वर्ल्डलिंककाे नेटवर्क स्तरोन्नति परीक्षण सफल, अब अपलोड र डाउनलोडको स्पिड बराबर
वि.सं.२०७९ असार १६ बिहीवार २०:३७
shares

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (जीपीएन) नेटवर्क स्तरोन्नति गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले आफ्नो फाइबर टु होम नेटवर्क अर्को सातादेखि क्रमशः एक्सजीएस-पोनमा अपग्रेड गर्दै लैजाने जानकारी गराएको छ । नेपालमा एक्सजीएस-पोनमा नेटवर्क अपग्रेड गर्ने वर्ल्डलिंक पहिलो कम्पनी हो ।
यससँगै अब फाइबर टु होम इन्टरनेट सेवाको डाउनलोड स्पिड र अपलोड स्पिड समान दिन सकिने कम्पनीले जनाएको छ । यसअघि सेवाप्रदायकहरुले डाउनलोड स्पिडभन्दा अपलोड स्पिड थोरै दिने अवस्था थियो । विद्यमान जीपोन नेटवर्क प्रविधिमा २.५ जीबीपीएस डाउनलिंक तथा १.२५ जीबीपीएस अपलिंक असममित ब्याण्डविथ भएकोले डाउनलोड समानकै अपलोड स्पिड उपलब्ध गराउन सम्भव थिएन । तर अब एक्सजीएस-पोन प्रविधिबाट सममित १० जीबीपीएस डाउनलोड स्पिड र १० जीबीपीएस अपलोड स्पिड समान रुपमा दिन सकिने छ ।
इन्टरनेट नेटवर्कमा पोन एउटा यस्तो विन्दु (एक्सेस लोकेशन) हो, जहाँबाट इन्टरनेटको मुख्य फाइबर पूर्वाधार (प्यासिभ इन्फ्रास्ट्रक्चर)बाट विभिन्न ग्राहकका लागि इन्टरनेटको फाइबर तार अलग्याएर लगिएको हुन्छ र घरको फाइबर राउटर ओएनटीमा जोडिएको हुन्छ । जीपोनको तुलनामा नयाँ १० जीबीपीएस एक्सजीएस पोनमा अपलिंक ब्याण्डविथको क्षमता आठ गुणा बढी र डाउनलिंकमा ब्याण्डविथको क्षमता चार गुणा बढी र पोन नेटवर्क लेटेन्सीमा पनि जीपोन को तुलनामा केही सुधार हुने कम्पनीले उल्लेख गरेकाे छ ।
‘सैद्धान्तिक रुपमा हरेक जीपोन पोर्टहरूबाट अहिलेको १२८ ग्राहकको तुलनामा दोब्बर संख्या २५६ ग्राहकलाई इन्टरनेट कनेक्सनहरू उपलब्ध गराउन सकिनेछ,’ कम्पनीले भनेको छ, ’साथै विद्यमान जीपोनको तुलनामा एक्सजीएस-पोनमा हालको एक्सेस लोकेशनबाटै धेरै टाढा रहेको ग्राहकलाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिने छ ।’ निकट भविश्यमा एक्सजीएस-पोनलाई सफ्टवेरबाट अपग्रेड गरी २५ जीपोनको लागि पनि आफ्नो पूर्वाधार कम्पनी नोकियासँग पनि नेपालमा बेटा परीक्षण गर्ने कुराकानी भइरहेको कम्पनीले जनाएको छ ।
यसबाट अब भविष्यमा १ जीपीएसभन्दा बढी ब्याण्डविथ स्पीडमा इन्टरनेट सेवा दिन सकिने छ । कन्टेन्ट क्रियटर, युट्युबर, स्ट्रिमर, गेमर, भिडियो कन्फ्रेन्स जस्ता अपलिंक ब्याण्डविथ बडी प्रयोग गर्ने ग्राहकका लागि यो नयाँ प्रविधिले सहज हुने कम्पनीको विश्वास छ । साथै, हालसम्म कर्पोरेट ग्राहकलाई जीपोनबाट सेवा नदिरहेको कम्पनीले अपग्रेडपछि कर्पोरेट र होलसेल ग्राहकहलाई पनि एक्सजीएस पोनबाट पोर्ट, इन्टरनेट तथा : एमपीएलएस डेटा सेवा दिने वर्ल्डलिंकले जानकारी गराएकाे छ ।

























