गृहपृष्ठ ‘रेस्लिङ च्याम्पियनसीप’को उपाधि नुवाकोटे टाइगरलाई
‘रेस्लिङ च्याम्पियनसीप’को उपाधि नुवाकोटे टाइगरलाई
मदन भण्डारीको ७१औँ जयन्तीका अवसरमा कमल गाउँपालिकामा आयोजना गरिएको चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसीपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । उपाधिसँगै उनले एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा केरखामा शनिबार आयोजित खेलमा टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराउँदै उपाधि हात पारेका हुन् । नेपाल रिङ रेस्लिङ संघले संयोजन गरेको प्रतियोगिता १ नं प्रदेशमा पहिलोपटक आयोजना गरिएको हो । प्रतियोगिताको हार्ड कोरतर्फको उपाधि डेविडले जिते ।
उनले उपाधिसहित नगद एक लाख प्राप्त गरे । डेविडले चट्टानलाई हराउँदै उपाधि जितेका हुन् । ट्याग टिम म्याचमा टुप्पी ग्याङ संयुक्तरूपमा विजेता बनेका छन् । उपाधिसहित दुवैले ७५ हजार प्राप्त गरेको आयोजक कमिटीले जनाएको छ । उनीहरुले स्पाइडरम्यानको जोडीलाई हराएका थिए ।
मिडल वेट म्याचको च्याम्पियन साइन बने । उनले बाकालाई हराउँदै उपाधिसहित ९५ हजार प्राप्त गरे ।
महिला म्याचको विजेता आकृति बनिन् । उनले ७० हजार जितेकी छन् । आकृतिले तनुलाई हराएकी थिइन् । लाइट वेट म्याचतर्फ सुजल रिलामी विजेतासँगै ६० हजार प्राप्त गरे । प्रतियोगिताका विजेतालाई एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, पूर्वकानुनमन्त्री अग्नि खरेल, नेकपा (एमाले)का नेता देवराज घिमिरे, सांसद एलपी साँवा, एकेडेमीका महासचिव पुरेन्द्रविक्रम लाखे, संघका महासचिव सुवर्ण श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रकाशित समय : १३:२९ बजे



















