गृहपृष्ठ बालेनले प्रचण्डमाथि उठाएको नैतिकताको प्रश्न : ठेकेदारको अंगरक्षक भएर बस्नेले देश बनाउँछु भन्ने ?
बालेनले प्रचण्डमाथि उठाएको नैतिकताको प्रश्न : ठेकेदारको अंगरक्षक भएर बस्नेले देश बनाउँछु भन्ने ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि काठमाडौंका मेयर गम्भीर नैतिकताको प्रश्न उठाएका छन् । काठमाडौंको फोहोर व्यवस्थापनलाई असफल बनाउन ‘राजनीतिक खेल भइरहेको’ टिप्पणी गर्दै आएका मेयर बालेन शाहले मंगलबार सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नामै किटेर फोहोर व्यवस्थापन हुन नसक्नुको एउटा समस्या उजागर गरेका छन् ।
काठमाडौं उपत्यकामा वर्षौंदेखि फोहोरको समस्या बल्झिनुमा सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दाको आन्दोलन मात्र कारण होइन । अर्को प्रमुख कारण फोहोर ओसार्न प्रयोग हुने बाटो समयमा नबन्नु र मर्मतसम्भार नहुनु पनि हो । बालाजु-रानीपौवाको सडक आठ वर्षदेखि बन्न नसक्नुले फोहोर ढुवानीमा समस्या उत्पन्न हुँदै आएको छ । र यो बाटोको जिम्मा तिनै ठेकेदारको हो, जसको घरमा प्रचण्ड बस्दै आएका छन् ।
यही समस्यामाथि टिप्पणी गर्दै मेयर शाहले मंगलबार आफ्नो आधिकारिक फेसबुक र ट्विटरमा लेखेका छन्, ‘श्रीमान प्रचण्डज्यू! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षकजस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर।’
बालेन शाहले भनेको बाटो बालाजु–रानीपौवा सडक खण्ड हो । यो सडकको ठेक्का प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले पाएको थियो ।
यो कम्पनी समयमा काम नगर्ने सरकारी सूचीमा पर्छ। यसले ठेक्का लिएका अधिकांश सडक समयमा बन्न सकेका छैनन् । त्यसैमध्ये ककनीको सडक पनि एक हो।
शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको आठ वर्षदेखि यो सडक नबन्नुले काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या उत्पन्न हुँदै आएको छ। मेयर शाहले यसैतर्फ इंगित गर्दै प्रचण्डको नामै किटेर सामाजिक सञ्जालमा कटाक्ष गरेका हुन् श्र
ठेकेदार अधिकारीले लामो समयदेखि प्रचण्डलाई आफ्नो घर भाडामा दिएका छन् । सहरमा उनको परिचय नै ‘प्रचण्डको घरबेटी’ बनेको छ । मेयर शाहले यसैलाई कटाक्ष गर्दै प्रचण्डलाई समयमा काम पूरा नगर्ने ठेकेदारको घरमा ‘अंगरक्षक’ बसेको भनेका छन् । किनकि प्रचण्डकै कारण समयमा काम नसक्ने सरकारी सूचीमा परेका ठेकेदार अधिकारीले उन्मुक्ति पाउँदै आएको आरोप पनि लाग्दै आएको छ ।
उनले सामाजिक सञ्जालमा उक्त बाटोको भिडिओ क्लिप राखेका छन् जसमा त्यहाँको जीर्ण र हिलाम्मे अवस्था देखिन्छ । उक्त बाटोमा सवारी साधन गुड्न सम्भव छैन ।
श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर । pic.twitter.com/cLz6u9eZ5J
— Balen Shah (@ShahBalen) August 16, 2022
प्रकाशित समय : ०८:१२ बजे


















