सञ्चारमाध्यम भजनमण्डली बन्नु हुँदैन : मन्त्री शर्मा
वि.सं.२०७९ चैत २० सोमवार ११:१३
shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी छन् । सोमबार रेडियो नेपालको ७३औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनै पनि सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी हुन् ।
उनले कतिपय सञ्चारमाध्यमहरु सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको उल्लेख गर्दै सञ्चारमाध्यम भजनमण्डली हुनु हुँदैन भनेर नै सैद्धान्तिक मान्यताअनुसार प्रशारण ऐन संसदमा प्रस्तुत भएको बताइन् ।
उनले प्रसारण ऐन पारित भइसकेपछि सञ्चरमाध्यमहरुमा नयाँ वातावरण सिर्जना हुने बताइन् । उनले सरकारले आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको बताइन् । मन्त्री शर्माले अहिले पनि सबै क्षेत्रमा इन्टरनेटको पहुँच बिस्तार गर्न नसकेको बताइन् ।
उनले भनिन्, ‘सञ्चार विधेयक राष्ट्रिय सभाको समितिमा पुगेर अन्तिम अवस्थामा छ । त्यसलाई हामीले प्रतिनिधि सभामा पुर्याउन खेज्दैछौं । हामीले भनेका छाैं, सञ्चरमाध्यमहरु सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको छ । तिनीहरु भजनमण्डली हुनुहुँदैन भनेका छौं । भजनमण्डली हुनु हुँदैन भन्ने हाम्रो सैद्धान्तिक मान्यताअन्तर्गत अहिले प्रशारण ऐन जसरी हाम्रो संसदमा गएको छ, त्यो प्रशारण ऐन पारित भइरहँदाखेरिमा रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा त्यसले नयाँ एउटा वातावरण सिर्जना गर्छ ।’
आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन लगायतका थुप्रै कानून अभाव रहेकाे उनले बताइन् । ‘ती कानूनको तयारी हामीले मन्त्रालयमा विज्ञ साथीहरुसँग छलफल गरेर तयार गरिरहेका छौं । यी सबैमा हामी कानूनी रुपमा अघि बढ्न खोज्दैछाैं । हामी अझै प्रभावकारी ढंगबाट अघि बढ्न जरुरी छ,’ उनले भनिन् ।
मन्त्री शर्माले जनतालाई सुसुचित बनाउने, जनतामाझ प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरु सञ्चारमाध्यमहरुले प्रसारण एवं प्रकाशन गर्न जरुरी रहेको बताइन् ।

























