गृहपृष्ठ किमाथांका नाका कहिले खुल्छ ? स्थानीय तहले पनि थाल्याे दुईपक्षीय संवाद
किमाथांका नाका कहिले खुल्छ ? स्थानीय तहले पनि थाल्याे दुईपक्षीय संवाद
मन्त्री साउदलाई समस्या सुनाउँदै सांसद खड्का ।
संखुवासभाकाे उत्तरी क्षेत्र भोटखोला सीमा किमाथांका नाका चाँडै सञ्चालन ल्याइने भएको छ । आइतबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले किमाथांका नाका सञ्चालन गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको बताए ।
आइतबार मन्त्रालयमा संखुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का, प्रदेशसभा सदस्य राजेन्द्र कार्कीलगायत जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधिले चीन सरकारसँग नाका खोल्न पहल गरिदिन ध्यानाकर्षण पत्र बुझाएका छन् । कोरोना महामारीका कारण तीन वर्षदेखि उक्त नाका बन्द रहेको छ । किमाथांका नाका खुलाउन यसअघि प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’समक्ष ज्ञापनपत्र बुझाइएको थियो ।
यसअघि सांसद खड्काले साे नाका खोल्नका लागि गत चैत २९ काे संसद बैठकमा बाेल्दै सरकारको ध्यानाकर्षण गराएका थिए । ‘किमाथांका नाका बन्द छ । आवतजावत पनि ठप्प छ । नेपाल सरकारले तत्कालै चीन सरकारसँग वार्ता गरेर यो नाका खुलाउनका लागि म आग्रह गर्छु,’ सांसद खड्काले भनेका थिए ।
आइतबारकाे भेटमा पनि किमाथांका नाकालाई दोहोर रुपमा सञ्चालन गर्ने वातावरण निर्माणका लागि सरकारले उच्चस्तरीय कूटनीतिक पहल गर्न आग्रह गरिएकाे सांसद खड्काले बताए । उनले भने, ‘सदरमुकाम खाँदबारीबाट किमाथांका पुग्न झण्डै सात दिन लाग्छ, बर्खाको समयमा खाद्यान्न लैजानसमेत समस्या हुन्छ, चीनबाट खाद्यान्न ल्याएर जीवन निर्वाह गर्नुपर्ने भएकाले त्यहाँका जनतालाई भोकमरी लाग्ने अवस्था सिर्जना नहोस् भन्नका लागि तत्काल नाका सञ्चालनका लागि आग्रह गरेका हाैं ।’ पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्रीसमेत खड्काले किमाथांका नाका सञ्चालनमा आएमा कोशी प्रदेशले नै लाभ लिनसक्ने भएकाले यसलाई विशेष चासो दिनुपर्ने बताए ।
किमाथांका नाका सञ्चालनमा ल्याउन परराष्ट्रमन्त्री साउदले प्रतिबद्धता व्यक्त गरेकाे संखुवासभा प्रदेशसभा (१) का प्रदेश सभा सदस्य राजेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार परराष्ट्रमन्त्री साउदले ध्यानाकर्षण पत्र बुझ्दै किमाथांका नाका सञ्चालन गर्ने विषयलाई उच्च प्राथमिकता दिने बताएका हुन् । ‘किमाथांका नाका ऐतिहासिक नाका भएको र पूर्वको व्यापार व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने नाका भएकाले यसलाई प्राथमिकतामा राख्ने परराष्ट्रमन्त्री ज्युले बचन दिनुभएकाे छ,’ प्रदेश सभा सदस्य कार्कीले भने ।

प्रदेशसभा सदस्य कार्कीले किमाथांका नाका सञ्चालन नहुँदा छ हजार जनसंख्या रहेको भोटखोला गाउँपालिकाका जनताले सास्ती खेप्नुपरेको बताए । देशको पूर्वी क्षेत्रको व्यापारका लागि महत्वपूर्ण नाकालाई यथाशीघ्र सञ्चालन गर्नुपर्ने उनकाे भनाइ छ ।
आइतबारकाे भेटमा मन्त्रालयका सहसचिव लोकबहादुर थापाले नेपाल-चीन परराष्ट्रस्तरीय बैठकबाट चीनसँग जोडिएका हुम्ला, रसुवा र तातोपानी नाका सञ्चालन भइसकेको जनाउँदै किमाथांका, ओलाङचुङगोला र मुस्ताङ नाकासमेत चाँडो सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको बताए ।
नाका नखुल्दा कस्ताे छ समस्या ?
२०७६ माघ ५ मा कोरोना महामारीकाे कारण देखाउँदै चीन सरकारले नाका बन्द गरेकाे थियाे । त्यसबेला अकस्मात नाका बन्द हुँदा कामको खोजीमा चीनकाे चांगा बजार गएका १४ नेपाली सीमापारि नै राेकिएका थिए । त्यसयता नाका खुलेकाे छैन । नाका नखुल्दा खासगरी भाेटखाेला गाउँपालिकाकाे उत्तरी क्षेत्रका वासिन्दा बढी समस्या छन् । भाेटखाेला गाउँपालिकाका अध्यक्ष वाङ छेदर लामाका अनुसार नाका नखुल्दा साे क्षेत्रका नागरिक प्रत्यक्ष प्रभावित छन् ।
उनका अनुसार सदरमुकाम खाँदबारीबाट जाने उत्तर-दक्षिण काेशी राजमार्गमा बर्खा लाग्नासाथ सवारीका साधनहरू चल्न सक्दैनन् । त्यसपछि समस्या अझ बढ्ने उनकाे भनाइ छ । ‘अहिले पनि ट्रयाक्टर च्याम्ताङसम्म मात्र आउँछ । वरूण नदीमा पानीकाे सतह बढेपछि त्यहाँभन्दा माथि ट्रयाक्टर आउँदैन,’ उनले भने, ‘अब पनि नाका नखुले समस्या जटिल बन्छ ।’ उनका अनुसार अहिले खाँदबारीबाट लगिएकाे चामल प्रतिबाेरा (३० केजी)काे ५५ सय रूपैयाँसम्म पर्छ । त्यही परिमाणकाे चामल चिनियाँ बजारमा १८ सय रूपैयाँमा पाइन्थ्याे ।
२०७२ सालमा भारतले नाकाबन्दी लगाएपछि किमाथांकासहित चीनसँगको सीमावर्ती नाकाहरु सञ्चालन गर्न नेपाल सरकारले तदरुकता देखाएको थियो । तर किमाथांका जोड्ने सडक मार्ग निर्माण भइरहे पनि पूर्वाधारका अन्य अधिकांश कामहरु हुन बाँकी नै छ । अन्य नाकाको तुलनामा भूगाेलकाे हिसाबले बाह्रै महिना सञ्चालन गर्न सकिने भएकाले पनि किमाथांका बढी महत्वकाे छ ।
नाका खुलाउन स्थानीयस्तरमै प्रयास
किमाथांका नाका खुलाउन स्थानीयस्तरमा पनि पहल थालिएकाे छ । किमाथांकाकाे सिमावर्ती तिब्बतकाे तिंगी जिल्लाका पदाधिकारीहरूसँग साेमबार भर्चुअल बैठक भएकाे अध्यक्ष लामाले बताए । ‘उनीहरू सकारात्मक छन् । केही माग राख्नु भएकाे छ । त्यति गर्न सकियाे भने चाँडै नाका खुल्नेमा आश गर्न सकिने अवस्था छ,’ उनले न्युज काराेबारसँग भने । उनका अनुसार तिंगी जिल्लाका पदाधिकारीहरूले सिमावर्ती कामुखाेलास्थित मितेरी पुलमा हेस्थ डेस्क स्थापना गर्न माग राखेका छन् । अध्यक्ष लामाले भने, ‘नाका नखुल्नुकाे कारण उनीहरूले काेभिड नै देखाए । हेल्थ डेस्कमै काेभिड परीक्षण गर्ने र नेगेटिभ देखिएमात्र प्रवेश दिने उनीहरूकाे कुरा हाे । कुरा सकारात्मक आएकाे छ । हाम्राेतर्फबाट गर्नुपर्ने काम पूरा गरेपछि फेरि बैठक बसेर अगाडि बढ्छाैं ।’
हेल्थ डेस्क स्थापना लगायतका कामका लागि कर्मचारी व्यवस्थापनमा आफू जुटेकाे अध्यक्ष लामाले बताए । ‘जिल्ला समन्वय समिति र माननीय ज्युहरूसँग छलफल गरिरहेकाे छु । थप छलफल गरेर काम अगाडि बढाउँछु,’ उनले भने ।

प्रकाशित समय : १८:४५ बजे



















