गृहपृष्ठ सरकारलाई दिएको रास्वपाको २ दिने अल्टिमेटम सकिँदै
सरकारलाई दिएको रास्वपाको २ दिने अल्टिमेटम सकिँदै
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने सम्बन्धमा सरकारलाई दिएको दुईदिने अल्टिमेटमको समय सकिँदै गर्दा सहमति जुट्न सकेको छैन । नागरिकताको विषयमा सर्वोच्च अदालतको फैसलापछि उपप्रधान तथा गृहमन्त्री गुमाएको रास्वपाले पुन सो पद आफ्नो पार्टीलाई दिनुपर्ने अन्यथा सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । शुक्रबार पार्टीको बैठकले सरकार छोड्ने निर्णय गर्नै लाग्दा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको फोनपछि रास्वपा केही निर्णय नगरी २ दिनका लागि पछि हटेको थियो ।
माओवादी केन्द्रले गृहमन्त्री आफैले राख्ने पक्षमा रहेपछि रास्वपाले सरकारबाट बाहिरिने बताइरहेका बेला यता एमाले अध्यक्ष ओलीले भने सरकार बनाउने बेलाको सहमति पालना गर्नका लागि प्रधानमन्त्रीलाई आग्रह गरिरहेका छन् । शनिवार बिहान एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच रास्वपालाई सहमतिमा ल्याउनेबारे बालुवाटारमा छलफल भएको थियो ।
माओवादी केन्द्रमा भने सरकारलाई कांग्रेसले समेत समर्थन गरेकोले गृहमन्त्रालय रास्वपालाई दिन नहुनेमा बलियो मत रहेको छ । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि केही फरक नपर्ने माओवादीका नेताहरुले बताउँदै आएका छन् । यता सरकारमा गइसकेको रास्वपालाई बाँकी एक राज्यमन्त्री सहित अन्य २ विभागीय मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिन सकस परेको छ ।
प्रकाशित समय : १५:५६ बजे



















