global ime bank Long Banner Ad

गृहपृष्ठ फलफूलमा पनि परनिर्भर

फलफूलमा पनि परनिर्भर

फलफूलमा पनि परनिर्भर

नेपालमा एक महिनामा विदेशबाट १ अर्ब ३३ करोड ३७ लाख ९५ हजार रुपैयाँको विभिन्न फलफूल भित्रिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा विभिन्न देशबाट उक्त मूल्य बराबरको फलफूल नेपालमा भित्रिएको हो ।

उक्त अवधिमा विदेशबाट २ करोड ४६ लाख ८६ हजार ५७७ केजी विभिन्न फलफूल नेपालले आयात गरेको छ । गत साउन महिनामा नेपालले ६९ करोड ८७ लाख ३८ हजार रुपैयाँको स्याउ, ७ करोड ८६ लाख ३६ हजार रुपैयाँको केरा, ५ करोड ६४ लाख ३ हजार रुपैयाँको भुईंकटहर, १ करोड १५ लाख २८ हजार रुपैयाँको एभोकाडो, १८ करोड ५ लाख ६९ हजार रुपैयाँको आँप र अम्बा नेपालले आयात गरेको छ ।

सोही अवधिमा नेपालले विभिन्न देशबाट ८७ लाख ५५ हजार रुपैयाँको सुन्तला, ५ करोड २० लाख ८१ हजार रुपैयाँको खरबुजा, ३ करोड २७ लाख ७४ हजार रुपैयाँको मेवा, १० करोड २ लाख १ हजार रुपैयाँको अनार आयात गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको विभिन्न फलफूल विदेशबाट आयात गरेको थियो ।

घरकै स्याउले बजार नपाउने नियति

नेपालमा उत्पादन हुने स्याउले बजार नपाएर खेर गइरहँदा विदेशबाट भने एकै महिना करोडौं मूल्यको स्याउ नेपाल भित्रने गरेको छ । मनाङ, मुस्ताङ लगायतका जिल्लामा उत्पादन हुने स्याउ बजारसम्म पुर्‍याउन नसक्दा बोटमै कुहिने गरेको समाचार बारम्बार मिडियामा आउँछन् । ढुवानीको राम्रो व्यवस्था नहुँदा नेपाली स्याउले उपयुक्त बजार पाउन सकेको छैन ।

तर, विदेशबाट भने दैनिक दुई करोड रुपैयाँभन्दा बढीको स्याउ नेपाल आउने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा मात्र विभिन्न देशबाट नेपालमा ६९ करोड ८७ लाख ३८ हजार रुपैयाँको स्याउ भित्रिएको छ । सो मूल्यमा ९२ लाख १० हजार ८९९ केजी स्याउ साउन महिनामा नेपालले विभिन्न देशबाट आयात गरेको छ ।

नेपालमा स्याउ चीन र भारतबाट आउने गरेको छ । गत साउन महिनामा चीनबाट २६ करोड ३७ लाख ७८ हजार रुपैयाँ र भारतबाट ४३ लाख ४९ हजार ६० हजार रुपैयाँको स्याउ नेपाल भित्रिएको विभागले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले ७ अर्ब १५ करोड ८८ लाख ५४ हजार रुपैयाँको स्याउ आयात गरेको थियो ।

प्रकाशित समय : १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु