गृहपृष्ठ आन्दोलनरत यातायात मजदुरलाई सरकारले वार्तामा बोलायो
आन्दोलनरत यातायात मजदुरलाई सरकारले वार्तामा बोलायो
सरकारले आन्दोलित यातायात मजदुरलाई वार्तामा बोलाएको छ । सोमबार विभिन्न माग राख्दै यातायात मजदुरका संघ, संगठनहरुले बालाजु बसपार्क क्षेत्रमा आन्दोलन गरेपछि विभागले वार्ता आह्वान गरेको हो ।
विभागका महानिर्देशक तुल्सी गौतमले सबै समस्याहरु वार्तामार्फत समाधान गर्न सकिने भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरेर मंगलबार विहान ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ताका लागि आउन आन्दोलनरत पक्षलाई आह्वान गरिएको बताए ।
‘सबै पक्षलाई संयमित हुन आग्रह गर्छौं, पूर्वघोषित तथा अघोषित सबै मागहरुबारे हामी छलफल गर्न तयार छौं,’ उनले भने, ‘वार्ताबाट नै समस्याको समाधान गर्न सकिनेमा सरकार विश्वस्त छ ।’
आन्दोलनले समस्या समाधान नगर्ने बरु थप बल्झाउने सम्भावना हुने भन्दै उनले अत्यावश्यकीय सार्वजनिक यातायात सेवालाई कुनै अवरोध नगरी वार्ता गर्न र त्यसमार्फत समस्याहरुको समाधन खोज्न अपील गरेका छन् ।
ल्होत्सेले २०५७ सालमा काठमाडौं महानगरपालिकासँग ४५ वर्षका नयाँ बसपार्कलाई सार्वजनिक सेवा केन्द्रका रुपमा निर्माण, सञ्चालन र हस्तान्तरण (बूट) मोडलमा चलाउने गरी जिम्मा लिएको थियो । त्यसअनुसार उसले नयाँ बसपार्क क्षेत्रमा मलसहित विभिन्न व्यवसायिक संरचना बनाएको छ । काउन्टरसहित बसपार्क प्रयोगबापत यातायात कम्पनी र समितिसँग शुल्क उठाउँछ ।
पछिल्ला दिनमा उपत्यकाबाट छुट्ने बसहरुलाई सकेसम्म नयाँ बसपार्कबाटै छुटाउने काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको नीतिका कारण धेरै बस सेवाले नयाँ बसपार्कमै काउन्टर राखेर पार्किङ सुविधा लिनुपर्ने बाध्यात्मक अवस्था आइपरेको छ।
यही समयमा दुई सातायता विभिन्न १० बुँदे माग राख्दै आन्दोलनको चेतावनी दिंदै आएका यातायात मजदुरहरुले मंगलबारसम्म माग सम्बोधन नभए ३ फागुनदेखि अनिश्चितकालीन सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेका छन् ।
बसपार्कभित्र प्रवेश गर्न नदिने ल्होत्सेका कर्मचारीको अडान यातायात मजदुरलाई मन परेको छैन । बसपार्कमा ल्होत्सेले उठाउने चर्को शुल्कबाट समेत पीडित रहेका यातायात मजदुर कार्यक्रम गर्न नदिने भनिएपछि आक्रोशित भएर तोडफोडमा उत्रिएका हुन् ।
प्रकाशित समय : ०७:१४ बजे



















