global ime bank Long Banner Ad

गृहपृष्ठ लोकतन्त्र सुदृढीकरणमा राससको भूमिका

लोकतन्त्र सुदृढीकरणमा राससको भूमिका

लोकतन्त्र सुदृढीकरणमा राससको भूमिका

धर्मेन्द्र झा

जनताको क्रान्तिबाट एक सय चार वर्षे निरंकुश राणा शासन अन्त्य भई प्रजातन्त्रको घाम उदाएको आजको ऐतिहासिक दिन । यस दिनले देशमा प्रजातान्त्रिक शासन प्रणालीको अभ्यास सुरु गर्नुका साथै जनताको अधिकार सुनिश्चित गर्ने अभियान पनि प्रारम्भ गरेको स्मरणीय छ । त्यति मात्र नभई नेपाली पत्रकारिताको विकासमा सरकारी तवरबाट समाचार समिति स्थापना भएको दिन पनि भएकाले यस दिनलाई नेपाली सञ्चार क्षेत्रले महत्वपूर्ण अवसरको रुपमा लिएको छ । प्रजातान्त्रिक शासन प्रणलीको प्रभावकारिताका लागि सञ्चारको अधिकतम प्रयोग र सूचनाको खुलापन निकै महत्वपूर्ण मानिन्छ । २०१८ सालमा स्थापना भई नेपालका सञ्चारमाध्यमहरुलाई समाचार सेवा प्रदान गर्दै आएको राससले आफ्नो स्थापनाको ६२औं वर्ष पूरा गर्दै गर्दा पछिल्ला दिनमा यस तथ्यलाई आत्मसाथ गरेको छ ।

छ दशकभन्दा बढी समयदेखि अविचलित रही राज्य र जनताको पुलका रूपमा राष्ट्रिय समाचार समिति (रासस)ले निरन्तर निर्वाह गर्दै आएको भूमिकाप्रति सञ्चार क्षेत्र विदित नै छ । यसबीचमा मुलुकमा भएको थुप्रै राजनीतिक परिवर्तनका बीच तथा २०७२ सालको भूकम्प र करिब तीन वर्षदेखि भोगिरहेको महामारीका कठिन बखतमा पनि केही समस्या झेल्दै एवं त्रिपाल टाँगेर र संक्रमणग्रस्त शरीर बोकेर जनताको सुसूचित हुने अधिकारलाई राससले एक दिन पनि नरोकिई निष्पक्षता र सन्तुलनका साथ समाचार सम्प्रषण गरिरह्यो ।

नेपाली पत्रकारिताको उन्नयन तथा सत्यतथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र औपचारिक सूचना शीघ्र प्रवाह गरेर जनतालाई सुसूचित गर्नेमा राज्यको स्वामित्वमा रहेको राससले विशिष्ट भूमिका खेल्दै आएको छ । राससबाट उत्पादित समाचार सामग्री नै आज देशैभरका सञ्चार माध्यमले प्रकाशन तथा प्रसारण भइरहेको छ । यो राससले कमाएको विश्वसनीयताबाट सम्भव भएको हो । त्यसैले आधिकारिक, विश्वसनीय र सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्ने आफ्नो कर्तव्यप्रति सचेत रही आगामी दिनमा पनि राज्यका नीति, योजना एवं कार्यक्रम तथा सोच र अवधारणा सर्वसाधारणसामु प्रवाह गर्ने र तल्लो तहका जनताले भोग्नुपरेका दैनन्दिनका समस्या राज्यसामु पुर्‍याउन रासस अझ बढी प्रयत्नशील रहेकोे छ ।

प्रारम्भमा नेपाली समाचारबाट सुरु भएको रासस सेवा देशी-विदेशी सञ्चारमाध्यम र तिनका पाठक-श्रोताको चाहना एवं रुचि तथा सञ्चार क्षेत्रको बहुआयामअनुसार हाल आलेख समाचार, अंग्रेजी र अन्तर्राष्ट्रिय समाचार, तस्बिर, श्रव्य र श्रव्य-दृश्य सेवासम्म विस्तारित भएको छ । राससको यस अभियानमा सरकारले पनि यथाशक्य सघाइदिएर आफ्ना सेवालाई विविधीकरण गर्ने वातावरण दिइरहेको छ । राससले पछिल्लोपटक गत साउनदेखि श्रव्यदृश्य सेवा पनि सुरु गरेको छ ।

मुलुकमा राज्यको आधिकारिक समाचार समिति रहनुपर्छ भन्नेमा प्रायः सबै सञ्चारकर्मी, सञ्चारमाध्यम र पत्रकारहरूमा मतैक्यता नै छ । रासस सुदृढ भएमा राज्य पनि बलियो हुने हाम्रो मान्यता रहिआएको छ । राससलाई सूचना र समाचारको पहुँचमा नपरेका जनताका समस्या अझ खोतल्दै राज्यलाई मार्गनिर्देशन हुने गरी विश्लेषणात्मक सामग्री पस्कनका लागि सेवाग्राही र पाठकहरूबाट प्राप्त सल्लाह-सुझाव राससका अमूल्य सम्पत्ति हुन् । तिनलाई आत्मसात् गर्दै त्यस्ता विषयवस्तु क्रमशः पस्केर नयाँ स्वाद दिलाउन हामी तयार भइसकेका छौँ । यसै सन्दर्भमा राससले आलेख समाचार सेवालाई अझै व्यवस्थित र विस्तार गर्दै अन्तर्वार्ता र विज्ञहरूका विचार समेटी ‘आलेख, विचार र अन्तर्वार्ता सेवा’ का रूपमा प्रस्तुत गरेको छ ।

विश्वकै पत्रकारितामा उदाइरहेको अनलाइन न्युज पोर्टल तथा सूचना प्रदायक सामाजिक सञ्जालसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुगेको रासस घटनाप्रधान सूचना तथा समाचार सम्प्रेषणलाई तीव्रता तथा मानवीय अभिरुचिपूर्ण-खोजी र अनुसन्धानमूलक समाचार-आलेख प्रस्तुतिलाई नियमितता दिन सचेत छ । सञ्चार क्षेत्रमा भित्रिसकेका नयाँ सञ्चार तथा सूचना प्रविधिको प्रयोग गर्दै यसलाई बहुआयामिक सेवा प्रदायक बनाउन रासस प्रयत्नशील छ । पाठक-श्रोताप्रति सोझै जोडिनका लागि सामाजिक सञ्जालको उपयोग गर्न र अनलाइन न्युज पोर्टल स्थापना गर्नुपर्ने ठम्याइ भइसकेको छ ।

त्यस्तै अनुसन्धान एवं समाचारको पृष्ठभूमिका लागि सहायक हुने रासस स्थापना समयदेखिका समाचारको अभिलेखालयलाई ई-लाइब्रेरीमार्फत सार्वजनिकीकरण र पुस्तकालय व्यवस्थापनसम्बन्धी तथा साठी वर्षभन्दा बढी समयदेखिका भौतिकलगायत ऐतिहासिक सामग्रीसहितको रासस अभिलेखालय तथा संग्रहालय स्थापना र भवनको आमुख खण्डमा डेली न्युज डिस्प्ले व्यवस्था गर्न लागिएको छ । यसैगरी राससको आन्तरिक सेवालाई सहज बनाउन र सेवाग्राहीलाई अझ सहज र सुलभ बनाउन एकीकृत सफ्टवेयर जडानको काम अन्तिम चरणमा पुगेको छ ।

राससलाई आत्मनिर्भर बनाउने तथा प्रदेशबाट समाचार सम्प्रेषण, श्रव्य-दृष्य सेवालाई व्यवसायीकरण, समाचार प्रत्यक्ष प्रसारण, स्थानीय भाषामा समाचार, अन्तर्राष्ट्रिय समाचार सेवा विस्तार, छिमेकी मित्र राष्ट्र चीन र भारतमा समाचारदाताको व्यवस्था, २४ घन्टा सेवा सञ्चालन, स्थानीय तहसम्म समाचारदाता विस्तार र कार्यालयहरूलाई प्रविधिमैत्री बनाउनेलगायत कार्यक्रमबारे वर्तमान व्यवस्थापन चिन्ताशील छ । स्वदेशी र विदेशी सञ्चारमाध्यमहरुलाई समेत समाचार सेवा प्रदान गर्दै आएको छ दशकभन्दा पुरानो समाचार संस्था राससले आगामी दिनमा राज्यको एक आधिकारिक सूचना बैंकको रुपमा रहेर काम गर्ने प्रयास जारी छ ।

आफ्नो समाचार सामग्रीको सबै क्षेत्रबाट पूर्ण उपयोग गराउन जनान्दोलनका घाइते, सहिद परिवार, महिला, पिछडिएको भौगोलिक क्षेत्र आदिका लागि सेवाशुल्कमा केही छुटको व्यवस्था केही वर्षदेखि नै रहिआएको छ भने यसै आर्थिक वर्षदेखि सेवाग्राहीको दायरा विस्तार गरेर व्यक्तिगतदेखि विभिन्न तहका सरकार र राजकीय संस्थालाई ग्राहक बनाउन परिमार्जित ‘रासस सेवाग्राही शुल्क निर्देशिका’ पारित गरिएको छ । व्यक्ति तथा सरकारी-गैरसरकारी संघसंस्था राससको सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

२०७२ सालमा नेपालको संविधान जारी भएपछि दुई आमनिर्वाचनमार्फत संघीयताको अभ्यास बढिरहे पनि रासस अझ पूर्णरूपेण विकेन्द्रित हुन नसकिरहेकामा हामीलाई चिन्ता लागेको छ । मुलुकको एक मात्र आधिकारिक समाचार समिति सातै प्रदेश, ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहका वडा वडासम्म पुग्नु जरुरी छ । त्यसका लागि थप जनशक्ति, सञ्चार उपकरण र तालिम, प्रशिक्षण, अभिमुखीकरण जस्ता क्षमता अभिवृद्धिका कार्यक्रम आवश्यक पर्छ । राससले समयानुकुल आफ्ना समाचार सेवाहरुमा विकास गर्दै प्रविधि र आफ्नो क्षमताको विकास र विस्तारमा पनि ध्यान दिन जरुरी छ ।

राससलाई आत्मनिर्भर गराउन, अत्याधुनिक सञ्चार प्रविधिको प्रयोग गराउन, आफ्ना कर्मचारी एवं पत्रकारहरूको बहुपक्षीय (मल्टीमिडिया) क्षमता वृद्धि गराउन सरकारका तर्फबाट आवश्यक सहयोग र प्रोत्साहनको आवश्यकता महसुस भएको छ । विश्वको प्रतिष्ठित समाचार समिति बनाउने सोचलाई मूर्त रूप दिनका लागि हाल सार्क वा बिम्स्टेक तहसम्म पुग्ने प्रयासमा राज्य संयन्त्रबाट सहयोगको अपेक्षा गरिएको छ । विश्वका समाचार समितिहरुसँगको सम्बन्धलाई सुदृढ बनाउन हालै इरानको तेहरानमा सम्पन्न एसिया प्यासिफिक देशका समाचार समितिहरुको सम्मेलनमा सहभागी भई विभिन्न समाचार समितिका अधिकारीसँगको छलफल र समन्वयले संस्थालाई उत्सहित बनाएको छ ।

विश्वमा सूचना र प्रविधिको द्रूत गतिमा विकास भइरहेको छ । यस विश्व परिवेशमा हामीले पनि हाम्रा सञ्चारमाध्यमहरुलाई समय र युग सुहाउँदो रुपमा थप अध्यावधिक र परिमार्जित गर्दै लैजानुपर्छ । जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्छ । आजको विश्वमा प्रभावकारीको प्रेसको कुरा गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सम्पादकीय स्वतन्त्रता र सूचनाको हकको कुरा पनि सँगै गर्ने गरिन्छ । वास्तवमा पछिल्ला दिनमा यिनलाई प्रजातन्त्र-लोकतन्त्रको पूर्वशर्तका रुपमा स्वीकार गर्ने गरिन्छ । यही मान्यतालाई आत्मसात् गर्दै नागरिकको सूचनाको हकलाई सुनिश्चित गर्न राससले पनि आफ्नो सेवालाई थप चुस्त दुरुस्त बनाउन आफ्ना सबै संयन्त्र र क्षमता परिचालन गर्न क्रियाशील रहेको छ । राज्य र जनताको समाचार संवाहककका रुपमा गुरुत्तर भूमिका निर्वाह गर्नुपर्ने दायित्वमा रहँदा निश्चय नै यी विषयप्रति रासस गम्भीर छ र रहनेछ ।

रासस जनताको करबाट सञ्चालित संस्था हो । यस आधारमा निश्चय पनि यो संस्था जनताप्रति उत्तरदायी हुनुपर्छ । आजको दिन मुलुकमा प्रजातन्त्र स्थापना भएको दिन मात्र होइन, सम्पूर्ण नेपाली सञ्चार जगतको सहयोगी राससको स्थापना पनि भएको दिनसमेत भएकाले राससलाई अझ आफ्नो नाम र उद्देश्यानुकूल जनताका मन-मनका र घरआँगनका समस्या उजागर गर्न तथा राज्यप्रतिको दायित्वलाई अविचलित कायम राख्दै लोकतान्त्रिक शासन प्रणालीलाई बलियो बनाउन हामी सबैको सामूहिक प्रयासको खाँचो रहेको छ ।

(लेखक राससका कार्यकारी अध्यक्ष हुन् ।)

प्रकाशित समय : १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु