global ime bank Long Banner Ad

गृहपृष्ठ आज विसं २०८३ जेठ ३० गते शनिवारको राशिफल

आज विसं २०८३ जेठ ३० गते शनिवारको राशिफल

आज विसं २०८३ जेठ ३० गते शनिवारको राशिफल

आज नेपाल संवत् ११४६ अनलागा त्रयोदशी, अधिक ज्येष्ठ कृष्णपक्ष, अधिक जेठ कृष्ण त्रयोदशी रहेको छ। पञ्चाङ्ग अनुसार सुकर्मा योग र बणिज करण रहेको छ। चन्द्रमा मेष राशिमा र सूर्य वृष राशिमा रहेको छ। गृष्म ऋतु जारी छ।आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कँदा जौको सातु सेवन गरी जुनसुकै दिशाको यात्रा गरे पनि शुभ फल प्राप्त हुने विश्वास छ। शुभ कार्यको सुरुवात वा यात्राका लागि बिहान ६ः२९ बजेदेखि ८ः३६ बजेसम्मको समयलाई शुभ मानिएको छ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित हो।आज नेपालमा सूर्योदय बिहान ५ः०९ बजे र सूर्यास्त साँझ ६ः५८ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ। जीवनसाथीले आफ्नो विवशता नबुझिदिँदा झन् दिक्क लाग्न सक्छ, तर वृद्धवृद्धाको सद्भाव र सहानुभूति प्राप्त हुनेछ। क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो। पेसा, व्यवसाय वा करियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ। काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ। नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो। व्यक्तित्व निर्माण वा प्रतिष्ठा वृद्धिको कुनै अवसर प्राप्त भए त्यसमा लागिपर्नु राम्रो हुन्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेवारी प्राप्त हुनेछ। वैकल्पिक आम्दानीका निम्ति कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा लाभ पाउन सकिनेछ। पारिवारिक बाध्यता वा सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ। बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने तथा शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ। सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणादायी बन्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
परिस्थिति विपक्षमा रहेकाले अहिले कुनै पनि नयाँ निर्णय लिनु हुँदैन। बरु व्यवस्थापन पक्ष र कामदारबीच सन्तुलन कायम राख्ने प्रयास गर्नुहोला। चिन्ता, शङ्का र डरले सताउन सक्छ। दिक्क लागेको छ भने एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु राम्रो हुन्छ। वातावरण तपाईंको विपक्षमा भएकाले आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु उचित हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यक्तित्वमा निखार आउनेछ। धेरैको मन लोभ्याउन सकिने तथा प्रेमिल भावना विकसित हुने दिन हो। तर आत्मकेन्द्रित भइदिनु र आफ्ना बारेमा मात्र सोच्नुले नजिकका आफन्त टाढिन सक्छन्। पेसागत सफलताका लागि प्रयास गरिनेछ। त्यसबाहेक पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका निम्ति केही समय छुट्याउनु पर्ने दिन हो। पार्टनरको भावनालाई कदर गर्दै कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
जीवनसाथी वा प्रियजनसँग लामो कुराकानी तथा सम्बन्ध विस्तार हुने दिन हो। आयका दृष्टिले पनि थप धनार्जन गर्न सकिने समय छ। ऊर्जा, ग्यास, विद्युत्, खेलकुद र धातुजन्य पेसामा आबद्ध व्यक्तिका लागि दिन राम्रो रहनेछ। घमण्ड र जिद्दीपन त्याग्न सके तर्क र बहसमा विजय प्राप्त हुनेछ। खिसीट्युरी गर्नेसँग सतर्क रहनुहोस्, अन्यथा ठूलो कलहको वातावरण बन्न सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
छोराछोरीले काममा सघाउनेछन्। दैनिक कामबाट फाइदा हुनेछ। थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुन सक्छ। प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ। कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ। सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो। परिश्रमी र लगनशील भएमा भाग्यले समेत साथ दिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
कार्यालयीय काममा खासै परिश्रम गर्नु पर्दैन। तर घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा थप सन्तुष्टि मिल्नेछ। प्रेमी वा प्रेमिका तथा परिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ। अपेक्षित माया, विश्वास र समझदारी कायम रहनेछ। ज्ञान र क्षमता बढाउन उपयोगी दिन छ। घरमा सम्पर्क राखी भाइबहिनी वा छोराछोरीको चासो राख्नु राम्रो हुन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइनेछ। पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने दिन छ। अध्ययनमा रुचि जाग्नेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। उपलब्धिमा साथीभाइ, गुरुजन र अभिभावकको महत्त्वपूर्ण सहयोग मिल्नेछ। बन्धुबान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ। आवश्यक पर्दा उनीहरूबाट सहयोग लिन पनि सकिनेछ। आध्यात्मिक मनोभावको विकास हुनेछ भने मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
परीक्षा, प्रतियोगिता वा प्रतिस्पर्धामा विजय प्राप्त गर्ने दिन हो। मेहनत गर्न सके पठनपाठनका दृष्टिले पनि उत्कृष्ट दिन बन्न सक्छ। धनप्राप्तिको योग बनेको छ। स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय छ। पछिसम्म फाइदा हुने कुनै काम सम्पन्न हुनेछ। बहुमूल्य वस्तु र पुराना सामग्री सङ्कलन गर्न मन लाग्न सक्छ। उपहार वा धन प्राप्त हुने दिन हो। वरिष्ठ कर्मचारी वा हाकिमसमेत खुसी हुनेछन्। कुनै काम फुत्काउनु छ भने प्रयास गर्नुहोला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
पार्टनरको इच्छा र भावना बुझ्न सके उत्साह बढ्नेछ र मन प्रसन्न रहनेछ। रूप–सौन्दर्य र व्यक्तित्वमा निखार आउनेछ। आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउनुपर्ने समय हो। कुरा काट्नेहरूले तपाईंको कमजोरी खोज्ने प्रयास गर्न सक्छन्। आफैँ पनि राम्ररी खट्ने तथा सहयोगीको सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिनेछ। नयाँ लगानीप्रति आकर्षण देखाउँदा राम्रो हुनेछ।

कुम्भ(गु, गे, गो, सा, सि, सु, से, सो, द) 
जिम्मेवारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ। त्यसैले रमाइलो र रोमान्टिक जीवनमा केही बाधा पुग्न सक्छ। सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला। मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय छ। प्रियजनसँग भेटघाट हुनेछ अथवा आश मारेको वस्तु वा धन हात पर्न सक्छ। सफलता हासिल गर्न प्रतिस्पर्धामा जानुपर्ने समय छ। कारोबारमा पनि लगानी बढाउनुपर्ने अवस्था देखिन्छ। अहिलेको लगानीले भविष्यमा फाइदा पुग्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नतिजाको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुनेछ। आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा ताकेका काम पूरा गर्न सजिलो हुनेछ। लगनशीलता र मेहनतको पुरस्कार प्राप्त हुनेछ। आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ। रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भुत परिणाम प्राप्त हुनेछन्। शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरवृद्धिको नयाँ अवसर मिल्न सक्छ। आँट र हिम्मतका साथ काम गर्न सके मनग्य फाइदा हुनेछ।

प्रकाशित समय : ०६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु