गृहपृष्ठ प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई आज गरेको सम्बोधनमा जलवायु परिवर्तनबाट बढ्दो जोखिमलाई विश्व समुदाय समक्ष गहकिलो ढङ्गले प्रस्तुत गरेको परराष्ट्र मामिलाका विज्ञहरूको प्रतिक्रिया छ।
प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली विपद्लाई नेपालमा मात्र सीमित घटना नभई विश्वका लागि जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्नुले नेपालले भोगेको तत्कालको समस्या उजागर गर्न सफल भएको उनीहरूको भनाइ छ।
प्रधानमन्त्री शाहले नेपालले भोगिरहेको असरलाई ‘हिमाली सुनामी’का रूपमा चिह्न थालिएको विषय पनि उठाएका थिए। गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीका कारण नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको विषय महासभामा ‘इमिडियट रिफ्लेक्ट’ भएकाले समग्रमा प्रधानमन्त्री शाहको सम्बोधन सकारात्मक रहेको पूर्व परराष्ट्रमन्त्री एवं कूटनीतिज्ञहरूको टिप्पणी छ।
पूर्व परराष्ट्रमन्त्री एनपी साउदले जलवायु परिवर्तनको जोखिमका बारेमा प्रधानमन्त्री शाहले विश्व मञ्चमा उठाएको विषय सान्दर्भिक र प्रभावकारी भएको प्रतिक्रिया दिए। उनले विश्वव्यापी तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) र जलवायु परिवर्तनका असरका बारेमा कुनै एक देशको प्रयत्नले मात्र समाधान सम्भव नहुने भएकाले सामूहिक प्रयासको आवश्यकतामा प्रधानमन्त्री शाहले जोड दिएको विषय महत्वपूर्ण भएको बताए।
“हामी सरकारमा हुँदा, खासगरी म परराष्ट्रमन्त्री हुँदा, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण भएको समयमा हामीले उहाँलाई जलवायुको प्रत्यक्ष असर देखिएका सगरमाथा र अन्नपूर्ण क्षेत्रमा अवलोकन गराएका थियौं”, पूर्वमन्त्री साउदले भने, “महासचिव गुटेरेसले जलवायु परिवर्तनको विषय कुनै एक देशको मात्रै चासो र चिन्ताको विषय नभई विश्वको साझा सवाल भएको त्यसबेलै ध्यानाकर्षण गराउनु भएको थियो। ती सवालहरू आज झन् सान्दर्भिक देखिएका छन्। प्रधानमन्त्री शाहको सम्बोधनमा यसलाई थप बल पुगेको छ।”
विश्व व्यवस्थामा गरिबी निवारण र शान्ति कायम गर्ने सन्दर्भमा राष्ट्रसंघको भूमिका अझ प्रभावकारी हुनुपर्ने उल्लेख हुनु पनि सकारात्मक भएको पूर्वमन्त्री साउदको भनाइ छ। पूर्वमन्त्री साउदले सम्बोधनका अन्तिममा प्रधानमन्त्री शाहले उल्लेख गरेको ‘पशुपतिनाथले विश्वको रक्षा गरून् र बुद्धको सन्देशमा विश्व हिँडोस्’ भन्ने सन्दर्भलाई मुलुकको सांस्कृतिक र आध्यात्मिक विषयसँग जोडेर सकारात्मक रूपमा हेर्न सकिने विचार व्यक्त गरे।
