global ime bank Long Banner Ad

गृहपृष्ठ गोदावरी महोत्सव आयोजना हुँदै

गोदावरी महोत्सव आयोजना हुँदै

गोदावरी महोत्सव आयोजना हुँदै

आर्थिक क्रियाकलाप बढाउने लक्ष्यका साथ ललितपुरको गोदावरी नगरपालिकामा प्रथम गोदावरी महोत्सव आयोजना हुने भएको छ ।

गोदावरी नगरपालिकाको संरक्षकत्व तथा गोदावरी उद्योग वाणिज्य संघको आयोजना र ईभेन्ट सोलुसन प्रालिको व्यवस्थापनमा आगामी चैत २९ देखि २०८० वैशाख ३ गतेसम्म ५ दिने गोदावरी महोत्सव २०२३ आयोजना हुन लागेको हो ।

नेपाली नयाँ वर्ष २०८० र गोदावरी नगरपालिका स्थापना दिवसको अवसरमा ‘आर्थिक समृद्धिका लागि संस्कृति’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवले गोदावरी नगरपालिकामा रहेका स्थानीय वस्तु, कला, संस्कृति, नवप्रवर्तक, विद्यमान एवं नव उद्यमीहरुलाई बजारीकरणका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास लिइएको छ । महोत्सवको मुख्य आकषर्णको रुपमा संस्थागत खरिदकर्ता र उत्पादकबीच भेटघाट, लगानीकर्ता र उद्यमीबीच छलफल, स्थानीय उत्सव, खेल उत्सव, साहित्य उत्सव, गोदावरी कन्क्लेभ रहनेछन् ।

बायर सेलर मिटमा देशका मुख्य खरिदकर्ताहरु तथा महोत्सवस्थलमा रहेका स्थानीय उत्पादनकर्तासँग भेटघाट गरी स्थानीय उत्पादनको खरिद र दीगो व्यापारका लागि संयुक्त समझदारीपत्र (एमओयु) समेत गरिने वातावरण निर्माण गरिनेछ । यसैगरी बैंकर बरोअर मिटमार्फत स्थानीय क्षेत्रमा रहेका उद्योगी र बैंकहरुलाई एकै स्थानमा राखी लगानीको वातावरणलाई अझ सहज बनाउन भूमिका खेलिनेछ ।

महोत्सवमा गोदावरी क्षेत्रका स्थानीय क्षेत्र र जातजाति तथा संस्कृतिको पहिचान दिने गरी स्थानका आधारमा स्थानीय उत्सवको आयोजना गरिनेछ । थेचो उत्सव, चम्पापुर उत्सव, ठैव उत्सव, कोड्कु उत्सव, साहित्य उत्सव, खेल उत्सव आदि नामबाट उत्सव आयोजना गरिनेछ । उक्त महोत्सवमार्फत स्थानीय क्षेत्रका आदिवासीहरु दनुवार, पहरी, तामाङ आदिको सांस्कृतिक पहिचानलाई उजागर गरिनेछ ।

महोत्सवको अर्को आकर्षणको रुपमा गोदावरी कन्क्लेभ हुनेछ । उक्त कन्क्लेभमा देशका प्रतिष्ठित आर्थिक व्यक्तित्वसँगको छलफल र प्रश्नोत्तर कार्यक्रम राखिनेछ । महोत्सव अवधिभर पर्यटकहरुको मनोरञ्जनका लागि परम्परागत सांस्कृतिक कार्यक्रम, सांगीतिक कार्यक्रम, साहासिक गतिविधि तथा व्यापारिक कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गरिने छ । महोत्सवमार्फत स्थानीय कला र संस्कृतिको प्रवर्द्धन, पर्यटन प्रवर्द्धन, महिला उद्यमशीलता प्रवर्द्धन, स्थानीय कलाकारको आकर्षक कार्यक्रम, घरेलु तथा लघु उद्यमको प्रवर्द्धनका विशेष कार्यक्रमहरु संचालन हुनेछन् ।

महोत्सवमा २०० भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्टलहरु राखिनेछन् । मुख्य रुपमा स्थानीय उत्पादन, हस्तकलाका सामग्री, संस्कृति झल्काउने सामग्रीहरू, गार्मेन्ट सामग्री, स्थानीय खाद्य उत्पादन, फूलसम्बन्धी उत्पादन, कृषि उत्पादन, वित्तीय संस्थाहरू जस्तै बैंक, बिमा, शैक्षिक संस्थाहरू, परामर्श संस्था, अनलाइन व्यापार तथा सेवा लगायतका विभिन्न विधाका स्टल राखिनेछ ।

५ दिनसम्म सञ्चालन हुने महोत्सवमा १ लाखभन्दा बढी अवलोकनकर्ताहरु प्रत्यक्ष सहभागी हुने अनुमान गरिएको छ ।

काठमाडौं उपत्यका नजिकैको सबैभन्दा लोकप्रिय गन्तव्य मध्येमा गोदावरी एक हो । लिच्छवीकालिन तथा मल्लकालीन प्राचीन क्षेत्रहरु प्याङगाउँ, लेले, चापागाउँ, मञ्जुश्रीभन्दा पुरानो बाडेगाउँको भगवान पाउ, समुन्द्री सतहबाट २ हजार ७६२ मिटर उचाइमा रहेको फुलचोकी डाँडा आदि गोदावरीको क्षेत्रको आकर्षणको रुपमा लिइन्छ ।

आन्तरिक पर्यटनमार्फत मनोरञ्जनका लागि सहज गन्तब्यको रुपमा रहेको गोदावरीमा महोत्सवमार्फत आर्थिक समृद्धिमा भूमिका खेल्ने विश्वास लिइएको छ । महोत्सवले स्थानीयस्तरमा व्यवसायिक क्रियाकलाप बढ्ने मात्र नभई आगामी दिनमा स्वदेशी तथा विदेशी पर्यटकलाई गोदावरीसम्म पुर्‍याउन महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित समय : ०८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु