सप्तकोशी नदी दुर्घटनाबारे छानबिन गर्न कोशी सरकारले बनायो समिति
वि.सं.२०८३ कात्तिक १० मंगलवार १८:४५
shares

विराटनगर । कोशी प्रदेश सरकारले सप्तकोशी नदीमा भएको पानीबोट दुर्घटनाको सत्यतथ्य अध्ययन तथा छानबिन गर्न प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गर्ने निर्णय गरेको हो ।
आइतबार दिउँसो भोजपुरबाट सुनसरीको वराहक्षेत्रस्थित चतरातर्फ आउँदै गर्दा अरुण र दूधकोशी दोभानमा दुर्घटनामा पर्दा तीन जनाको ज्यान गएको थियो भने तिन वेपत्ता भएका छन् ।
ज्यान गुमाउनेमा सुनसरीकी लिला राई र आर्या राई र भोजपुरका रत्नबहादुर नेपाली रहेका छन् ।
घटनाप्रति मन्त्रिपरिषद्ले दुःख व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पणका साथ शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हराइरहेका व्यक्तिको उद्धारका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवं कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिए ।
मन्त्री शेर्पाका अनुसार मन्त्रिपरिषद् बैठकले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णयसमेत गरेको छ ।
मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश समन्वयात्मक पर्यटकीय सेवा कक्ष तथा हटलाइन सञ्चालन निर्देशिका, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

