त्रिभुवन विश्वविद्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका पूर्व प्रमुख प्रा. डा. खड्गबहादुर केसीले प्रधानमन्त्री शाहले आज गरेको सम्बोधनले भोटेकोशी–त्रिशूली बाढी तथा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई विश्वमञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए। प्रधानमन्त्री शाहले महासभामा नेपालमा हालै आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोड्दै जलवायु न्याय, अन्तर्राष्ट्रिय सहकार्य र विपद् प्रतिरोधी क्षमता निर्माणमा जोड दिएका थिए। उनले नेपाल, भारत र चीनको नेतृत्वमा हिमाली जलवायु प्रतिरोधी संयन्त्र स्थापना गर्न प्रस्ताव समेत गरेका थिए।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष समेत रहेका प्रा. डा. केसीका अनुसार सम्बोधनमा भोटेकोशी बाढी र जलवायु परिवर्तनको मारमा नेपाल परेको विषयमा तत्कालीन अवस्थाको प्रत्यक्ष अनुभूति र मानवीय दृष्टिकोण विश्व समुदाय समक्ष प्रस्तुत भएको छ। जलवायु अनुकूलनका लागि नेपाल, भारत र चीनबीच त्रिपक्षीय संयन्त्र निर्माण तथा बहुपक्षीय विश्व सहकार्यको प्रस्ताव आउनु महत्वपूर्ण रहेको उनको भनाइ छ।
“आधारभूत तहका मानिसका लागि पनि विश्व व्यवस्था र प्रणाली परिचालित हुनुपर्छ भन्ने सन्देश पनि सम्बोधनमा आएको छ”, प्रा. डा. केसीले भने, “विश्व मञ्चमा नेपालको गहकिलो उपस्थिति भएको छ। बहुपक्षीयताप्रति हाम्रो पुरानै प्रतिबद्धता हो, त्यसलाई अझ गहकिलो प्रतिबद्धता व्यक्त भएको छ।”
उनले प्रधानमन्त्री शाहको सम्बोधनले ‘साउथ’ र ‘ग्लोबल नर्थ’ बीचको सहकार्य तथा विकासशील र कमजोर मुलुकका आवाजलाई समेत विश्वमञ्चमा पुर्याएको बताए। जलवायु परिवर्तनको असर नेपाल जस्ता मुलुकले भोग्नुमा ऐतिहासिक रूपमा बढी कार्बन उत्सर्जन गर्ने धनी तथा विकसित मुलुकको जिम्मेवारी समेत रहेको विषय सम्बोधनमा स्पष्ट रूपमा उठाइएको उनको विश्लेषण छ।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा जोखिम बढिरहेको, यसबाट हिमपहिरो, बाढी, पहिरोलगायतका विपद् बढ्न सक्ने र यसको असर सीमापारसम्म पर्ने उल्लेख गरेका थिए। उनले जलवायु वित्त, क्षति तथा नोक्सानीका लागि उपलब्ध कोष र अन्य वित्तीय संयन्त्रलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए।
यद्यपि, प्रधानमन्त्री शाहको सम्बोधनमा प्रयोग भएको ‘योङ नेसन्स’ भन्ने शब्दावली भने सान्दर्भिक नभएको प्रा. डा. केसीले बताए। “हामी त विश्वमै पुरानो सभ्यता भएको मुलुक हौं”, उनले भने।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दा आराध्यदेव पशुपतिनाथ र शान्तिका अग्रदूत बुद्धलाई स्मरण गर्नुले विश्व शान्तिको सन्देश प्रवाह भएको पनि ठानिएको छ।
परराष्ट्रविद् डा. दिनेश भट्टराईले ‘ओभरअल’ हेर्दा सम्बोधन ठीकै रहेको र प्रस्तुत गर्नुपर्ने कुराहरू प्रस्तुत गरिएको बताए। केही अवधारणामा थप स्पष्ट पारिएको भए अझ राम्रो हुने उनको धारणा छ।
समग्रमा नेपालको समसामयिक ‘इस्यु’हरू सान्दर्भिक रूपमा उठाइएको र ‘हिमालयन रेजिलियन्स मेकानिजम’का लागि नेपाल, भारत र चीनको नेतृत्वमा प्रस्ताव हुनु सकारात्मक रहेको डा. भट्टराईले बताए। यसलाई अलिकति थप स्पष्ट पारिएको भए अझ राम्रो हुने उनको धारणा छ।
