global ime bank Long Banner Ad

गृहपृष्ठ बाढी प्रभावित समुदायका लागि मेटलाइफ फाउन्डेसनको १ लाख २० हजार डलर सहयोग

बाढी प्रभावित समुदायका लागि मेटलाइफ फाउन्डेसनको १ लाख २० हजार डलर सहयोग

बाढी प्रभावित समुदायका लागि मेटलाइफ फाउन्डेसनको १ लाख २० हजार डलर सहयोग

काठमाडौं। मेटलाइफ फाउन्डेसनले बर्दियाको राजापुर नगरपालिकामा बाढीको जोखिममा रहेका समुदायको संरक्षण, पारिस्थितिक प्रणाली पुनर्स्थापना तथा दिगो जीविकोपार्जन प्रवर्द्धन गर्न डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराएको छ।

‘जीवन’ नाम दिइएको एकवर्षे परियोजनामार्फत तल्लो कर्णाली नदी बेसिन क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत सोनाहा र थारू समुदायलाई लक्षित गरिने जनाइएको छ। यस क्षेत्रका बासिन्दा बर्सेनि बाढी, नदी कटान र माछा स्रोतमा आएको कमीका कारण जीविकोपार्जन तथा खाद्य सुरक्षाको जोखिममा पर्दै आएका छन्।

परियोजनाले करिब १४० न्यून आय भएका घरपरिवारको जलवायु उत्थानशीलता बढाउनुका साथै आयआर्जनका अवसर विस्तार गर्ने लक्ष्य राखेको छ। यसअन्तर्गत बाढीको जोखिम न्यूनीकरणका लागि जैविक तटबन्ध (बायो–डाइक), हरित पट्टी निर्माण, खोल्सा पुनर्स्थापना तथा अन्य प्रकृतिमा आधारित उपायहरू अवलम्बन गरिनेछ।

डब्लूडब्लूएफ नेपालका अनुसार परियोजनाले पारिस्थितिक प्रणाली पुनर्स्थापनासँगै होमस्टेमा आधारित पर्यापर्यटन, पशुपालन, कुखुरापालन तथा बजार पहुँच विस्तारमार्फत समुदायको वैकल्पिक जीविकोपार्जनलाई पनि प्रोत्साहन गर्नेछ। मेटलाइफका कर्मचारीले स्वयंसेवकका रूपमा वित्तीय साक्षरता, बजेट व्यवस्थापन तथा साना व्यवसाय सञ्चालनसम्बन्धी तालिममा समेत सहयोग गर्नेछन्।

परियोजनाले घट्दो माछा स्रोतमा स्थानीय समुदायको निर्भरता कम गर्दै कर्णाली नदीको जैविक विविधता संरक्षणमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। नदी डल्फिन र घडियालजस्ता संकटापन्न प्रजातिको संरक्षण पनि यसको प्राथमिकतामा रहने जनाइएको छ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले जोखिम व्यवस्थापनमा पूर्वतयारी र रोकथामलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै डब्लूडब्लूएफ नेपालसँगको सहकार्यले कर्णालीका बाढी प्रभावित समुदायलाई सुरक्षित र उत्थानशील बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

डब्लूडब्लूएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले राजापुर क्षेत्रमा यसअघि समुदायसँग मिलेर नदीजन्य जैविक विविधता संरक्षणका कार्यक्रम सञ्चालन गरिएको स्मरण गर्दै नयाँ परियोजनाले बाढी जोखिम न्यूनीकरणसँगै पर्यापर्यटन, पशुपालन र बजार पहुँचमार्फत समुदायका लागि नयाँ आर्थिक अवसर सिर्जना गर्ने बताए।

सन् १९९३ देखि नेपालमा संरक्षणका क्षेत्रमा सक्रिय डब्लूडब्लूएफ नेपालले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन, वन तथा दिगो जीविकोपार्जनका क्षेत्रमा सरकारी निकाय, स्थानीय समुदाय र विकास साझेदारसँग सहकार्य गर्दै आएको छ। सन् १९७६ मा स्थापना भएको मेटलाइफ फाउन्डेसनले आर्थिक सशक्तीकरण, वित्तीय स्वास्थ्य र उत्थानशील समुदाय निर्माणमा केन्द्रित कार्यक्रममार्फत विश्वभर एक अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकेको जनाएको छ।

प्रकाशित समय : १७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु