । तत्कालिन गृहमन्त्री थापाका छोरा प्रतिक पनि पक्राउ पुर्जी जारी भएपछि अहिले फरार अवस्थामा छन् ।
शमशेर मियाँ
नेपाल हज कमिटीका अध्यक्ष हुन् शमशेर मियाँ । पक्राउ पर्ने डरले कार्यालयका कागजात नै बाहिर मगाएर काम गर्दै आएका उनलाई प्रहरीले जेठ ४ मासिंहदरबारभित्रै बाट पक्राउ गरेको छ । उनले युएनएचसीआरको तथ्यांक फेर्नेदेखि उनकै गाडी बोराका बोरा पैसा ओसार्न प्रयोग गरेको तथ्य फेला परेपछि उनी अनुसन्धानमा तानिएका हुन् । उनी पक्राउ परेपछि राजनीतिक संलग्नतादेखि मान्छे खोज्नेसम्मको गिरोहसँग कनेक्सन सतहमा आएका छ।
टेकनारायण पाण्डे
टेकनारायण पाण्डे, तत्कालिन गृहसचिव र हाल उपराष्ट्रपति कार्यालयका सचिव थिए । बहालावाला सचिव नै संलग्न रहेको पाइएपछि उनी पक्राउ परेका हुन् । नीतिगत तहमा सबैभन्दा ठूलो भुमिका पाण्डेको थियो । गृह प्रशासन नेतृत्व गर्न लायक नभएपनि गिरोहले सेटिङ मिलाउनकै लागि २०७८ साउन २७ मा उनको सरुवा गराएको थियो । बैशाख २० मा पक्राउ परेका पाण्डेलाई खाँणले गृहमा ल्याएका हुन् । उनलाई त्यहाँ ल्याउन आरजु राणादेखि र मञ्जु खाँणले समेत भूमिका खेलेको तथ्य सार्वजनिक भएको छ । पक्राउ परेपछि हिरासतमै रहेका बेला आरजुसँग भेटेर बयान फेरेकोदेखि आरजु बचाएको आरोपसमेत उनीमाथि छ ।
केशव दुलाल र सानु भण्डारी
नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार केशव दुलाल र सानु भण्डारी हुन् । उनीहरुकै बयानका आधारमा पूर्वमन्त्री रायमाझी र खाँण तानिएका हुन् । २०७९ को चैत १२ गते उनीहरु पक्राउ परेपछि मात्रै अनुसन्धानअघि बढेको थियो । बयानका क्रममा उनीहरुले पूर्वमन्त्रीसहितका भीआईपी र भीभीआईपीको नामसमेत पोलेपछि प्रहरी झस्किएको थियो । त्यसमध्ये पनि सानुको बयानले भीआईपीलाई समेत यस प्रकरणमा तानेको हो । बयान फेरे हिरासतमै आत्मदाह गर्ने चुनौती दिएका उनले ठूला माछाको नाम लिएका थिए । त्यसमध्ये केही पक्राउ परेका छन् भने केही भीभीआइपी अझै अनुसन्धानको दायरामा आएका छैनन् । एमाले अध्यक्ष ओलीदेखि काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणासम्मको नाम मुछ्ने उनीहरु नै हुन् ।
नरेन्द्र केसी
पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकिय सचिव हुन् नरेन्द्र केसी । चितवनको शारदा माविका प्रध्यानाध्यापक रहेका केसीले काज मिलाएर पिएको जागिर खाएका थिए । उनी तरुण दलका नेताहरुसँग निकट छन् । खाँण पक्राउ परेकै दिन उनी पनि पक्राउ परेका हुन् ।गिरोहलाई बालकृष्ण खाँणसँग सम्पर्क गराउने प्रमुख भूमिका केसी र खाँण पत्नी मञ्जुले गरेका थिए । तर उनले खाँणको नाम भने बयानमा पोलेका छैनन् ।
सन्दीप रायमाझी
पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् सन्दीप रायमाझी । उनले बुवा रायमाझीको मतियार बनेर यो प्रकरणमा भूमिका खेलेका छन् । उनको भूमिका मुख्यतः मन्त्रालयदेखि गिरोहसम्म पुगेर पैसा उठाउने रहेको थियो ।अहिले बाबुछोरा नै हिरासतमा हावा खाइरहेका छन् ।
रामशरण केसी र गोविन्द चौधरी
बालकृष्ण खाँण पक्राउ परेको अघिल्लोदिन बैशाख २६ मा पक्राउ परेका उनीहरुले सरकारी वकिलको कार्यालयमा खाँणलाई जिस्काउनेदेखि बयानमा पूर्वप्रधानमन्त्रीहरुको नाम ओकेलेपछि प्रहरीले अनुसन्धानलाई थप सशंकित बनाउने काम गरेका थिए । एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवा दम्पत्तिको नाम पनि उनकै मुखबाट ओकलिएको थियो । त्यही बेला शिर्षनेताहरु भेटघाट तीव्र बनेकाले धेरैले आशंकासमेत गरेका थिए ।
सन्दीप शर्मा, टंक गुरुङ र सागर राई
यी तीनै जना पात्रहरु गिरोहका सदस्य हुन् । केशव दुलाल र सानु भण्डारीका विचौलियाको काम गर्ने यी पात्रहरुले नक्कली भुटानी शरणार्थी भएर अमेरिका जान चाहने मान्छेहरु खोज्ने काम गर्थे । उनीहरुबाट पैसा उठाएर योजनाकार र मन्त्रीसम्म पुर्याउने भूमिका पनि उनीहरुको थियो ।
प्रकाशित समय : ०७:२७ बजे


