डा. भट्टराईले जलवायुको कुरा राम्रोसँग आएको उल्लेख गर्दै भने, “किसानको खेतमा मल पुग्दैन, तर मिसाइलहरू चाहिँ विश्वमा द्रुत गतिमा पुगिरहेका हुन्छन्” भन्ने उदाहरण प्रभावकारी छ। त्यसैमार्फत जलवायु न्यायका लागि प्रक्रिया मात्र नभई सरलीकरण हुनुपर्छ भन्ने कुरालाई राम्रोसँग उठाइएको उनको विचार छ।
“हामीले निरन्तर विगतलाई हेर्नुपरेको छ, विगतका समस्याहरूलाई सम्बोधन गर्नुपरेको छ र त्यसै कारण भविष्यतर्फ त्यति हेर्न पाएका छैनौं भन्ने प्रश्न पनि राम्रोसँग उठाउनु भएको छ”, डा. भट्टराईले भने, “संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि नेपालमा गरेको सम्बोधनका कुराहरू स्मरण गराउनु भएको छ। त्यो राम्रो प्रयास हो। ‘हिमालयन सुनामी’ भन्ने कुरा पनि ठीकै छ।”
उनले दिगो विकास लक्ष्यतर्फ सबैलाई अगाडि बढाइरहेको भन्ने सन्दर्भ पनि सम्बोधनमा आएको उल्लेख गर्दै भविष्यका विषयमा पनि नेपालका तर्फबाट उठाउनु पर्ने अधिकांश समसामयिक विषयहरू समेटिएका बताए।
यसअघि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रहिसकेका डा. भट्टराईले विशेषगरी जलवायुको विषयमा यसले ‘मोमेन्टम गेन’ गर्न सके राम्रो हुने र संयुक्त राष्ट्रसंघमा कुरा राख्नु नै अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो कुरा सुनाउने अवसर भएको बताए।
उनले सबैको राष्ट्रियता आवश्यक छ, नियममा आधारित अन्तर्राष्ट्रिय प्रणाली आवश्यक छ र सार्वभौमिकताको सम्मान हुनुपर्छ भन्ने कुरा पनि उठाइनु महत्वपूर्ण भएको बताए।
सम्बोधनका अन्तिममा प्रधानमन्त्री शाहले उल्लेख गरेको ‘पशुपतिनाथले विश्वको रक्षा गरून् र बुद्धको सन्देशमा विश्व हिँडोस्’ भन्ने सन्दर्भलाई डा. भट्टराईले निकै आकर्षक भन्दै प्रशंसा गरे। डा. भट्टराईले पनि ‘योङ नेसन’ भनिएको सम्बन्धमा जनसंख्याको आकार र अहिलेको युवा सरकारलाई आधार बनाएर ‘यङ नेसन’ भनिएको हुनसक्ने टिप्पणी गरे।
यसैगरी, प्रधानमन्त्रीको सम्बोधनबारे राससलाई प्रतिक्रिया दिँदै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ भारती सिलवालले सम्बोधन अत्यन्त प्रभावशाली रहेको टिप्पणी गरिन्।
“यो विश्वका लागि एउटा गम्भीर चेतावनीको घण्टी हो-यस्तो विश्वका लागि, जुन युद्धमा अल्झिएको छ, जसले वातावरणको विनाशलाई अझ बढाइरहेको छ र शान्तिको कुनै वास्ता नगरी टुक्राटुक्रा गर्दै भू–भाग कब्जा गर्ने प्रवृत्तिलाई प्रश्रय दिइरहेको छ”, भन्ने प्रधानमन्त्री शाहको सन्देश निकै चोटिलो रहेको सिलवालले बताइन्।
उनले “म आशा गर्छु, विश्व मञ्चका नेताहरूले केवल सुन्ने मात्र होइन, मनन गरी त्यसबाट पाठ सिक्ने र आवश्यक कदम चाल्ने तथा पर्यावरणले कुनै भौगोलिक वा राजनीतिक सीमा चिन्दैन। जब यति भयावह र विशाल प्रकृतिका विपद्हरू आइपर्छन्, त्यसको असर नेपालमा मात्र सीमित हुँदैन–सम्पूर्ण मानवतामाथि पर्छ” जस्ता वाक्यहरूले विश्व समुदायको ध्यान नेपालतर्फ खिच्न समर्थ रहेको बताइन्।
प्रकाशित समय : १७:३५ बजे


















