गृहपृष्ठ बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट दुई हजार ८६१ रोजगारी सिर्जना
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट दुई हजार ८६१ रोजगारी सिर्जना
काठमाडौं– बाँकेमा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्मबाट दुई हजार ८६१ नयाँ रोजगारी सिर्जना भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ६२७ उद्योग र ६२६ वाणिज्य फर्म दर्ता भएका छन्। ती उद्योग तथा फर्मबाट एक हजार ६८८ पुरुष र एक हजार १७३ महिलाले नयाँ रोजगारी पाएका छन् ।
यस अवधिमा ४३६ पुरुष र २३७ महिला गरी ६७३ जना नयाँ उद्यमीसमेत थपिएका छन् । गत आर्थिक वर्षमा ६२७ नयाँ उद्योग दर्ता भएसँगै बाँकेमा उद्योगको कुल सङ्ख्या १५ हजार ८०७ पुगेको छ । सो अवधिमा एक हजार १०१ उद्योग नवीकरण भएका छन् भने २६५ उद्योग खारेज भएका छन् ।
त्यस्तै, वाणिज्यतर्फ ६२६ नयाँ फर्म दर्ता भएसँगै कुल दर्ता सङ्ख्या २१ हजार ९८० पुगेको छ । एक हजार ६८८ फर्म नवीकरण हुँदा ३५६ फर्म खारेज भएका छन् । कार्यालयले व्यावसायिक नियमन तथा गुणस्तर कायम गर्न गत आर्थिक वर्षमा सात पटक बजार अनुगमन र ११ पटक उद्योग निरीक्षण गरेको जनाएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा कार्यालयका लागि तीन करोड तीन लाख ९२ हजार रुपैयाँ बजेट विनियोजन भएकामा दुई करोड २५ लाख १२ हजार ९५० रुपैयाँ खर्च भएको छ । कार्यालयको वित्तीय प्रगति ७४ दशमलव शून्य आठ प्रतिशत रहेको छ ।
यसैगरी, गत आर्थिक वर्षमा कार्यालयले एक करोड ६३ लाख सात हजार ७९५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने एक करोड ९७ लाख ३१ हजार ७८५ रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
कार्यालयका निमित्त प्रमुख उद्योग अधिकृत मोहन घर्तीमगरका अनुसार नयाँ उद्योग तथा वाणिज्य फर्म दर्तामा आएको सामान्य कमी, स्थानीय तहमा समेत दर्ता प्रक्रिया सुरु हुनु, प्रदेश सरकारबाट उपलब्ध छुट सुविधा तथा उद्योग र फर्म खारेजी बढ्नुका कारण राजस्व सङ्कलनमा कमी आएको हो ।
बाँकेमा नयाँ उद्योग तथा व्यवसाय थपिँदै जाँदा स्थानीयस्तरमै रोजगारी सिर्जना हुनुका साथै उद्यमशीलता प्रवर्द्धनमा समेत योगदान पुगेको कार्यालयले जनाएको छ ।
प्रकाशित समय : १५:४० बजे
















