काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चार दशकपछि पोखरामा जुट्दैछन् खेलाडी

9.41K
shares

– नारायणप्रसाद न्यौपाने

मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ सम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि २०४० चैत १२ देखि २० सम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो ।

प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणिन्द्र पौडेलका अनुसार प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र गैरआवासीय नेपाली संघ (एनआरएन)का खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला र तीन सय ७४ पुरुष खेलाडीको सहभागिता रहने छ ।

३६ खेल खेलाइने

नवौँ राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएको छ । यस्तै हयाण्डबल, जुडो, कुस्ती, फुटबल, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाकताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका छन् ।

प्रतियोगिता धेरैभन्दा धेरै खेलाडीबीच प्रतिस्पर्धा होस् भन्ने हेतुले खेलाडी तयार गर्न प्रत्येक प्रदेशलाई ४९ लाखका दरले रकम उपलब्ध गराएको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले जानकारी दिए । मन्त्रालयका अनुसार प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न गर्न गण्डकी प्रदेश सरकारले हरतवरले सहयोग पुर्‍याउने ऐक्यबद्धतासहित प्रतिबद्धता जनाइसकेको छ । प्रतियोगिताअन्तर्गत १८ विधाका खेल पोखरामा हुनेछन् भने केही खेल गण्डकी प्रदेश मातहतका अरु जिल्लामा सञ्चालन गरिनेछन् । खेलाडी, प्रशिक्षक, आयोजक समिति, निर्णायक मण्डलसहित करिब १२ हजार पाँच सय जना प्रत्यक्ष सहभागी हुने उक्त प्रतियोगिता खेल उत्सवका रूपमा रहने रेग्मी बताउँछन् ।

दश लाख रुपैयाँकोे ‘रनिङ ट्रफी’

राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ सुरुआतका रूपमा यसपटकदेखि सुन र चाँदीजडित करिब  १० लाख लागतमा तयार गरिने ‘रनिङ ट्रफी’को व्यवस्था गरिएको छ । तीनपटक लगातार प्रतियोगिता जित्ने टोलीलाई उक्त ट्रफी प्रदान गरिनेछ । विश्वका अन्य मुलुकमा पनि यस्तो अभ्यास रहेको सचिव रेग्मीले बताए । प्रतियोगिताअन्तर्गत व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक जित्नेलाई २५ हजार तथा सामूहिकतर्फका स्वर्ण पदकधारीलाई १५ हजार नगद पुरस्कार प्रदान गरिने सचिव रेग्मी बताउँछन् ।

साठी करोड खर्च हुने अनुमान

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र छ सय कास्य पदक यसअघि नै तय भइसकेको छ । प्रतियोगिताका सिलसिलामा चार सय आठ प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताका लागि लोगो, मस्कट र नारा छनोट भइसकेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ६० करोड बजेटको सुनिश्चिता भएको छ ।

प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने निर्देशिका स्वीकृत, मूल आयोजक समिति र अरु १३ विषयगत उपसमिति गठन तथा कार्यकारी समितिको सचिवालय स्थापनाको काम यसअघि नै सम्पन्न भइसकेको सचिव रेग्मीले बताए । प्रतियोगिताका सन्दर्भमा खेल सामग्री, पोशाक, किट ब्यागलगायत खरिदका लागि लागत अनुमान कमिटी गठनमात्र होइन, खरिदका लागि बोलपत्र आह्वान पनि भइसकेको छ । प्रचार-प्रसारको काम पनि यसअघि नै प्रारम्भ गरिसकिएको छ । अहिले खेलस्थलको अनुगमन र निरीक्षण गरी अन्तिम टुंगाे लगाउने कार्य भइरहेको छ ।

राष्ट्रिय ट्रफी, विजेता ट्रफी र मेडलको नमूना तयार गरी खरिद प्रक्रियासमेत अघि बढिसकेको आयोजक समितिले जानकारी दिएको छ । नेपालको साहसिक खेलका रूपमा ठूलो सम्भावना बोकेको क्यानोइङ तथा नेपालको परम्परागत छेलोलाई प्रदर्शनी खेलका रूपमा राखिएको छ । ‘स्वास्थ्यका लागि खेल’ भन्ने नारालाई सार्थकता प्रदान गर्न यस्ता राष्ट्रिय प्रतियोगिताले थप हौसला प्रदान गर्ने सचिव रेग्मीले बताए ।

निजी क्षेत्रका तर्फबाट पनि प्रतियोगितामा योगदान होस् भन्ने उद्देश्यले प्रायोजकका रूपमा समावेश गर्ने तयारी भइरहेको युुवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले बताए । उनले भने, ‘पोखरामा प्रतियोगिता आयोजना गर्ने सन्दर्भमा प्रदेश सरकार र स्थानीय सरकार अत्यन्तै उत्साहित छन् । बजेटको सुनिश्चिता भइसकेको छ ।’

सहभागिता, समन्वय र सहजीकरण गर्न आह्वान

प्रतियोगितालाई सफल तुल्याउने सिलसिलामा सहभागिता, समन्वय र सहजीकरणका लागि आयोजक समितिले सातै प्रदेश सरकारलाई पत्रचार गरिसकेको छ । सातै प्रदेशका मुख्यमन्त्री, खेलकुद मन्त्रालका पदाधिकारी र प्रमुख सचिवलाई भेटेर अधिकभन्दा अधिक खेलाडी सहभागी गराई खेलक्षेत्रको प्रतिस्पर्धाको स्तरवृद्धिमा सहयोग पुर्‍याउन अनुरोध गरिने सचिव रेग्मीले बताए । प्रतियोगिताअन्तर्गत अधिकांश खेलमा महिला र पुरुषको समान सहभागिता रहनेछ ।

विगतमा संघीय संरचनाको ढाँचामा हुँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता यसपटक भने प्रादेशिक संरचनामा पहिलोपटक हुन लागेको सचिव रेग्मी बताउँछन् । यसपटक गण्डकी प्रदेश खेलकुद परिषद्लाई सह-आयोजकका रूपमा अघि सारिएको छ । सातै प्रदेशका खेलकुदमन्त्री रहने गरी समन्वय समिति गठन गरिएको छ ।

कोरोना संक्रमण, पर्यटक आगमनको याम (सिजन) तथा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा प्रतियोगिता हुन लागेकाले खेलाडी व्यवस्थापन लगायतमा केही चुनौती आउनसक्ने पूर्वानुमान गरी पर्याप्त होसियारी अपनाइएको आयोजक समितिले जनाएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहास

पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ भदौ २७ देखि असोज ४ गतेसम्म काठमाडौँमा भएको थियो । उक्त प्रतियोगितामा बागमती अञ्चल विजयी भएको थियो । उक्त प्रतियोगितामा दुई सय २३ महिलासहित एक हजार चार सय ४३ खेलाडीले १६ खेलमा दुई सय २६ पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

२०४० साल चैत १२ देखि २० गतेसम्म पोखरामा आयोजना भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा १९ खेल विधामा तीन सय ७० पदकका लागि पाँच सय ३९ महिलासहित दुई हजार ५७ खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । २०४२ साल फागुन २३ देखि चैत १ गतेसम्म वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा सात सय ३८ महिलासहित दुई हजार सात सय ७५ खेलाडी २१ खेल विधामार्फत तीन सय ७० पदका लागि प्रतिस्पर्धा गरेको इतिहास छ ।

बाँकेको नेपालगञ्जमा २०५५ चैत ८ देखि १४ गतेसम्म पाँच विकास क्षेत्र, नेपाली सेना र नेपाल प्रहरीको टोलीले १२ खेल विधामार्फत चार सय ६९ पदकका लागि प्रतिस्पर्धा गरेकामा मध्यमाञ्चल विजयी भएको थियो । उक्त चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा एक हजार छ सय ६२ खेलाडीबीच पदकका लागि भिडन्त भएको थियो ।

काठमाडौँमा २०६५ चैत २४ देखि ३० गतेसम्म भएको पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र तत्कालिन जनमुक्ति सेनाबीच प्रतिस्पर्धा भएकामा मध्यमाञ्चल विजयी भएको थियो । प्रतियोगितामा छ सय ४६ पदक र १३ खेल विधा कायम गरिएको थियो ।

यस्तै सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र डडेल्धुरामा २०६८ चैत २४ देखि २८ गतेसम्म भएको छैटौँ राष्ट्रिय प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, त्रिभुवन विश्वविद्यालय र तत्कालीन जनमुक्ति सेनाका एक हजार तीन सय ९४ महिलासहित तीन हजार छ सय २८ खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा मध्यमाञ्चल विजयी भयो । प्रतियोगितामा ३६ खेल विधा र एक हजार तीन सय ८६ पदक कायम गरिएको युवा तथा खेलकुद मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी पूर्वाञ्चल विकास क्षेत्रको झापा, मोरङ, सुनसरीलगायत जिल्लामा २०७३ पुस ८ देखि १५ गतेसम्म भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३१ खेल विधाका लागि नौ सय दुई पदक कायम गरिएको थियो । प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टिमका एक हजार छ सय ६९ महिलासहित तीन हजार नौ सय ७२ खेलाडीबीच प्रतिस्पर्धा भएको हो ।

आठाैं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ वैशाख ५ देखि ११ गतेसम्म बाँके, बर्दिया, दाङलगायत जिल्लामा सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा दुई हजार चार सय नौ महिला खेलाडीसहित पाँच हजार तीन सय पाँच खेलाडीले ३५ खेल विधामार्फत एक हजार एक सय ५८ पदकका लागि प्रतिस्पर्धा गरेका थिए । घुम्न अत्यन्तै अनुकूल मौसम र वातावरणमा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धन गर्न थप योगदान पुर्‍याउने विश्वास गरिएको छ ।