खेर गएको जमिनमा निर्माण हुँदै भरत ताल, दुई अर्ब लगानी
आन्तरिक पर्यटकको घुँइचो
वि.सं.२०७९ चैत १८ शनिवार १९:१२
shares

सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा आन्तरीक पर्यटकको घुँइचो लागेको छ ।
संघीय भूउपयोग नीतिअनुसार खेर गएको बागतमी नदीको उकास जमिनलाई आन्तरिक आयसँग जोडेर २०७५ सालबाट निर्माण सुरु भएको सो तालमा आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको तालका व्यवस्थापक सन्तोष गदालले बताए । हालसम्म डीपीआरको करिब २५ प्रतिशत काम सकिएको छ । ताल पूरा बन्दा दुई अर्ब लाग्नेछ । ताल बनाउन ७५ करोड खर्च भइसकेको छ ।
मानव निर्मित तालमा निर्माणकै चरणमा ३१ साना र एउटा ठूलो डुंगा सञ्चालनमा रहेको बागमती नगरपालिका १२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिए । एक सय एक बिघामा पानी र २० बिघामा रोड, नेपालको चित्र, बगैंचाका साथै रिसोर्ट गरी एक सय २१ बिघामा फैलिएको ताल निर्माणकै क्रममा आन्तरिक पर्यटकले अवलोकन गर्ने क्रम बढेको छ ।
नगरको विकासको गौरवको रुपमा निर्माण सुरु भएको तालबाट निस्केको पदार्थ ताल वरिपरि सडक, बगैंचा बनाउन र नगरभित्रका सार्वजनिक तथा सामाजिक काममा खर्च गरिएको-४ का वडाध्यक्ष कृष्णकुमार लामाले बताए । नगरपालिकाको आन्तरिक आयस्रोत र स्थानीयलाई रोजगारी सिर्जना गर्ने योजनाले ताल निर्माणको काम भएको हो । ‘तालमा पानी भरेलगत्तै दैनिक पाँच सय आन्तरिक पर्यटक आउने अपेक्षा गरिएको भए पनि निर्माणाधीन अवस्थामै पनि आकर्षण धेरै बढ्यो । सोचेभन्दा धेरै पर्यटक आउन थाल्नुभयो,’ वडाध्यक्ष लामाले भने ।
सुरूमा सर्लाही र रौतहटको जनसंख्या हेरेर वार्षिक १६ लाख पर्यटक लक्षित गर्दा पनि आयोजना सफल हुन्छ भन्ने अपेक्षा गरिए पनि हाल भारतको बिहारबाट निकै पर्यटक आउन थालेकाे नगरपालिकाका प्रमुख भरतकुमार थापाले बताए । एक हजार चार सय मिटर लम्बाइको तालको हालसम्म सात सय मिटरमा पानी जम्मा भएको छ । बाँकी पानी जमाउने योजना छ । तालमा अहिले करिब १८ लाख घनमिटर पानी छ ।
सोली आकारमा बनाइएको तालको बीच भाग ७० फिट गहिरो छ । वरपर बाटोसहित एक सय २१ बिघामा ताल हुने नगर उपप्रमुख लिलाकुमारी मोक्तानले बताइन् । ताल वरपर मिनी क्यासिनोसहितको होटल, बगैंचा, पिकनिक र छायाँकन स्थल तथा सुमेरी पर्वत बनाउने योजना रहेको उनको भनाइ छ ।
तालको वरपर धार्मिक तथा पर्यटकीयस्थल विकास गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोख्रेलले बताए । पर्यटकलाई दुई दिन अड्याउने गरी ताल वरपर पूर्वाधार बनाइने छ । नजिकै जंगल सफारी सहितको चिडियाखानाको डीपीआर, महादेव र पार्वतीको मूर्तिसहित धाम निर्माणको योजना छ । ‘पशुपतिबाट बगेर आएको पानी भएकाले बागमती नदीलाई महत्वका रूपमा हिन्दूले लिन्छन् । पशुपति पुग्न नसक्ने यहीँ आउँदा पशुपति पुगेको महसुस हुने गरी पूर्वाधार विकास गर्दैछौं,’ नगर प्रमुख थापाले बताए ।
तालले संस्कृति जगेर्ना, पर्यटन प्रवर्द्धन र सिँचाइमा सघाउ पुग्नेछ । ‘पानीमा हुने डल्फिलन सहितका जीव यहाँ राख्ने सोचमा छौं,’ नगर प्रमुख थापाले याेजना सुनाए । पार्किङस्थल, पिकनिकका सामग्री र डिजेसहित संगीतको व्यवस्था गरिनेछ । ‘आफैँ सामान ल्याउन पनि पाइनेछ,’ नगर प्रमुख थापाले भने ।
भारतबाट ४२ किलोमिटर र पूर्वपश्चिम राजमार्गबाट दुई किलोमिटरभित्र यो ठाउँ प्रयोगविहीन थियो । नगरपालिकाभित्र वन, खेतीयोग्य जमिन, नागरिक (सम्पन्न, विपन्न र सुकुम्बासी) र नगरपालिकाभित्र प्रयोगविहीन जमिन कहाँ कति छ भन्ने अध्ययन सुरू गरेर संघीय भूउपभोग नीतिअनुसार नदी उकास जमिनलाई माछा पोखरीको रुपमा निर्माण सुरु गरिएको जनाइएको छ । तालको बीचमा पहिलै गहिरो रहेको थियो ।
यहाँ २०२८ सालमा बागमती बग्थ्यो । पछि बगर बन्यो । दायाँबायाँको जग्गा २०६२/६३ सालताका अतिक्रमण भयो । त्यहाँका सुकुम्बासी र भूमिहीनको पहिचान गरेर सात हजार तीन सय घरधुरी सुकुम्बासी र भूमिहीनको व्यवस्थापन गरियो । उनीहरूलाई प्रतिव्यक्ति तीनदेखि पाँच कट्ठासम्म जग्गा वितरण गरियो । जग्गा भएकालाई फिर्ता पठाएर करिब अढाइ सय बिघा जमिन नगरपालिकाको स्वामित्वमा राखियो । त्यही जमिनको सदुपयोग गर्नेक्रममा ताल बन्यो । तालमा गत वर्षादेखि पानी जम्न थालेको हो ।

























