गृहपृष्ठ ‘अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण किशाेरी पक्षले पेस गर्न सकेन’
‘अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण किशाेरी पक्षले पेस गर्न सकेन’
काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोगमा आजबाट थुनछेक बहस सुरु भएको छ । थुनछेक बहसको पहिलो दिन बुधबार काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिएको सन्दीप पक्षका वकील मुरारी सापकोटाले बताए।
उनले जबरजस्तीकरणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजनपक्षले पेस गर्न नसकेको बताए ।
उनले पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर नागरिकता वा जन्मदर्ता केलाई आधार मान्ने भन्नेबारेमा पनि वकालत गरेको बताए ।
उनले आफूहरुले पीडित भनिएकी किशोरीको उमेर जन्मदर्तालाई आधार मानेर वकालत गर्नुपर्नेमा जोड दिएको पनि बताए । नागरिकता जागिर खानलाई सहज बनाउनका लागि घटाएर बनाइने प्रचलन रहेकाले जन्मदर्तालाई नै आधार मान्नुपर्ने उनकाे जिकिर छ ।
उनले भने, ‘आज विशेष गरी प्रतिवादीको तर्फबाट काठमाडौं जिल्ला अदालत समक्ष हामीले दुई वटा विषयवस्तु जोडदार रुपमा उठायौँ । पहिलो कुरा जुन जबरजस्तीकरणीको वारदात भयो भनेर अभियोग आएको छ, त्यो अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजनपक्षले पेस गर्न सकेको अवस्था छैन भन्ने विषय हामीले उठायौँ । पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर कुनलाई मान्ने, जन्मदर्तालाई मान्ने वा नागरिकतामा भएको उमेरलाई मान्ने, किनभने नागरिकता पछि बनेको कागज भयो । जन्मदर्ता मौकामा बनेको कागज भयो । नागरिकता बनाउँदा पछि जागिर खानलाई सजिलो हुन्छ भनेर घटाएर बनाउने आम प्रचलन छ । त्यसले गर्दा हाम्रो जोड जन्मदर्तालाई नै आधार मान्नुपर्छ भन्ने जोड रह्यो ।’
बुधवारबाट शुरु भएको थुनछेक बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ ।
प्रकाशित समय : १९:५८ बजे


















