गृहपृष्ठ पाँच महिनामा पुँजीगत खर्च ९ प्रतिशत मात्रै
पाँच महिनामा पुँजीगत खर्च ९ प्रतिशत मात्रै
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ ।
चालु आवका लागि सरकारले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रूपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमध्ये मंसिर मसान्तसम्ममा चार खर्ब ३५ अर्ब २१ करोड ११ लाख रूपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
यस अवधिमा सरकारको पुँजीगत खर्च करिब नौ प्रतिशत बराबर मात्रै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार मंसिर मसान्तसम्ममा संघीय सरकारको पुँजीगत खर्च ३३ अर्ब ९९ करोड १६ लाख रूपैयाँ बराबर छ ।
चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजाबर बजेट छुट्याएको छ । हालसम्मको पुँजीगत खर्च आठ दशमलव ९४ प्रतिशत बराबर हो । त्यस्तै चालु शीर्षकमा विनियोजित कूल ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेटमध्ये हालसम्म २९ दशमलव ९४ प्रतिशत खर्च भएको छ । जुन तीन खर्ब ५४ अर्ब २५ करोड ६९ लाख बराबर हो ।
वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख बजेट छुट्याइएकामा मंसिर मसान्तसम्ममा ४६ अर्ब ९६ करोड २६ लाख बराबर खर्च भएको छ । जुन खर्च वित्तीय व्यवस्था शीर्षकमा विनियोजित बजेटको २० दशमलव चार प्रतिशत बराबर हो । यसरी हेर्दा हालसम्म सरकारको पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थापन शीर्षकमा भएको खर्च बढी देखिएको छ ।
यही अवधिमा सरकारको राजस्व संकलन २४ दशमलव ५२ प्रतिशत बराबर रहेको छ । चालु आर्थिक वर्षका लागि कूल १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख रूपैयाँ आन्तरिक राजस्व उठाउने र ५५ अर्ब ४५ लाख ८३ करोड रूपैयाँ वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेको छ ।
हालसम्म आन्तरिक राजस्व संकलन तीन खर्ब २६ अर्ब ८९ करोड रूपैयाँ अर्थात् वार्षिक लक्ष्यको २३ दशमलव तीन प्रतिशत बराबर छ । साथै यस अवधिमा सरकारले तीन अर्ब ४१ करोड ५९ लाख रूपैयाँ अर्थात् वार्षिक लक्ष्यको छ दशमलव १६ प्रतिशत वैदेशिक अनुदान लिएको छ ।
प्रकाशित समय : १३:०९ बजे

















