नबिल बैंकद्वारा शाखारहित बैंकिङ सेवाको सुरुवात
वि.सं.२०७९ असोज १० सोमवार ११:५१
shares

नबिल बैंकले सुर्खेतको बराहताल गाँउपालिका वडा नम्बर २ स्थित रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि बराहताल गाँउपालिकाका अध्यक्ष भीम बहादुर भण्डारी तथा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रुपमा एकैसाथ शाखारहित बैंकिङ सेवाका प्रतिनिधि मनोज कुमार थापालाई बिएलबि मेसिन र प्रमाण पत्र हस्तान्तरण गरेर शाखारहित बैंकिङ सेवाको सुरुवात गरिएको हो ।
कार्यक्रममा भण्डारीले शाखारहित बैंकिङ सेवाको लागि धन्यवाद ज्ञापन गर्दै कुनै पनि क्षेत्रको विकासको लागि वित्तीय पहुँच मुख्य आधारशिला भएको र यसका लागि गाँउपालिका बैंकसँग हरदम हातेमालो गर्ने बताए । यस्तै बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले नबिल बैंकले बराहताल गाँउपालिकामा बैंकको पहिलो शाखारहित बैंकिङ सेवा सुरुवात गर्न पाउँदा आफू अत्यन्त खुसी भएको बताए । नबिल बैंक देशको हरेक ग्रामीण भेगमा वित्तीय पहुँच पुर्याउन हरदम तत्पर रहेको जानकारी दिए ।
नबिल बैंकको शाखारहित बैंकिङ सेवामार्फत् खाता खोल्न अनुरोध गर्न, खातामा नगद जम्मा तथा भुक्तानी गर्न, रकमान्तर गर्न, ग्राहकको खातामा रहेको रकमको सोधपुछ साथै कारोबारको संक्षिप्त विवरण हेर्न, विप्रेषण भुक्तानी गर्न, कर्जा रकम भुक्तानी गर्न तथा किस्ता रकम जम्मा गर्न साथै विभिन्न सेवाहरुको भुक्तानी गर्न सकिनेछ ।
बैंकले दिगो बैंकिङ कार्यक्रमअन्तर्गत देशका विभिन्न ठाउँहरुमा वित्तीय पहुँच पुर्याउने र डिजिटाइजेशनलाई बढावा दिने उद्देश्यले शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
























