काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

1.16K
shares

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशका कुनै पनि नागरिकलाई टेलिफोन तथा इन्टरनेट सेवाको पहुँचबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताएको छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका बस्ती तथा जुगल हिमाल र आधार शिविर क्षेत्रमा सञ्चार सेवा विस्तारको मागसहित सञ्चारमन्त्री डा तिमिल्सिनालाई भेटेको स्थानीय युवाहरुसँगको छलफलमा उहाँले मानव बस्ती भएका सबै स्थानमा दूरसञ्चार सेवा पु¥याउन सम्बन्धित निकायलाई निर्देशन दिइरहेको बताए ।

मन्त्रालयमा आज भएको उक्त छलफलमा काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्य प्रदीप विष्ट, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी(अर्याल) तथा जुगलका स्थानीय युवाहरु सहभागी थिए । सांसद विष्टले काठमाडौँ उपत्यकाभित्रै टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर प्रभावकारी नरहेको गुनासो आइरहेको उल्लेख गर्दै सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा नागरिक अझै सञ्चार सेवाबाट वञ्चित हुनुपरेको बताए । उनले विशेषगरी दुर्गम तथा हिमाली क्षेत्रमा सञ्चार सेवाको पहुँच र गुणस्तर सुधार गर्न आवश्यक पहल गर्न आग्रह गरे ।

सो क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच र गुणस्तरसम्बन्धी समस्या देशभर रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि उपलब्ध स्रोत साधनको अधिकतम प्रयोगसँगै नयाँ खरिद प्रक्रिया पनि अघि बढाइएको बताउनुभयो । देशभर दूरसञ्चार सेवाको पहुँच तथा गुणस्तर सुधार्न ग्रामीण दूरसञ्चार विकास कोषको रकमसमेत परिचालन भइरहेको उनले जानकारी दिए।

सञ्चारमन्त्री डा तिमिल्सिनाका अनुसार आगामी करिब डेढ वर्षभित्र देशभर नेपाल टेलिकमका थप एक हजार ६०० हाराहारी टेलिफोन टावर निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ । करिब १२ अर्ब बराबरको ठेक्का प्रक्रिया अगाडि बढेको र निर्धारित अवधिभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।

दूरसञ्चार पूर्वाधार विस्तारमा बजेटको अभावभन्दा पनि व्यावहारिक तथा प्रक्रियागत जटिलता र निर्धारित समयमा टावर निर्माण सम्पन्न हुन नसक्ने समस्या देखिएको सञ्चारमन्त्री तिमिल्सिनाको भनाइ थियो ।

अहिलेको समयमा पनि नागरिक सञ्चार सेवाको पहुँचबाट वञ्चित हुनु गम्भीर विषय भएको उनले बताए । “जहाँबाट गुनासो आएको छ, त्यहाँ तत्काल समस्या समाधान हुनुप¥यो । टावर थप्ने, क्षमता बढाउनेलगायत जे काम गरेर समस्या समाधान हुन्छ तत्काल गर्नुहोला,” नेपाल टेलिकमलाई निर्देशन दिँदै उनले भने ।

विद्युत् सुविधा नपुगेका स्थानमा उच्च क्षमताका सौर्य ऊर्जा प्रणाली तथा ब्याट्रीको व्यवस्था गरी टावर सञ्चालन गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाले निर्देशन दिए । त्यस्तै, सञ्चालनमा रहेका टावरले आफ्नो अधिकतम क्षमताअनुसार सेवा दिइरहेका छन् वा छैनन् भन्ने विषयमा नियमित निरीक्षण गर्न र समस्या देखिएका स्थानमा तत्काल क्षमता अभिवृद्धि गर्न टेलिकमलाई निर्देशन दिइएको छ ।

छलफलमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक पहाडीले जुगल गाउँपालिकामा तत्काल प्राविधिक टोली पठाएर सञ्चार सेवाको अवस्थाबारे स्थलगत अध्ययन गरिने बताए । टेलिफोन तथा इन्टरनेट सेवामा समस्या आउनुका प्राविधिक कारण पहिचान गरी आवश्यक सुधारका काम अघि बढाइने उनको भनाइ थियो । टावर निर्माण तथा सेवा विस्तारका क्रममा स्थानीयस्तरबाट समेत सहयोगको अपेक्षा गरिएको उनले बताए ।

यसैबीच, जुगल गाउँपालिकाका युवाहरूले जुगल हिमाल, जुगल भ्यु पोइन्ट तथा आधार शिविर क्षेत्रमा सञ्चार सेवा विस्तार गर्न र गाउँपालिकाका विभिन्न बस्तीमा गुणस्तरीय फोरजी सेवा सुनिश्चित गर्न सञ्चारममन्त्री डा तिमिल्सिनाको ध्यानाकर्षण गराएका छन् ।

गाउँपालिकाले ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेको सन्दर्भमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गए पनि सञ्चार सुविधाको अभाव चुनौतीका रूपमा रहेको उनीहरूले बताएका छन् । स्थानीय युवाहरूले मेलम्ची डाँडामा रहेको टेलिफोन टावरको प्राविधिक क्षमता वृद्धि तथा मर्मत गरी गुणस्तरीय फोरजी सेवा सञ्चालन गर्न र पाङ्ग्रेप डाँडाको टावर मर्मत गरी पुनः सञ्चालनमा ल्याउन माग गरेका छन् ।

साथै, समद्री सतहदेखि करिब चार हजार ५०० मिटर उचाइमा रहेको जुगल भ्यू पोइन्ट तथा आधार शिविरसम्म मोबाइल नेटवर्क र इन्टरनेट सेवा विस्तार गर्न उपयुक्त स्थानमा नयाँ टावर स्थापना गर्नुपर्ने उनीहरूको माग छ । गाउँपालिकाका बोल्दे, गुम्बा, क्याङसिङ, अम्बाखर्क, तेम्बाथान र दिप्पुङलगायतका बस्तीमा भरपर्दो मोबाइल तथा इन्टरनेट सेवा सुनिश्चित गर्न पनि उनीहरूले आग्रह गरेका छन् ।