गृहपृष्ठ ७ अर्ब ९३ करोड रूपैयाँकाे विद्युत भारत निर्यात

७ अर्ब ९३ करोड रूपैयाँकाे विद्युत भारत निर्यात

७ अर्ब ९३ करोड रूपैयाँकाे विद्युत भारत निर्यात

भारतर्फको विद्युत निर्यात एक अर्ब युनिट नाघेको छ । मंगलबारसम्म भारतमा एक अर्ब ३० लाख युनिट विद्युत निर्यात भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘विद्युत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि अर्को कोशेढुंगा हो,’ उनले भने । निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा रहेको छ ।

सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठ ९ बाट ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले यस अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ९५ करोड ७६ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक-फरक हुने गरेको छ ।

प्रकाशित समय : १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु