global ime bank Long Banner Ad

गृहपृष्ठ लम्पीस्किन रोगबाट पशु–चौपाया मर्न थालेपछि बिमा गर्न तर्किदै कम्पनी

लम्पीस्किन रोगबाट पशु–चौपाया मर्न थालेपछि बिमा गर्न तर्किदै कम्पनी

लम्पीस्किन रोगबाट पशु–चौपाया मर्न थालेपछि बिमा गर्न तर्किदै कम्पनी

हाल ४४ जिल्लामा पशु चौपायामा लाग्ने लम्पीस्किन संक्रमण फैलिएको छ । लम्पीस्किन संक्रमणबाट पशु चौपायाको मृत्यु हुने क्रम बढेसँगै बिमा कम्पनीले पशु बिमा गर्न छाडेको सूचना पाएको पुश विभागले जनाएको छ ।

घरपालुवा जनावरको बिमा गर्दा ८० प्रतिशत प्रिमियम सरकारले तथा २० प्रतिशत प्रिमियम कृषकले तिर्ने गरी सरकारले व्यवस्था गरेको छ । तर, पछिल्लो समयमा पशु–चौपायाको बिमा गर्न बिमा कम्पनीहरु बहाना बनाउन थालेको भन्दै किसानले गुनासो गरेको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार हाल देशका ४४ जिल्लामा लम्पीस्किन करिब ६ देखि ७ लाख पशुचौपायामा संक्रमण फैलिएको छ । लम्पीस्किन रोगका कारण ९ हजारभन्दा धेरै पशु-चौपाया मरेको विभागकाे तथ्यांक छ ।

चितवनमा रहेका बिमा कम्पनीले पशुपालक कृषकको गाईभैँसीको बिमा नगदिएको भन्दै कृषकले आइतबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

चितवनमा अन्य कम्पनीसँगै शिखर इन्सुरेन्स कम्पनीले अनिवार्य रुपमा गाईभैँसीको बिमा गर्ने गरी सरकारसँग सम्झौता भएपनि बिमा रकमसँगै लम्पीस्किन बिमा गर्न चासो नदेखाएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले जानकारी दिए । विगत एक महिनादेखि बिमा कम्पनीले गाईभैँसीको बिमा गर्न छोडेको उनले बताएका छन् ।

चितवनमा जस्तै कोशी, मधेश, वाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशमा बिमा कम्पनीले गाईभैँसीको बिमा गर्न छोडेको सूचना आएको र सोहीअनुसार पशु चौपायाको बिमा तत्काल गर्न बिमा कम्पनीलाई सूचना प्रवाह गरेको विभागले जनाएकाे छ ।

लम्पीस्किन रोगका कारण ९ करोड रुपैयाँभन्दा बढीको पशु चौपायामा परेको विभागको भनाइ छ ।

लम्पीस्किन लागेका ९ हजारभन्दा धेरै संक्रमित पशु चौपाया मरेका छन् । ७ वटै प्रदेशका गरी ४ सय ५० पालिकामा रोग देखिएको विभागका वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालले जानकारी दिए ।

हाल, लम्पीस्किन रोग फैलिएको क्षेत्रमा उक्त रोगविरुद्धको खोप लगाउन थालेको उनले बताए । ‘लम्पी स्किन रोग यसपालि हिमाली क्षेत्रमा पालिएका पशु चौपायामा समेत देखिएको छ । भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा यो रोग आफैँ निको हुन्छ ।’ उनले भने, ‘लम्पीस्किनका बारेमा थप जानकारी र सल्लाहका लागि विभागले नजिकैको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क गर्न पनि किसानलाई आग्रह गरिएको छ ।’

लम्पीस्किनका कारण पशु चौपायाको बिमा नगर्ने बिमा कम्पनीलाई बिमा ऐनअनुसार कारबाही हुने भनाइ छ ।

लम्पीस्किन रोगको संक्रमण भएका धेरै पशु नमरेपनि दूध उत्पादन ८० प्रतिशतसम्म गिरावट आउने विभागले जनाएको छ । विभागका अनुसार गर्भ तुहिने र बाँझोपन हुने हुँदा किसानलाई आर्थिक रुपमा क्षति हुनेछ ।

यस्तै, रोगी पशुचौपायाबाट मानिसमा नसर्ने अनि रोगी गाईभैँसीको दूध प्रयोग गर्दा पनि मानिसमा कुनै जोखिम नहुने भएकाले दूध खेर फाल्नु नपर्ने विभागले जनाएको छ।

गर्मीयाममा लामखुट्टे र किर्ना आदिको संख्या पनि बढ्ने र ती किरा सक्रिय हुँदा लम्पीस्किन रोग बढ्ने भएका कारण लामखुट्टे र किर्ना मार्ने औषधी प्रयोग गर्न विभागको सुझाव छ ।

विभागका अनुसार नेपालको मोरङ जिल्लामा २०७७ साल असारमा पहिलोपटक लम्पीस्किन रोग पुष्टि भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा आठ जिल्लाका ११ वटा पालिकामा देखिएको थियो भने भने २०७८/०७९ मा नौ जिल्लाका १९ पालिकामा रोग विस्तार भएको थियो । गत वर्ष यो रोग छिटपुट मात्रै देखिए पनि अहिले देशैभर फैलिएको छ ।

प्रकाशित समय : ०७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु