गृहपृष्ठ व्यावसायिक कारोबारको हिस्सा बिक्री गर्ने आफ्नै प्रस्ताव फिफाद्वारा फिर्ता
व्यावसायिक कारोबारको हिस्सा बिक्री गर्ने आफ्नै प्रस्ताव फिफाद्वारा फिर्ता
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो व्यावसायिक कारोबारमा बाह्य लगानी भित्र्याउने विवादास्पद प्रस्ताव फिर्ता लिएको छ । सदस्य राष्ट्र तथा फुटबल संघहरूको तीव्र विरोधपछि फिफाले उक्त योजना अघि नबढाउने निर्णय गरेको हो ।
फिफाले विश्वकपसहितका आफ्ना प्रमुख प्रतियोगिताको व्यावसायिक व्यवस्थापन गर्न छुट्टै संस्था स्थापना गरी त्यसमा करिब २० प्रतिशत हिस्सा बिक्री गर्ने प्रस्ताव अघि सारेको थियो । यसमार्फत करीब ४ अर्ब २० करोड अमेरिकी डलरसम्म जुटाउने लक्ष्य राखिएको थियो । प्रस्तावअनुसार नयाँ संस्थाको मूल्यांकन करिब २० अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको थियो ।
मंगलबार सार्वजनिक गरिएको उक्त प्रस्तावले विशेषगरी युरोपेली फुटबल महासंघ (युइएफए) को कडा विरोध खेपेको थियो । युइएफएले बिहीबार योजनाको बहिष्कार गर्ने निर्णय गर्दै बाह्य लगानीकर्तालाई व्यावसायिक अधिकार बेच्ने प्रयासले फुटबलको ‘आत्मा नै बिक्री गर्न खोजिएको’ आरोप लगाएको थियो ।
विरोध बढेपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रस्ताव कार्यान्वयन नगर्ने घोषणा गरेका छन् । उनले विभिन्न पक्षका धारणा सुनेपछि उक्त परियोजनाले अनावश्यक विभाजन सिर्जना गरेको निष्कर्षमा पुगिएको बताए ।
‘हाम्रो उद्देश्य सधैं फुटबललाई एकताबद्ध बनाउने र यसको विकास गर्ने नै हो । त्यसैले यो प्रस्ताव अब अघि बढाइने छैन,’ इन्फान्टिनोले विज्ञप्तिमा उल्लेख गरेका छन् । यसैबीच, शुक्रबार नै इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस र्कोडिरोले तत्काल पदबाट राजीनामा दिएका छन् । उनले उक्त प्रस्तावलाई ‘फुटबलका लागि खराब सम्झौता’ भएको बताएका थिए ।
फिफाका प्रमुख सञ्चालन अधिकृत को केभिन लोमुअरले पनि योजनाको आलोचना गर्दै कर्मचारीहरूलाई भ्रममा पारिएको र यो ‘एक व्यक्तिको परियोजना’ भएको टिप्पणी गरेका छन् । फुटबलको व्यावसायिक भविष्यसँग जोडिएको यस प्रस्तावलाई फिर्ता लिएसँगै फिफाले अब सदस्य संघहरूबीच सहमति कायम गर्दै विश्व फुटबलको विकासका लागि नयाँ रणनीति खोज्ने संकेत दिएको छ । एएनआई
प्रकाशित समय : ०८:३७ बजे


















