global ime bank Long Banner Ad

गृहपृष्ठ मासिए मौलिकता झल्काउने घुमाउने घर

मासिए मौलिकता झल्काउने घुमाउने घर

मासिए मौलिकता झल्काउने घुमाउने घर

बागलुङमा पछिल्लो समय मौलिकता झल्काउने घर देखिनै छाडेका छन् ।  केही वर्ष अगाडिसम्म ग्रामीण क्षेत्रमा ढुंगा र खरले छाएका थुप्रै घुमाउने घर देखिए पनि पछिल्लो समय संरक्षण तथा आधुनिकताका नाममा मासिएका छन् ।

ढुंगा माटोको गारो, रातो माटो र सेतो कमेरोले पोतिएका घुमाउने घर केही वर्ष अघिसम्म देख्न पाइन्थो, अहिले घुमाउने घर बिरलै देख्न सकिन्छ । आधुनिक घर निर्माणसँगै घुमाउने घर अहिले देख्नै छाडिएको छ । बागलुङका धेरै स्थानमा घर, टिन तथा ढुंगाले छाएका घुमाउने घर मासिएका छन् । केही सीमित स्थानमा मात्रै संरक्षण गरेर राखिएका छन् । महत्व नबुझ्दा र आधुनिकताका नाममा आरसिसी घर निर्माणले तीव्रता पाउँदा घुमाउने घर संकटमा परेका छन् ।

केही स्थानीयवासीले मात्रै घुमाउने घरलाई संरक्षण गरेर राखेका छन् । तीन पुस्ता परिवारका सदस्य हुर्काएको घुमाउने घरलाई संरक्षण गरेर राखेको बागलुङ नगरपालिका-६ लंगाउँका सिर्जना थापाले बताए । 'हजुरबुबाको पालाको घर संरक्षण गरेर राखेकी छु, धेरैले फोटो, टिकटक र भिडियो बनाएर लैजानुहुन्छ', उनले भने, 'लोप हुन थालेपछि यस्ता घरको खोजी, चासो र चिन्ता बढेको छ ।' 

विशेषगरी मगर र गुरुङ समुदायको पहिचान बनेको घुमाउने घर संरक्षण अभावमा लोप हुँदै गएका छन् । परम्परागतभन्दा आधुनिक शैलीका घर बनाउन सहज हुने भएपछि घुमाउने घर संकटमा परेको गलकोट नगरपालिका-१० का चन्द्रबहादुर घर्ती मगर बताए । गाउँमा भएका त्यस्ता घर पनि जीर्ण बनेका छन् । पर्यटकका लागि रोजाइमा पर्ने भएकाले घुमाउने घरको संरक्षणमा स्थानीय लाग्नुपर्ने उनले बताए ।

स्थानीयवासी चन्द्रकली विक अहिलेका घरभन्दा त्यसको स्वरुप नै फरक हुँदा बनाउने सिकर्मी र डकर्मी पाउन मुश्किल भएको बताउँछिन् । ग्रामीण क्षेत्रमा सहरबजारमा जस्तै आधुनिक शैलीका पक्की घर बन्न थालेपछि घुमाउने घरसँगै ढुंगे घर लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

कला, संस्कृति र मौलिकता बोकेका यस्ता घरले गाउँले जनजीवन र पहिचान बोकेका भए पनि स्थानीय तहले संरक्षणमा चासो देखाएका छैनन् । परम्परागत मौलिक घुमाउने घर संरक्षण गर्न सके घरबाससमेत फस्टाउने अवस्था छ ।

प्रकाशित समय : १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु