जुम्लाबाट गोमा कि ज्ञानेन्द्र ?
वि.सं.२०७९ कात्तिक २५ शुक्रवार १४:१४
shares

यो चुनावमा जुम्ला पनि चर्चामै छ । माओवादी जनयुद्धका बेला सदरमुकाम खलंगामाथि हमला गर्दा चर्चामा रहेको जुम्लाले यसपालि चुनावमा, सबैको ध्यान केन्द्रित गराएको छ । जहाँबाट, सामाजिक सञ्जालतिर धेरथोर चर्चा कमाएका ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यका उम्मेद्वार छन् । ज्ञानेन्द्र, गोलाकारभित्रको हलो लिएर चुनावी प्रचारप्रसार गरिरहेका छन् ।
सत्ता गठबन्धनतर्फ माओवादी केन्द्रकी उम्मेद्वार गोमा गौतम कुँवर र नेकपा एमालेका रतननाथ योगीले प्रतिस्पर्धीका रुपमा नदेखे पनि, ज्ञानेन्द्रसहित नेमकिपाका डिल्लीप्रसाद काप्ले चुनावी मैदानमा होमिएका छन् । प्रतिनिधिसभामा जुम्लाबाट प्रतिनिधित्व गर्न पाँच जनाको उम्मेद्वारी परेको छ । तर, माओवादी केन्द्रबाट बागी बनेका डा. कलबहादुर रोकाय गोमाकै माहोलमा उभिएका छन् । आफ्नो उम्मेद्वारी निष्क्रिय बनाइसकेका छन् । बाँकी, चार जनाले मतदातालाई आ–आफ्नो तरिकाले सपना बाँडिरहेका छन् ।
सिनारियो हेर्दा नेमकिपाका डिल्लीप्रसाद काप्ले सम्भावनाभन्दा बाहिर देखिन्छन् । यद्यपी, जुम्लामा राप्रपाभन्दा तीन गुनाले ठूलो छ, नेमकिपा । तर, ज्ञानेन्द्र ‘सत्ता गठबन्धन र एमाले’का उम्मेद्वारलाई हराएर जुम्लाबाट विजयीको झण्डा फहराउने दाउमा छन् ।
भनिरहेका छन्, ‘जुम्लाको चुनाव हलोको पक्षमा हुँदै गएको छ । जित निश्चित जस्तै हो ।’
चुनाव न हो, ‘पराजित हुन्छु’ यहाँ कसले भन्छ ? भाग लिएका सबैलाई जितको आँट र आश छ । तर, चुन्ने जिम्मा मतदाताको हो । के बाहिर हल्ला भए जस्तो जुम्लाको ‘चुनावी माहोल’ हलोको पक्षमा छ ? के गठबन्धनका उम्मेद्वारलाई चुनौती थपिएको हो ? आखिर जुम्लाले संसद्मा कसलाई पठाउँछ ? थाहा पाउन एकपटक ग्राउण्डमै पुग्नुपर्छ ।
आठ स्थानीय तह भएको जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनपछि आठ मध्ये छ पालिका नेपाली कांग्रेसले जितेको छ भने दुई पालिका माओवादी केन्द्रले जितेको छ । कनकासुन्दरी, गुठिचौर, तातोपानी, पातारासी, हिमा गाउँपालिका र चन्दननाथ नगरपालिकाको नेतृत्व कांग्रेसले गरिरहेको छ । सिंजा र तिला गाउँपालिका माओवादी केन्द्रले गरिरहेको छ । चन्दननाथ नगरपालिकाको प्रमख भने कांग्रेसका बागी उम्मेदवार हुन् । स्थानीय तहको मत मतपरिणाम हेर्दा, जुम्लामा पहिलो दल कांग्रेस हो भने माओवादी केन्द्र दोस्रो स्थानमा छ । एमाले र एकीकृत समाजवादी बराबरी स्थानमा छन् ।
निर्वाचन आयोगका अनुसार, स्थानीय निर्वाचनमा कांग्रेसले ३४.४२ प्रतिशत मत प्राप्त गरेको थियो भने माओवादी केन्द्रले २९.४५ प्रतिशत मत प्राप्त गरेको हो । १४.३० प्रतिशत मत प्राप्त गरेर एमाले तेस्रो बनेको हो भने १२.७८ प्रतिशत मतसहित एकीकृत समाजवादी चौथो छ । साना दल नेमकिपाले ३.१७ प्रतिशत, राप्रपाले १.०६ प्रतिशत र स्वतन्त्र उम्मेद्वारले ४.७९ मत प्राप्त गरेका हुन् । यो वडा स्तरबाटै दलहरुले पाएको मतवितरण हो ।
परिणाम र गठबन्धनलाई आधार मानेर हेर्दा प्रतिनिधिसभातर्फ खस्ने मत मध्ये ७६ प्रतिशत मत प्राप्त गरेर सदन प्रवेश गर्छिन्, माओवादी केन्द्रकी गोमा गौतम । तर, कांग्रेसको पूर्ण मत गोमालाई प्राप्त हुन्छ भन्ने आधार छैन । प्रदेशतर्फ कांग्रेसका बागी उम्मेद्वार र कार्यकर्ताबीच देखिएको चरम असन्तुष्टि कारण कांग्रेसबाट गोमालाई मत घट्ने निश्चित छ । यति मात्रै नभइ माओवादीको पकट मानिएको पातारासी र गुठिचौरबाटै गोमालाई सैद्धान्तिक मत प्राप्त हुने स्थिती छैन । मतदाताले स्थानीय निर्वाचनबाट त्यो संकेत गरिसकेका छन् ।
गुठिचौर, तातोपानी र पातारासीबाट ज्ञानेन्द्रले राम्रै मत बटुल्ने सम्भावना छ । सम्भावनाको अर्का खेल हो, राजनीति । त्यहीँ सिद्धान्त जुम्लामा भरपुर प्रयोग गरिरहेका छन्, ज्ञानेन्द्रले । भनिरहेका छन्, ‘मलाई राप्रपा भनेर मत नदिनुहोस् जुम्लाको छोरो भनेर मत दिनुहोस् ।’ त्यति मात्रै नभइ ज्ञानेन्द्र कांग्रेस आस्थावान् मतदातासँग आग्रह गरिरहेका छन्, ‘तपाईंका उम्मेद्वार छैनन् । प्रदेशमा जसलाई दिए पनि प्रतिनिधिसभामा मलाई ।’
ज्ञानेन्द्रले भने जस्तै कांग्रेसको २२ प्रतिशत मतदाता त्यसै गर्ने सोचमा छन् । ०६४ यता माओवादी केन्द्रलाई नै मत दिइरहेका मतदाताहरु पनि ज्ञानेन्द्रलाई मत दिने मनसाय व्यक्त गरिरहेका छन् । त्यति मात्रै नभइ ज्ञानेन्द्रलाई भूगोलतर्फ प्रतिनिधिसभातर्फ खसेको मत मध्ये १० प्रतिशत मत प्राप्त हुने देखिन्छ । यो मतले ज्ञानेन्द्रलाई सान्त्वना त मिल्छ तर जितको बिन्दुमा पुर्याउदैन । कांग्रेसबाट ज्ञानेन्द्रले जति मत तान्न सके उत्तिकै नै गोमालाई जित्न चुनौती थपिने देखिन्छ ।
मतदातासँग ज्ञानेन्द्र निकै घुुलमिल भइरहेको देखिन्छ । त्यसमाथि पनि कांग्रेस मतदातालाई हातमा लिएर जित निकाल्ने दाउमा छन्, ज्ञानेन्द्र । यदि, ज्ञानेन्द्रको त्यो रणनीति सफल भयो र गोलाकारभित्रको हँसिया हथौडामा कांग्रेसको मत आएन भने जुम्लाबाट सत्ता गठबन्धनले विजयीको झण्डा फहराउने छैन ।
नेकपा एमालेका रतननाथ योगी र नेमकिपाका डिल्लीप्रसाद काप्ले सम्भावनाभन्दा बाहिर देखिन्छन् । उनीहरुको सैद्धान्तिकि मत प्राप्त गरेर चित्त बुझाउनुको विकल्प छैन । तर, सैद्धान्तिक मत नभए पनि व्यवहारिक मत ज्ञानेन्द्रको पोल्टामा पर्ने देखिएपछि सत्ता गठबन्धनतर्फ माओवादी केन्द्रकी उम्मेद्वार गोमा गौतम कुँवरका अगाडि चुनौतीको पहाड ठडिएको छ ।

























