global ime bank Long Banner Ad

गृहपृष्ठ स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा राशिअनुसारका बिरुवा रोपेर धार्मिक तथा पर्यावरणीय महत्वलाई एकसाथ प्रवद्र्धन गरिएको छ ।

धार्मिक विधिअनुसार रोपिएका बिरुवालाई नेपालमै पहिलोपटक व्यवस्थित रुपमा नवग्रह र १२ राशिसँग जोडेर संरक्षण गरिएको छ । मन्दिर परिसरमा नवग्रहसँग सम्बन्धित तथा १२ राशिका लागि शुभ मानिएका विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् । हिन्दू धर्मशास्त्रमा ग्रह र राशिअनुसारका वनस्पतिलाई विशेष महत्व छ ।

मेष राशिले रक्तचन्दन, वृषले छत्तिवन, मिथुनको रुख कटहर, कर्कटको पलाश, सिंहको बयर, कन्याको जङ्गली आँप, तुलाको अर्जुनवृक्ष, वृश्चिकको खयर, धनुको पीपल, मकरको सिसौँ, कुम्भको कदम र मीन राशिको वरका बिरुवा रोपेका छन् ।

त्यसैगरी, नवग्रह बाटिकामा सूर्यको आँक, गुरुको पीपल, केतुको कुश, शनिको सम्मी, राहुको दुबो, मङ्गलको खयर, चन्द्रको पलाश, शुक्रको गुलरबुध, बुधको दत्तिवनका बिरुवा मानेर शास्त्रीय विधि अनुसार मन्त्रोच्चरण गरेर वृक्षरोपण गरिएको पञ्चकन्या मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर विष्टले जानकारी दिए ।

व्यवस्थापन समितिले भविष्यमा नवग्रह बाटिका र राशि वनस्पति उद्यानलाई थप व्यवस्थित गर्दै धार्मिक पर्यटनको नयाँ केन्द्रका रुपमा विकास गर्ने योजना अघि बढाएको छ । नवग्रह मन्दिर पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकसित भएको छ ।

खिर्राको रुखको फेदमा विभिन्न प्रकारका शिला रहेको स्थानमा निर्माण गरिएको नवग्रहको दर्शन गर्दा सन्तान प्राप्ति, वाक्य खुल्ने, रोगमुक्त, वैदेशिक रोजगारमा सफलता प्राप्त हुने विश्वासका साथ भक्तजना दर्शन गर्न आउने गरेको गाउँपालिकाका कर्मचारी तिलकप्रसाद देवकोटाले बताए ।

शनिबार खुला रहने नवग्रहस्थलमा एकैदिन हजारौँ भक्तजन आउँछन् । यस क्षेत्रमा शिवरात्रि, तीजको चौथीमा पूजा आराधना गर्न भक्तजनको भिड लाग्ने गरेको छ ।

नवग्रह र राशिअनुसारका बिरुवाको स्थापना भएपछि यहाँ धार्मिक अध्ययन, ज्योतिषीय चासो तथा प्रकृति प्रेमीको आकर्षण थप वृद्धि भएको अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।

कुल दुई करोडभन्दा लगानी भएको सो धार्मिक क्षेत्रको निर्माणमा गाउँपालिकाको रोजगार शाखाको रु ७२ लाख र बाँकी स्थानीय जनसहभागिता परिचालन गरिएको थियो ।

पोखरा–भैरहवा सिद्धार्थराजमार्गको हेलुबाट लगभग नौ किलो मिटरको दूरीमा रहेको नवग्रह मन्दिरमा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकसँगै भक्तजनको आकर्षण बढेको छ । धार्मिक पर्यटकीय स्थल सञ्चालनमा आएसँगै स्थानीयको आयआर्जनमा थप टेवा पुगेको छ ।

 

प्रकाशित समय : १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु