बससेवाले सुरू गर्याे अत्याधुनिक प्यासेन्जर लाउञ्ज
वि.सं.२०७९ कात्तिक २६ शनिवार १२:५५
shares

नेपालमा अनलाइनमार्फत बस टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले कलंकीस्थित ढुंगेअड्डामा अत्याधुनिक किसिमको प्यासेन्जर लाउञ्ज (यात्रु प्रतिक्षालय) सञ्चालनमा ल्याएको छ । हवाइ यात्रुलाई प्यासेञ्जर लाउञ्जको सुविधा भए पनि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी नेपालमै पहिलो पटक यस किसिमिको लाउञ्ज निर्माण गरिएको हो ।
यात्रुहरुलाई आफू जाने बस कुर्न कुनै किसिमको झञ्झट नहोस् भन्ने उद्देश्यले लाउञ्ज सञ्चालनमा ल्याएको बससेवाले जनाएको छ । लाउञ्जको शुक्रबार चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गरे ।
लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, निशुल्क खानेपानी र चिया तथा कफी खाने व्यवस्था मिलाइएकोे छ । लाउञ्जको बससेवाबाट टिकट काटेका यात्रु मात्रै नभएर अन्य सबै यात्रुले समेत प्रयोग गर्न सक्नेछन् । लाउञ्ज सञ्चालनमा आएसँगै यात्रुहरु सडक किनारामा आफ्ना झोला राखेर धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
लाउञ्जको उद्घाटन गर्दै नगर प्रमुख गिरीले नेपालमै पहिलो पटक निर्माण गरिएको यस किसिमको लाउञ्जले यात्रुहरुलाई धेरै सहज हुने बताए । यस्तै ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक (एसपी) अवदेश विष्ट क्षेत्रीले यस किसिमको लाउञ्जले यात्रुलाई सहज बनाउनेमात्र नभएर सडक सुरक्षामा समेत ठूलो भूमिका हुने बताए ।
बससेवा डटकमका सीईओ पीआर खनाल आफूहरुले सुरूदेखि नै आम यात्रुहरूलाई सहज हुने खालका सेवा प्रदान गर्दै आएको बताए । उनले भने, ‘यात्रुहरुलाई सामान राख्ने ठाउँ नहुने, सडक किनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यता थियो । एकातिर सामानको सुरक्षा नहुने, धुलोले शरीरमा असर पार्ने, लामो समय गाडी कुर्नु पर्दाको झञ्झटलाई मध्यनजर गर्दै हामीले यो लाउञ्जको व्यवस्था गरेका हौँ । यस लाउञ्जले यात्रुहरुलाई सहज बनाउनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’
बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध छन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेशनबाट टिकट काट्न सक्नेछन् ।
























