गृहपृष्ठ कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

नारायणगढ ।पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण गरिएको नयाँ सडक ट्याकको आज सफल परीक्षण गरिएको छ ।

नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार नयाँ ट्याकको ग्रेडिङ सम्पन्न भएपछि पहिलो चरणमा खाली ग्यास बुलेट सञ्चालन गरेर परीक्षण गरिएको थियो । परीक्षण सफल भएपछि क्रमशः अन्य सवारीसाधन सञ्चालन गराइएको उहाँले जानकारी दिए । उनले निरन्तर काम गरेर आज नयाँ ट्याकबाट सवारीसाधन सञ्चालन गराउन सफल भएको बताए ।

कार्यस्थलमा खटिएका सहायक आवासीय इञ्जिनियर अशोक देवकोटाले सुरुमा खाली ग्यास बुलेट दुवैतर्फ पठाएर परीक्षण गरिएको र सफल भएपछि पालैपालो अन्य सवारीसाधन पास गराइएको जानकारी दिए। उनले भन्े “सुरुमा खाली ग्यास बुलेट पठायौँ । त्यो परीक्षण सफल भएपछि क्रमशः पालैपालो दुवैतर्फ सवारीसाधन पास गराएका हौँ ।” उनले नयाँ ट्याकबाट करिब ५० वटा सवारीसाधन सञ्चालन गराइसकिएको जानकारी दिए । उनका अनुसार आज परीक्षणका लागि मात्रै नयाँ ट्याकबाट सवारीसाधन सञ्चालन गरिएको हो । निरन्तर भित्ता काटेर निर्माण गरिएको नयाँ ट्याकको ग्रेडिङ सम्पन्न भएपछि परीक्षण गरिएको उनले बताए ।

इञ्जिनियर देवकोटाका अनुसार भोलिदेखि उक्त स्थानमा ग्राभेल बिछ्याउने काम सुरु गरिनेछ । त्यससँगै नाली निर्माण, पानी सोस्ने तथा तर्काउने व्यवस्था मिलाउने र सडकमाथि देखिएका चिरा पुर्ने काम पनि अघि बढाइनेछ । उनले थपे, “थप समस्या नआएमा तीन दिनभित्र यी काम सकाएर नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने लक्ष्य छ । ”

सूचना अधिकारी मिश्रका अनुसार नयाँ ट्याक करिब २५२ मिटर लामो छ । सडकको चौडाइ सात मिटर र नाली एक मिटर चौडा रहेको छ । पुरानो भासिएको सडक भएको स्थानबाट नयाँ ट्याक पाँचदेखि १० मिटरसम्मको उचाइमा छ । उनले भने “अहिलेसम्म कामका क्रममा थप समस्या देखिएको छैन । मौसमले साथ दिएमा र थप समस्या केही नआएमा तीन–चार दिनभित्र आवश्यक काम सम्पन्न गरेर नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना छ । ”

प्रकाशित समय : २१:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु