गृहपृष्ठ एसीसी महिला टी-२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित
एसीसी महिला टी-२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित
नेपालले मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । किनरारा ओभलमा शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । कुवेतका लागि प्रियादा मुरालीले ३१ रन जोडिन् । यस्तै मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाइन् ।
नेपालकी सीता राना मगरले २ तथा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले एक एक विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै सर्वाधिक ३४ रन जोडिन् ।
यस्तै इन्दु बर्माले अविजित २८ रन बनाइन् । यस्तै ज्योति पाण्डेले १५ तथा बिन्दु रावलले ११ रन जोडिन् । सीता मगर र काजल श्रेष्ठले ५/५ रन जोडिन् । कुवेतकी मारिमा हेदरले २ तथा मार्यम ओमार र खादिजा खालिलले १/१ विकेट लिइन् ।
यस जितसँगै नेपालले २ खेलमा ४ अंक जोडेको छ । समूह 'बी'मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । जितपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।
प्रकाशित समय : २१:५० बजे


















