गृहपृष्ठ एसियन कप छनोटमा नेपालले जोर्डनको सामना गर्दै

एसियन कप छनोटमा नेपालले जोर्डनको सामना गर्दै

एसियन कप छनोटमा नेपालले जोर्डनको सामना गर्दै

एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले आज बुधबार राति बलियो टोली जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले पहिलो खेलमा जोर्डनको सामना गर्नेछ । नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

बलियो टिम जोर्डनविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । तर, मुख्य ११ खेलाडी बिना कुवेत पुगेको नेपाली टोलीलाई जोर्डनविरुद्ध सुखद नतिजा सजिलो छैन । नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी टिमबाहिर रहेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै वैशाख १३ गते १० सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

युवा खेलाडीसहित कुवेत पुगेका मुख्य प्रशिक्षक अलमुताईरी जोर्डनविरुद्ध दबाब रहित खेल्ने दाबी गर्छन् । 'हामीलाई दबाब छैन । किनभने हाम्रो समूहमा हामी ४ पोर्टको राष्ट्र हौँ । यसैकारण हामीमा कुनै दबाब छैन', प्रि म्याच कन्फरेन्समा अलमुताईरीले भने, 'यस खेल नेपाली राष्ट्रिय टिमका लागि महत्वपूर्ण छ । उत्कृष्ट नतिजाका लागि हामीले केही गर्न आवश्यक छ ।'

अलमुताईरीले आफुले जोर्डनको खेल हेरेको बताउँदै अहिले टिम २०२६ को विश्वकप छनोटको तयारीका लागि रहेको समेत बताए । 'हामी सन् २०२६ को विश्वकप छनोटको तयारी गरिरहेका छौं । हामीसँग ११ नयाँ खेलाडी छन् र  उनीहरुको औसत उमेर २१ वर्ष छ', उनले थपे ।

किरणको अनुपस्थितिम्मा कप्तानीको जिम्मेवारी पाएका नवयुगले जोर्डनविरुद्ध उत्कृष्ट खेल पस्कने बताए । 'उनीहरु हामीभन्दा बलियो भएको प्रमाणित गरिसकेका छन् । तर, हामी आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछौं । सबै कुरा प्रदर्शनमा निर्भर रहन्छ,' कप्तान नवयुगले भने ।

कुवेत जानुअघि नेपालले कतारको दोहामा १० दिनको तयारी गरेको थियो । दोहामा नेपाली टोलीले ३ मैत्रीपूर्ण खेल समेत खेलेको थियो ।

प्रकाशित समय : १५:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु