अजरबैजान-अर्मेनिया युद्धविराम : राष्ट्रसंघीय महासचिवद्वारा स्वागत
वि.सं.२०७७ असोज २५ आइतवार १९:२९
shares

अजरबैजान र अर्मेनियाबीच शनिबार भएको युद्धबिरामको संयुक्त राष्ट्रंघीय महासचिव एन्टोनियो गुटर्रेसले स्वागत गरेका छन् । महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको हो ।
शनिबार यी दुई देशबीच युद्धबिरामको सम्झौता भएको थियो । रुसी विदेश मन्त्रीको रोहबरमा शनिबारदेखि युद्धबिराम लागू हुने गरी दुई देशले सहमति गरेका थिए । यी दुई देशलाई युद्धबिराम गरेर वार्ताको टेबलमा बसी बाँकी सहमतिका काम गर्नका लागि महासचिव गुटर्रेसले विगत लामो समयदेखि आग्रह गर्दै आएका थिए ।
रुसको राजधानी मस्कोमा यी दुई देशबीच वार्ता भएको र उक्त वार्तापछि युद्धबिरामको सहमति भएको थियो । यस युद्धबिरामका लागि रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले मध्यस्थता गरेको बताइएको थियो । यो युद्धविरामसँगै हालैका दिनमा त्यहाँ जारी रहेको समस्याको समाधानका लागि पनि अब दुई मुलुकले ठोस वार्ता गर्ने भएका रुसले बताएको छ । यस युद्धबिरामका लागि रुसले गरेको पहलको पनि उनले स्वागत गरेका छन् । उनले यस्तो प्रयासपछि अबका दिनमा यी दुई देश वार्ताको टेबलमा बसेर समस्याको समाधान गर्ने अपेक्षा गरिएको पनि बताएका छन् ।
यी दुई देशका बीचमा दशकौँदेखि भूमिसम्बन्धी विवाद रहिआएको र पछिल्लोसमय सेप्टेम्बर २७ मा युद्ध भड्किएपछि आपसमा आक्रमण सुरु भएको थियो । हिमाली क्षेत्र नोगोर्नो काराबाखलाई लिएर पछिल्लोसमय आपसमा हमला भइरहेको छ । यस युद्धमा परेर करिब ४ सय जनाले ज्यान गुमाएका पनि पछिल्लो प्राप्त समाचारमा जनाइएको छ ।
विवादास्पद नागोर्नो काराबाख क्षेत्र अजरबैजानको भूमि हो । तर त्यो क्षेत्र लामो समयदेखि नै अर्मेनियाको जातीय समुहको नियन्त्रणमा रही आएको छ । (रासस)

























