गृहपृष्ठ वीरेठाँटी-घान्द्रुक सडक पुनःनिर्माण गर्न नौ लाख बढी सहयोग
वीरेठाँटी-घान्द्रुक सडक पुनःनिर्माण गर्न नौ लाख बढी सहयोग
कास्की ।कास्कीको अन्नपूर्ण गाउँपालिकाको पयर्टकीय क्षेत्र घान्द्रुकलाई पोखरासँग जोड्ने पक्की सडक तीन सातादेखि अवरुद्ध छ । मोदीको कटानले वीरेठाँटी बजार अहिले जोखिममा पर्नुका साथै यहाँको १०० मिटर सडक बगेपछि पुनःनिर्माणलाई अघि बढाइएको हो ।
गाउँपालिकाले सडक पुनःनिर्माणका लागि विपद् व्यवस्थापन कोष बनाएर रकम जम्मा गर्नका लागि सरोकार भएका सबैलाई आह्वान गरेकामा आज एकै दिन नौ लाख ७७ हनार ६९५ रकम जम्मा भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए ।
गत साउन २८ गते राति मोदी खोलामा आएको बाढीले वीरेठाँटी र स्याउली बजारमा सडक बगाएपछि वीरेठाँटीबाट माथिका गाउँहरूको अहिले सिधा यातायात सम्पर्क विच्छेद भएको छ । बाढीका कारण वीरेठाँटी क्षेत्रको सडकमा क्षति पुगेसँगै घान्द्रुक तथा अन्नपूर्ण आधार शिविर जाने प्रमुख मार्ग प्रभावित बन्नुका साथै यहाँको पर्यटकीय गतिविधि ठप्प छ ।
वीरेठाँटी हुँदै उल्लेरी, घोडेपानी र पुनहिल जाने पर्यटकीय मार्गसमेत प्रभावित भएपछि सडक पुननिर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको अध्यक्ष केसीले बताए । अन्नपूर्ण गाउँपालिकाले विपद् व्यवस्थापन कोषमार्फत राहत, पुनःनिर्माण तथा पुनःस्थापनाका लागि सहयोग जुटाउँदै आएको छ ।
“बाढीबाट क्षतिग्रस्त वीरेठाँटी(घान्द्रुक तथा उल्लेरी(घोडेपानी सडक पुनःनिर्माणका लागि अन्नपूर्ण गाउँपालिकाद्वारा स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा विभिन्न व्यक्ति, सामाजिक सङ्घसंस्था, व्यवसायी तथा राजनीतिक दलबाट आर्थिक सहयोग जुटेको छ । हामी यो रकम विपद् प्रभावित क्षेत्रमा खर्च गर्छौँ । छिटोभन्दा छिटो सडक सञ्चालन गरेर स्थानीयवासी र पर्यटकलाई सुविधा दिने गरी काम गरेका छौँ”, उनले भने ।
अध्यक्ष केसीका अनुसार नेपाली सेनाको नेतृत्वमा अहिले सडक पुनःनिर्माण भइरहेको छ । “बस्तीतर्फ सोझिएको नदीको बहाव परिर्वतन गरी सडक बगाएको स्थान ग्याविन जाली भर्ने काम जारी छ । आगामी असोज पहिलो सातासम्म सडक सञ्चालन गर्ने गरी काम थालिएको छ”, उनले भन्े ।
गाउँपालिकाले सडक पुनःनिर्माण तथा तथा विपद्पछिको व्यवस्थापनका लागि स्थापना गरेको कोषमा आज ब्रेज मेश्रम घान्द्रुक समाज जापानले दुई लाख, नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी कास्की र एमाले अन्नपूर्ण गाउँ कमिटीले संयुक्त रूपमा एक लाख ६८ हजार १०० सहयोग गरेका छन् ।
ब्रेज मेश्रम वराह घान्द्रुक समाज पोखराले एक लाख ५३ हजार ६५०, अन्नपूर्ण(घान्द्रुक(घोडेपानी यातायात सेवा प्रालिले एक लाख एक हजार, घुरुजुइ समाज अन्नपूर्ण(११ र टाँडापानी(मुल्डे पर्यटन व्यवस्थापन समितिबाट एक लाखका दरले सहयोग प्राप्त भएको छ ।
गुरुङ कटेजका किसम गुरुङ र रत्न गुरुङ, सापेत कृपाराम काम्चे कोने (घोताने) परिवार, फिस्टेल गेस्ट हाउस टाडापानी(११ र होटल ग्रीन हिल इसारु, हङकङ निवासी लिमा गुरुङ, देउबहादुर गुरुङ, मिना टी हाउस, ट्राकुलिटी गेस्ट हाउसलगायतले सहयोग गरेका अध्यक्ष केसीले जानकारी दिए ।
प्रकाशित समय : २१:३६ बजे


















