गृहपृष्ठ बारामा उद्योग लुट्न गएका डाँका र प्रहरीबीच गोली हानाहान, प्रहरी घाइते
बारामा उद्योग लुट्न गएका डाँका र प्रहरीबीच गोली हानाहान, प्रहरी घाइते
बारामा एक उद्योगमा लुटपाट गर्न गएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । डाँका समूहले एक राउण्ड फायर गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रहरी टोलीले उद्योगबाट दुई जना डाँकालाई पक्राउ गर्न सफल भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको बारा प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
‘मध्यरातमा डाँका समूहले उद्योगमा लुटपाट गर्न खोजेका थिए, समयमै प्रहरी पुगेर रोक्न सफल भएका छौं’ उनले भने, ‘दुई जना डाकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं ।’
घटनास्थलबाट प्रहरीले घरेलु बन्दुक तथा थान कटुवा पेस्तोल एकरएक थान र तीन राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेका दुई जना डाँकालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।
मध्यरातमा १२/१५ जनाको संख्यामा डाँका समूह लुटपाट गर्न उद्योग पसेका थिए । डाँका समूह उद्योगमा प्रवेश गरेको सूचना आएपछि प्रहरी टोली खटिएको थियो । इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) कलमबहादुर शाहीको कमान्डमा टोली खटिएको थियो ।
डाँका समूहले वरिष्ठ सई शाहीको टाउकोमा फलामको रडले प्रहार गर्दा उनी घाइते भएका छन् । शाहीको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : ०९:३९ बजे


















