गृहपृष्ठ अमेरिकी सैनिक जनरल आज नेपाल आउँदै
अमेरिकी सैनिक जनरल आज नेपाल आउँदै

अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन आज नेपाल आउँदैछन् । चारदिने औपचारिक भ्रमणका लागि चारतारे जनरल नेपाल आउन थालेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणबारे गृहकार्य चलिरहेका बेला अमेरिकाबाट सैनिक उच्चपदस्थको भ्रमणलाई निकै अर्थपूर्ण मानिएको छ ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले भने यसलाई फ्लिनको सद्भावना भ्रमण मात्रै भनेका छन् । उनका अनुसार जनरल फ्लिन बिहीबार बेलुकी आफ्नै विमानमा काठमाडौं उत्रने छन् । शुक्रबार उनले सैनिक मुख्यालय जंगीअड्डा भ्रमण गर्ने कार्यक्रम छ । सैनिक मुख्यालयमा जनरल फ्लिनलाई नेपाली सेनाको एक टुकडीले सम्मान गर्नेछ । त्यसपछि प्रधानसेनापति शर्मा र जनरल फ्लिनले भेटवार्ता हुनेछ । बेलुकी प्रधानसेनापति शर्माले जनरल फ्लिनको सम्मानमा रात्रिभोज गर्नेछन् ।
जनरल फ्लिनले शनिबार माउन्टेन फ्लाइट गर्ने कार्यक्रम छ । उनी सगरमाथा आधार शिविर जाने र त्यस क्षेत्रमा रहेको एभरेस्ट भ्यु होटलमा बिहानको खाना खाने तयारी छ । त्यसमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले जनरल फ्लिनलाई साथ दिनेछन् । जनरल फ्लिनले आइतबार नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालको भ्रमण गर्नेछन् ।
त्यहाँ बिहानको खाना खाएर शिवपुरीस्थित सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा जाने र त्यहाँका विद्यार्थीलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि बेलुकी उनी फर्कनेछन् । यसबीचमा जनरल फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।
उनी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकार रहेका माइकल टी फ्लिनका भाइ हुन् । सन् २०२१ जुनदेखि एसिया-प्रशान्त क्षेत्र प्रमुखको जिम्मेवारी छन् ।
प्रधानसेनापति शर्मा असारमा अमेरिका जाँदै छन् । प्रधानमन्त्री देउवाले पनि असारमै अमेरिका भ्रमण गर्ने भनिए पनि मिति टुंगो लाग्न बाँकी छ ।
यसअघि अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री उज्रा जिया जेठमा नेपाल आएकी थिइन् । त्यसअघि सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा सांसदको ५ सदस्यीय टोली, दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङ, दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आएका थिए ।
पछिल्लोसमय अमेरिकाबाट तारन्तर भ्रमणहरु भइरहेका छन् ।
प्रकाशित समय : १४:३१ बजे