गृहपृष्ठ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् ।  आइतबार आयोजित कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् ।

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज बिहान काठमाडौबाट पोखरा आइपुगेका हुन् । प्रधानमन्त्री दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पनि छिट्टै सुरु गर्ने बताए । नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको उनकाे भनाइ  थियाे ।

‘मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको छ,’ उनले भने, ‘यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ ।’ प्रधानमन्त्री दाहालले पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ राजदूतावासमार्फत तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शंकरराज पाठक आफ्नो गुरु भएको भन्दै प्रधानमन्त्री दाहालले उनको प्रशंसा गरे ।

प्रधानमन्त्री दाहालले चीनसँगको सीमा नाका खुलाइ सहज बनाउने तथा रेलसेवा लगायतका परियोजना निर्माणमा सहयोग गर्नसमेत चीन सरकारसमक्ष आग्रह गरे । उनले पोखरा विमानस्थल सञ्चालनमा आएपछि गण्डकी प्रदेशसँगै सिंगाे राष्ट्रको आर्थिक विकास हुनेमा दुई मत नरहेको उल्लेख गरे । ‘म गण्डकी प्रदेशबाट निर्वाचित भई प्रधानमन्त्री बनेको छु, यहाँका जनताले मलाई तेस्रोपटक प्रधानमन्त्रीका रुपमा सेवा गर्ने अवसर दिनुभएको छ, यसका लागि धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

सामाजिक न्याय, सुशासन र जनताको समृद्धिको मूल मन्त्र बनाई आफू नेतृत्वको सरकारले काम गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । ‘मैले यसअघि लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरे, अब आर्थिक विकास, समृद्धि तथा सुशासन प्रवर्द्धन गर्दै देशलाई विकासको गतिमा अघि बढाउने छु,’ उनले भने ।

करिब २२ अर्ब रूपैयाँमा विमानस्थल तयार भएको हो । यसमध्ये २५ प्रतिशत अनुदान र बाँकी ७५ प्रतिशत चिनियाँ एक्जिम बैंकबाट ऋण लिइएको हाे । यो विमानस्थलमा बोइङ ७५७ र एयरबस २१९ मोडलका ‘न्यारोबडी’ विमान उडान तथा अवतरण गर्न सक्छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रको आजको आवश्यकता राजनीतिक स्थायित्व र सामाजिक न्याय भएको उनको भनाइ थियो ।

प्रकाशित समय : १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु