global ime bank Long Banner Ad

गृहपृष्ठ इतिहास खोज्दाखोज्दै बन्यो दरबार

इतिहास खोज्दाखोज्दै बन्यो दरबार

इतिहास खोज्दाखोज्दै बन्यो दरबार

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–४ हस्तपुरमा हरियाली जङ्गलबीच भव्य संरचना निर्माण भएको छ। यहाँ पुग्ने नयाँ पर्यटकलाई यो पक्कै पनि अनौठो लाग्छ। कटुस, काफल र निगालोको घना जङ्गल, चराको आवाज र प्रकृतिको सुवासले मन्त्रमुग्ध बनाउने यो ठाउँ इतिहास, पुरातत्व र धार्मिक विश्वासले पनि उत्तिकै विशिष्ट छ। यही विशिष्टता खोज्दाखोज्दै यहाँ आकर्षक संरचना बनेका हुन्।

यो स्थान तत्कालीन लिम्बुवानका अन्तिम राजा हिलिहाङले शासन चलाएको हिलिहाङ दरबार क्षेत्र हो। विसं १८४२ सालसम्म हिलिहाङले यहाँबाट तत्कालीन विजयपुर राज्यअन्तर्गतको याङरुप भनिने याङवरक थुममा शासन गरेको इतिहास छ। राजा हिलिहाङको आकस्मिक मृत्युपछि दरबार संरक्षण हुन नसक्दा भत्किएको थियो। यही स्थानमा हिलिहाङ गाउँपालिकाले प्यागोडा शैलीको दरबार, सङ्ग्रहालयलगायत संरचना निर्माण गरेपछि पर्यटकको आकर्षण बढेको छ। धार्मिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण हिलिहाङ दरबार क्षेत्रमा निर्मित पूर्वाधार पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ।

यहाँ प्यागोडा शैलीको तीनतले दरबार निर्माण गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र हिलिहाङ गाउँपालिकाको साझेदारीमा रु २ करोड ५१ लाख ६८ हजारको लागतमा दरबार निर्माण सम्पन्न भएको हो। मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागतमा भगवती बौद्ध जेभी इलामले संरचना निर्माण गरेको हो। दरबारमा अवलोकनका अन्य सामग्री नभए पनि यसको आकर्षक बनावट, यहाँको भूगोल र इतिहासप्रतिको चासोले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

यहाँ पुग्ने पर्यटकले राजा हिलिहाङको समयका बैठकस्थल, राजसभास्थल, पर्खाल, दरबारमा प्रयोग भएका इँटा, खड्पललगायत संरचनाको अवलोकन गर्न पाउँछन्। यस्तै, राजा हिलिहाङले शक्ति प्राप्त गर्ने गरेको विश्वास गरिने महारानी शक्तिपीठको दर्शन गर्ने प्रचलन पनि रहिआएको छ।

स्थानीय तह पुनर्संरचनाका क्रममा साविकका भारपा, सुभाङ, पञ्चमी र अमरपुरलाई जोडेर हिलिहाङ गाउँपालिका बनाइएपछि राजा हिलिहाङ तथा उनको दरबारबारे चासो बढेको थियो। हिलिहाङ फाउण्डेसनले मेची राजमार्गको याङवरक गाउँपालिका–६ नागीमा प्रवेशद्वार निर्माण गर्नुका साथै हिलिहाङ दरबारअगाडि सालिक निर्माण गरेको छ। हिलिहाङ गाउँपालिकाले हिलिहाङ महोत्सव आयोजना गरी यो स्थानको प्रचार थालेको थियो। कोशी प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाले सङ्ग्रहालय निर्माण गरिसकेको छ। पुरातत्व विभागले हिलिहाङ दरबार क्षेत्रको पुरातात्विक सम्पदाबारे खोजी गरिरहेको छ।

समुद्री सतहबाट एक हजार ८२० मिटर उचाइमा रहेको हिलिहाङ दरबार क्षेत्र जङ्गलबीच अवस्थित छ। शान्त, एकान्त र हरियालीले भरिएको यस पर्यटकीय क्षेत्रसम्म गाउँपालिकाले सडक विस्तार गरेपछि पर्यटकको आवागमन सहज भएको छ। हिलिहाङ गाउँपालिकाले पाँच वर्षअघिदेखि राजा हिलिहाङको जन्मोत्सव मनाउन थालेको छ।

हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीका अनुसार हिलिहाङ दरबार क्षेत्रलाई पर्यटकको आकर्षण बनाउने, राजा हिलिहाङको शासनकालका सामग्री सङ्कलन गरी सङ्ग्रहालयमा राख्ने प्रयास भइरहेको छ। हिलिहाङ दरबार क्षेत्रसँगै जोडिएको भोटेगढीलगायत पर्यटकीय क्षेत्रमा पर्यटन पूर्वाधार विकास र प्रचारप्रसार बढाउन गाउँपालिकाले लगानी गरिरहेको अधिकारीले बताए।

नेपाल एकीकरणका क्रममा तत्कालीन गोरखा फौजसँग हिलिहाङको फौज १७ पटकसम्म अपराजित रहेको विश्वास गरिन्छ। तर विसं १८३१ साउन २२ गते राजा हिलिहाङले नेपाल एकीकरण अभियानलाई सहजीकरण गर्दै याङवरक थुमलाई नेपाल मातहत राखी स्वशासनको अधिकार लिएको इतिहास छ। विसं १८४२ मा हिलिहाङको अकस्मात् मृत्यु भएपछि याङवरक थुम पूर्ण रूपमा नेपाल मातहतमा गाभिएको थियो। यही आधारमा हिलिहाङलाई लिम्बुवानका अन्तिम राजा भन्ने गरिन्छ।

पराक्रमी मानिने राजा हिलिहाङको निधनपछि उनीसँग रुष्ट पक्षहरूले दरबार र राज्यसत्तामा दखल दिएका कारण दरबार संरक्षण हुन नसकी भत्किएको थियो। दरबारमा प्रयोग भएका इँटा र त्यस समयमा बनाइएका पर्खाल अझै पनि दरबार परिसरमा छन्। इतिहासको खोजी गर्दागर्दै दरबारका संरचना निर्माण भएपछि नेपाल एकीकरण, राष्ट्रिय एकता र इतिहासको जगेर्नामा ठूलो मद्दत पुगेको यस क्षेत्रका अग्रज कृष्णबहादुर योङहाङले बताए।

प्रकाशित समय : ०६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु