गृहपृष्ठ कर्नाटकमा मोदीलाई संकट, कंग्रेसले ल्यायो बहुमत
कर्नाटकमा मोदीलाई संकट, कंग्रेसले ल्यायो बहुमत
दक्षिण भारतको कर्नाटक प्रदेशमा कंग्रेसले स्पष्ट बहुमत हासिल गरेको छ । विधानसभाका २ सय २४ सिटमध्ये कंग्रेसले १ सय ३६ सिट जितेको छ । सरकार बनाउन १ सय १३ सिट चाहिन्छ । अघिल्लो पटक १ सय ४ सिट जितेको भाजपा यस पटक ६५ सिटमा खुम्चिएको छ ।
कंग्रेस नेता राहुल गान्धीको ‘भारत जोडो यात्रा’ र मानहानि मुद्दामा अदालतले दोषी ठहर गरेर उनको सांसद पद गुमेपछि भएको पहिलो चुनावमा कंग्रेसले सफलता हात पारेको हो । उनले भारत जोडो यात्राका क्रममा २१ दिन कर्नाटकमा बिताएका थिए । अधिकांश ‘एक्जिट पोल’ ले कंग्रेसले चुनाव जित्ने देखाइसकेका थिए ।
भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख प्रचारकका रूपमा कर्नाटकको चुनावमा उतारेको थियो तर उनको ‘जादु’ चलेन, जसका कारण भाजपाले त्यहाँको सत्ता गुमाएको छ ।
कर्नाटकमा भाजपाले सरकार जोगाउन हरसम्भव कोसिस गरेको थियो । धर्मका आधारमा हिन्दु भोट बटुल्न चुनावको मुखमा भाजपाले मुस्लिम समुदायलाई दिँदै आएको आरक्षण कटौती गरेको थियो । भाषणमा प्रधानमन्त्री मोदीले ‘जय बजरंगबली’ को नारा लगाएर मतदातालाई मतपत्रमा ‘हनुमानजीको तस्बिर’ सम्झेर भाजपालाई भोट दिन आग्रहसमेत गरेका थिए ।
चुनावी प्रचारप्रसार र रोड शोका लागि लगातार समय दिए पनि उनी सफल हुन सकेनन् । यसअघि हिमाचल प्रदेशमा भएको चुनावबाट पनि भाजपाले सत्ता गुमाएको थियो ।
अहिलेको चुनावी परिणामलाई आगामी वर्ष हुने लोकसभा चुनावसँग जोडेर हेर्न थालिएको छ । भारतमा कंग्रेसको लोकप्रियता बढ्दै गएको र मोदीको लोकप्रियतामा ह्रास आएको टिप्पणी भइरहेको छ ।
प्रकाशित समय : ०८:५७ बजे



















