गृहपृष्ठ शहीद दिवसमा राष्ट्रपतिकाे सन्देश- समृद्धिको आकांक्षा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलि

शहीद दिवसमा राष्ट्रपतिकाे सन्देश- समृद्धिको आकांक्षा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलि

शहीद दिवसमा राष्ट्रपतिकाे सन्देश- समृद्धिको आकांक्षा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलि

राष्ट्रपति विद्यादेवी भण्डारीले शहीद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात-अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।

उनले शहीद दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै शहीद दिवस देश र जनताका लागि प्राण आहुति दिनुहुने महान् शहीदहरूको विशेष सम्झना गरिने दिन भएको उल्लेख गरेकी छन् ।

नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरंकुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका आन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइँदै आइएको छ ।

राष्ट्रपति भण्डारीले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत भएको उल्लेख गर्दै आजको दिनले हामीलाई शहीदहरूले गरेको यही सर्वोच्च त्यागको स्मरण गराउने बताएकी छन् । हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल हो ।

तसर्थ शहीदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने उल्लेख उनले गरेकी छन् ।

उनले न्यायपूर्ण, समतामूलक, सभ्य एवं सु-संस्कृत समाजका साथै समृद्ध राष्ट्र बनाउने शहीदको सपनालाई मूर्तरूप दिन आ-आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्न यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

प्रकाशित समय : ०७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु