अगम विकराललाई ‘वर्ष गीत पुरस्कार-२०७८’ सम्मान
वि.सं.२०७९ असोज ९ आइतवार १६:११
shares

गीतकार अगम विकराल ‘वर्ष गीत पुरस्कार-२०७८’बाट सम्मानित भएका छन् । उनलाई गीतकार संघ नेपालले ‘उज्यालाे त्यो मुस्कान‘ गीतका लागि साे पुरस्कार प्रदान गरेकाे हाे ।
शनिबार धनकुटाकाे भेडेटारमा सम्पन्न ‘दशाैं राष्ट्रिय स्रष्टा सम्मान’ कार्यक्रममा गीतकार विकराल नगद ५७ हजार रूपैयाँसहित सम्मानित भएका हुन् । साे पुरस्कार गीतकार विकराल र अर्का श्रष्टा एचके धिताललाई संयुक्त रूपमा प्रदान गरिएकाे गीतकार संघ नेपालले जनाएकाे छ । धितालकाे ‘धेरै चाेट खाएपछि’ उत्कृष्ट दशमा समावेश भएकाे थियाे ।
संगीत विषय लिएर अध्ययन गरेका खोटाङ, साकेला गाउँपालिकाका गीतकार विकराल एक दशकयता गीत लेखनमा क्रियाशील छन् । उनले करिब डेढ दर्जन गीत रेकर्डिङ गरिसकेका छन् । यसमध्ये केहीकाे भिडियाेसमेत सार्वजनिक भइसकेकाे छ । हाल दक्षिण कारियामा रहेका उनले पुरस्कार पाएपछि खुशी लागेकाे र हाैसला बढेकाे प्रतिक्रिया दिए । ‘ख्यालख्यालैमा गीत लेखनमा लागेँ । अहिले संघले पुरस्कृत गरेकाे छ । यसबाट थप जिम्मेवारीवाेध गरेकाे छु । गीत लेखनमै लागिरहन उर्जा मिलेकाे छ,’ न्युज काराेबारसँगकाे कुराकानीमा उनले भने । गत वर्ष पनि उनकाे गीत ‘एकान्त’मा यस कार्यक्रमकाे वर्ष गीत पुरस्कारका लागि उत्कृष्ट १० मा परेकाे थियाे ।

डा. नवी अधिकारी ‘टाकिन्द्र’काे ‘खाेजिरहेछ देशले’, भूपेन्द्र महतकाे ‘कस्ले सक्छ छल्न’, ध्रुव प्रसाद अम्गाईकाे ‘हार हाे तिम्राे’, सराेज अर्यालकाे ‘हे बादल’, सुन्दर पन्तकाे ‘जन्म मृत्यु’, डीआरकाे ‘नजाउ परदेश’, तारा अधिकारीकाे ‘हाँसी खुशी थियाै’ र रमेश अधिकारीकाे ‘जाेगाउ प्रकृति’ पनि यस वर्षका लागि उत्कृष्ट दशमा परेका थिए । यी सबै गीत २०७८ सालमा सार्वजनिक भएका हुन् ।
कार्यक्रममा एक लाख ५१ हजार नगदसहितकाे ‘अमर भावना गीतकार राष्ट्रिय श्रष्टा सम्मान’बाट शिवशंकर थापालाई सम्मान गरिएकाे संघका अध्यक्ष शुभ मुकारूङले जानकारी दिए । त्यस्तै, ‘मातृभाषा गीतकार सम्मान’ मानबहादुर दाेङले प्राप्त गरेका छन् । संघले उनलाई नगद २५ हजार २५२ सहित सम्मान गरेकाे हाे ।
यस वर्षकाे ‘डायस्पाेरा गीतकार सम्मान’ अमेरिकामा रहेकी गीता खत्रीले प्राप्त गरेकी छन् । उनी नगद १५ हजारसहित सम्मानित भएकी हुन् । संघका अध्यक्ष मुकारूङका अनुसार ‘वर्ष गीत पुस्तक पुरस्कार’बाट विरेन्द्र राई र टिका भट्टराई नेपालले प्राप्त गरेका छन् । राईले ‘रैछाकुले म’ र भट्टराईले ‘मनका रंगहरू’ कृतिका लागि ५७ हजार राशिकाे साे पुरस्कार गरेका हुन् । यस पुरस्कारका लागि विजय कट्टेल ‘छहरा’काे ‘देशकै माया लाग्छ’ पनि उत्कृष्ट तीनमा परेकाे थियाे ।
बर्सेनि आयोजना हुने ‘राष्ट्रिय स्रष्टा सम्मान’ कार्यक्रम गत वर्ष असाेजमा मोरङको विराट चोकमा सम्पन्न भएकाे थियाे । गत वर्ष अमर भावना गीतकार ‘राष्ट्रिय स्रष्टा सम्मान’बाट गीतकार विश्व वल्लभ, ‘डायस्पोरा गीतकार सम्मान’ सम्मानबाट गीतकार हरि उप्रेती ‘मातृभाषा गीतकार सम्मान’ गीतकार कृष्ण बहादुर गुरूङलाई प्रदान गरिएकाे थियाे ।
संस्थामा आवद्ध सदस्यहरूले वर्षभरी सार्वजनिक गरेका र संस्थामा विधिवत दर्ता हुन आएका गीत तथा पुस्तकमध्येबाट वर्ष गीत पुरस्कार र वर्ष गीत पुस्तक पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

























