गृहपृष्ठ बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

भक्तपुर । भक्तपुरको बोडे र काठमाडौंको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि यातायातका साधनलाई आवतजावतमा रोक लगाइएको छ ।

निरन्तर परेको वर्षाको कारण मनोहरा खोलामा आएको बाढीबाट सडकको जमिन भासिएर मनोहरा पुल जोखिममा परेपछि यातायात आवागमनमा रोक लगाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले जानकारी दिए।

बाढीको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी खड्का, जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी उपरीक्षक सूर्यबहादुर खड्कालगायतको टोलीले हुनमन्ते खोला, मनोहरा खोलामा बहाव बढेपछि अनुगमन गरेको थियो ।

अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोला, खस्याङ खुसुङ खोला, गोदावरी खोलाको सतह बढेपछि डेकोचा, पिखेल हुँदै चाँगुनारायणतर्फ जाने सडकबाटै खोला बगेपछि आवागमनमा समस्या आएको छ ।

त्यसैगरी बालकोट, कौशलटार, लोकन्थली, सागबारीमा हनुमन्तेको सतह बढेर टहरामा पुगेपछि प्रहरीले अस्थायी टहरामा बसेकाहरू हटाएर सुरक्षित स्थानमा सारेको छ । टहरामा बस्नेहरूलाई कौशल्टारस्थित आदर्श जनप्रेमी स्कुलमा राखिएको जिल्ला प्रहरी परिसरका प्रमुख खड्काले जानकारी दिए । बालकोट र लोकन्थलीको सिमानामा पर्ने सागबारी हनुमन्ते, मनोहरा र गोदावरी खोला आएर जोडिने त्रिवेणी स्थल हो ।

च्यामासिंह नाला सडक खुल्यो

त्यसैगरी, अविरल वर्षाका कारण भक्तपुर नगरपालिकाको च्यामासिंहबाट ताथली हुँदै काभ्रेको नाला–बनेपा जोड्ने सडकको यातायात आवागमन सञ्चालन भएको छ । वर्षाका कारण आएको पहिरोले सडक अवरुद्ध भएपछि बिहानदेखि च्यामासिंह–ताथली–नाला सडकमा यातायातको साधन आवागमन रोकिएको थियो ।

आज प्रमुख जिल्ला अधिकारी खड्का, जिल्ला प्रहरी प्रमुख खड्कालगायतको टोलीले उक्त सडकको अनुगमन गरी डोजरले पहिरो पन्छाउन लगाएर सडकमा यातायात सञ्चालन गरेको हो ।

प्रकाशित समय : १८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु