गृहपृष्ठ १८ औँ पटकको प्रयासमा के रामचन्द्र प्रधानमन्त्री बन्लान ?

१८ औँ पटकको प्रयासमा के रामचन्द्र प्रधानमन्त्री बन्लान ?

१८ औँ पटकको प्रयासमा के रामचन्द्र प्रधानमन्त्री बन्लान ?

मसिंर ४ गते भएको निर्वाचन परिणाम केही क्षेत्रलाई छाडेर आइसकेको छ । यो निर्वाचनले शीर्षस्थ नेताहरुलाई झस्काएको मात्र छैन धेरैलाई पाखा समेत लगाएको छ । जसले गर्दा पुराना नेतालाई आफ्नो विरासत थाम्न हम्मेहम्मे भएको छ । यही सेरोफेरोमा नेपाली कांग्रेसका शीर्ष नेता रामचन्द्र पौडेललाई भने हाइसुख्ख भएको छ । तनहुँ क्षेत्र नम्बर १ बाट २५ हजारभन्दा धेरै मत ल्याएर उनी विजयी भएका छन् । कांग्रेसको चारतारे झण्डा फहराइरहेका छन् । पौडेलले २५ हजार तीन सय १८ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर राना मगरले १९ हजार ९ सय ४३ मतमा चित्त बुझाएका छन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीदेखि स्वतन्त्रहरु समेत उम्मेद्वार थिए । तर, पौडेलले पाँच हजारभन्दा धेरै मतान्तरले जित हासिल गरेका हुन् । विजयी भए लगत्तै कांग्रेसका शीर्षस्थलाई भेटघाट सुरु गरिसकेका छन्, पौडेलले । शनिबार बालुवाटारमै पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । उनले प्रधानमन्त्री देउवासँग आगामी सरकारको नेतृत्वबारे छलफल गरेको सचिवालयलले जनाएको छ । पौडेलले, महामन्त्री गगन थापा लगायतलाई भेटघाट गर्ने कार्यतालिका बनाइसकेका छन् ।

जित लगत्तै उनको दौडधुपले एउटा संकेत प्रस्टै दिएको छ । कि, ‘सरकारको नेतृत्वमा पुग्न रामचन्द्र पौडेलको कसरत सुरु भयो ।’ पौडेलले यो कसरत किन नगरुन् ? नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रधानमन्त्री देउवाले ‘आफुलाई सभापतिमा जिताएपछि महत्वपूर्ण पदमा पुर्‍याउने’ वचन दिएका थिए । भयो पनि त्यस्तै । पार्टीभित्र देउवाविरुद्ध बलियो मानिएका पौडेलले समर्थन गरेपछि १४औँ महाधिवेशनबाट सभापतिमा देउवा विजयी भएका थिए ।

१४ औँ महाधिवेशनअघि एउटा गुटको नेतृत्व देउवाले गर्थे भने अर्को गुटको पौडेलले । सार्वजनिक कार्यक्रममा एकअर्काप्रति घोचपेच नै हुन्थ्यो । तर, देउवाबाट उच्च पदको आश्वासन पाएपछि १४ औँ महाधिवेशनबाट पौडेल देउवातिर ढल्किए । आजको दिनसम्म पुग्दा प्रधानमन्त्री देउवाको त्यही आश्वासनको आडमा कांग्रेस संसदीय दलमा प्रतिस्पर्धा गरेर जित्ने दाउमा छन्, पौडेल ।

कांग्रेसको वैचारिक राजनीति मात्रै होइन पौडेल, सार्वजनिक छवि दायाँ बाँया नभएका नेता पनि हुन् । मेलमिलाप र समन्वयकारी भूमिका उत्तिकै खेल्ने गरेका छन् । त्यो, सशस्त्र युद्ध चर्काइरहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने बेला होस् या कांग्रेस पार्टी भित्रको कलह मिलाउने काममा सक्रिय हुन्छन्, पौडेल ।

यसपालि तनहुँबाट विजयी भएपछि कांग्रेसको विधानमा टेकेर नेतृत्वमा पुग्न, पौडेल पनि चाहन्छन् । तर, पौडेलको जस्तै चाहना महामन्त्री गगन थापा, नेता प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइरालाले समेत गरिरहेका छन् ।

संसदीय दलको नेतामा लडेर विजयी झण्डा फहराउने मात्रै सोच छैन, महामन्त्री थापाको, प्रधानमन्त्री नै भएर पाँच वर्ष देश हाँक्ने सोच छ । त्यसका लागि कांग्रेसभित्रकै संसदीय दलको नेतामा आफुलाई थापाले अघि सारिसकेका छन् । महामन्त्री थापा देउवाको विरासतलाई भत्काउने दाउमा छन् ।

तर, १४ औँ महाधिवेशनमा प्रकाशमान सिंह, रामचन्द्र पौडेल, शशांक कोइरालालाई हातमा लिएर सभापतिमा विजयी भएका देउवा संसदीय दलका नेताकै लागि यसपटक पनि आफ्नै लागि तयारी गरिरहेका थिए । तर, महामन्त्री थापा पनि संसदीय दलको चुनावी अभ्यासमा जुटिरहेका छन् ।

पछिल्लो समय शेखर कोइराला समूहमा रहेका थापा देउवालाई संसदीय दलमा टक्कर दिन खोजिरहेका छन् । साथै, मोरङ क्षेत्र नम्बर ६ बाट विजयी भएका शेखर कोइरालाको पनि संसदीय दलको नेता चुनिन कसरत कम छैन । यस्तोबेला पौडेलको दौडधुप अर्थपूर्ण मानिएको छ ।

के पौडेलले यसपटक देउवाको कार्यशैली नरुचाएका कांग्रेसजनको विश्वास आर्जन गर्न सक्लान् ? प्रधानमन्त्री पदमा उनको दावी सत्यसम्म पुग्न सक्ला ?

बीपी, गणेशमान, कृष्णप्रसादको सानिध्यमा हुर्केका पौडेललाई देख्दा सुस्ताएका, मुर्झाएका र लखतरान परेका कांग्रेसजनमा ऊर्जा प्राप्त हुनुपर्ने हो । पार्टी फुटालेर हिँडेका देउवा फर्किएर सभापतिदेखि प्रधानमन्त्रीसम्म हुन भ्याए । तर, पौडेल न सभापतिमा जित्न सके, न त १७ पटकसम्म उम्मेदवार हुँदा पनि प्रधानमन्त्री नै हुन पाए ।

उनले युवा पुस्ताको नेतृत्व गर्ने आँट पनि देखाउन सकेनन् । कुलीन कांग्रेस उनको साथमा देखिएन । कोइराला परिवारका लागि त्याग गरे पनि उनी उपयोग मात्र भए, न त कसी लागेका कांग्रेसी बुद्दिजीवी नै उनको साथमा देखिए ।

के अब पौडेलले देशभरका कांग्रेसी सांसदहरूको नेताका रूपमा आफूलाई स्थापित गर्न सक्लान् ? १८ औं पटकको प्रयासमा उनी प्रधानमन्त्री बन्न सक्लान ? योभन्दा महत्वपूर्ण पक्ष भनेको संसदीय दलको नेता बनाएर सिंहदरबारको प्रधानमन्त्री पद प्रदान गर्न देउवा पौडेलप्रति उदार रहलान ? यो प्रश्नको जवाफ कुर्न अझै केही दिन पर्खनै पर्छ ।

प्रकाशित समय : १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु