प्रभावकारी बन्दै टेलिकमको ग्रुप एसएमएस सेवा
वि.सं.२०७९ कात्तिक २६ शनिवार १३:२३
shares

नेपाल टेलिकमले एकै पटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा प्रभावकारी बनेको छ । यो सेवाअन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिने टेलिकमले जनाएको छ ।
कम्पनीका अनुसार यसअन्तर्गत उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रतिसन्देश शुल्क जम्मा ५० पैसा मात्र लाग्छ । यस अफरमा आवश्यकताबमोजिम २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकै पटक वा पटक पटक सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।
जम्मा २ हजार सन्देश पठाउन सकिने प्याकअन्तर्गत एक हजार (करबाहेक)मा दुई दिन भित्रमा २ हजार सन्देश पठाउन सकिन्छ । यसैगरी, ५ हजार सन्देश पठाउन सकिने प्याकअन्तर्गत जम्मा २ हजार पाँच सय (करबाहेक)मा पाँच दिन भित्रमा ५ हजार सन्देश पठाउन सकिन्छ ।
यसका साथै १० हजार वटा सन्देश पठाउन सकिने प्याकअन्तर्गत जम्मा पाँच हजार (करबाहेक)मा १० दिन भित्रमा जम्मा १० हजार हजार वटा सन्देश पठाउन सकिने कम्पनीले बताएको छ । यस अफरमा कम्पनीको नेटवर्कभित्र मात्र सन्देश पठाउन सकिन्छ ।
यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको आफ्नै नाममा कम्पनीको सिमकार्ड हुनु पर्नेछ र प्रेषित सन्देशको भाषा, शब्द र भावका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने कम्पनीले उल्लेख गरेकाे छ ।
यो सेवा प्रयोग गर्नका लागि वेबसाइट लगइन गरी प्याकेज खरिद गर्न सकिने छ ।
























