काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विपद् प्रभावित अन्नपूर्णका सबै सडक सञ्चालनमा

861
shares

म्याग्दी। यस वर्षको मनसुनजन्य विपदबाट म्याग्दी जिल्लामा सबैभन्दा बढी प्रभावित बनेको अन्नपूर्ण गाउँपालिकाका सबै सडक सञ्चालनमा आएका छन्।

गत असोज ८ गतेदेखि ११ गतेसम्मको झरीपछिको बाढी पहिरोका कारण अवरुद्ध बनेका अन्नपूर्ण गाउँपालिकाका ८ वटै वडा र बस्ती जोड्ने सडक डेढ महिनापछि पूर्ण रुपमा सञ्चालनमा आएका हुन्। अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले वडा नम्बर ५ मा पर्ने पाउद्धार गाउँ जोड्ने सडक मर्मतको काम आइतबार सकिएको जानकारी दिए।

“अन्नपूर्णमा पर्ने कालीगण्डकी कोरिडोर गत असोज २३ गतेदेखि, पाउद्धार, हिस्तान र राम्चे बाहेकका सडक पनि दसैंअघि नै सञ्चालनमा आएका थिए,” उनले भने, “भौगोलिक रुपमा विकट र धेरै क्षति पुगेका पाउद्धार, राम्चे र हिस्तानका सडक मर्मत सकिएपछि सबै बस्ती सडक सञ्जालसँग पुनः जोडिएका छन्।”

सडक यातायात पुनः सञ्चालन भएपछि विपदबाट क्षतिग्रस्त खानेपानी, सिचाइ, पदमार्ग, भवन र निजी आवास पुनर्निर्माणको कामलाई गति दिन सहज हुने अपेक्षा गरिएको छ।

प्राकृतिक नाकाबन्दीमा परेको पाउद्धार गाउँ जोड्ने पोखरेबगर–नेपाने–पाउद्धार सडक तत्काल मर्मत सम्भव नभएपछि शिखदेखि स्वाँत, किन्दु, झारवाङ हुँदै पाउद्धार जोड्ने बैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। पाउद्धारदेखि नेपाने जोड्ने सडक मर्मत जारी रहेको उपाध्यक्ष तिलिजाले बताए।

अन्नपूर्णमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु र एक जना बेपत्ता भएका छन्। ६० घर पूर्ण र एक सय २९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

निजी आवास भत्किएर र जोखिमका कारण तीन सय परिवार प्रभावित भएका उपाध्यक्ष तिलिजाले बताए। विपद् प्रभावित निजी आवास र सार्वजनिक भौतिक संरचना पुनर्निर्माणलाई तीब्रता दिने गरी तयारी गरिएको उनले बताए।