गृहपृष्ठ मासिए मौलिकता झल्काउने घुमाउने घर
मासिए मौलिकता झल्काउने घुमाउने घर

बागलुङमा पछिल्लो समय मौलिकता झल्काउने घर देखिनै छाडेका छन् । केही वर्ष अगाडिसम्म ग्रामीण क्षेत्रमा ढुंगा र खरले छाएका थुप्रै घुमाउने घर देखिए पनि पछिल्लो समय संरक्षण तथा आधुनिकताका नाममा मासिएका छन् ।
ढुंगा माटोको गारो, रातो माटो र सेतो कमेरोले पोतिएका घुमाउने घर केही वर्ष अघिसम्म देख्न पाइन्थो, अहिले घुमाउने घर बिरलै देख्न सकिन्छ । आधुनिक घर निर्माणसँगै घुमाउने घर अहिले देख्नै छाडिएको छ । बागलुङका धेरै स्थानमा घर, टिन तथा ढुंगाले छाएका घुमाउने घर मासिएका छन् । केही सीमित स्थानमा मात्रै संरक्षण गरेर राखिएका छन् । महत्व नबुझ्दा र आधुनिकताका नाममा आरसिसी घर निर्माणले तीव्रता पाउँदा घुमाउने घर संकटमा परेका छन् ।
केही स्थानीयवासीले मात्रै घुमाउने घरलाई संरक्षण गरेर राखेका छन् । तीन पुस्ता परिवारका सदस्य हुर्काएको घुमाउने घरलाई संरक्षण गरेर राखेको बागलुङ नगरपालिका-६ लंगाउँका सिर्जना थापाले बताए । 'हजुरबुबाको पालाको घर संरक्षण गरेर राखेकी छु, धेरैले फोटो, टिकटक र भिडियो बनाएर लैजानुहुन्छ', उनले भने, 'लोप हुन थालेपछि यस्ता घरको खोजी, चासो र चिन्ता बढेको छ ।'
विशेषगरी मगर र गुरुङ समुदायको पहिचान बनेको घुमाउने घर संरक्षण अभावमा लोप हुँदै गएका छन् । परम्परागतभन्दा आधुनिक शैलीका घर बनाउन सहज हुने भएपछि घुमाउने घर संकटमा परेको गलकोट नगरपालिका-१० का चन्द्रबहादुर घर्ती मगर बताए । गाउँमा भएका त्यस्ता घर पनि जीर्ण बनेका छन् । पर्यटकका लागि रोजाइमा पर्ने भएकाले घुमाउने घरको संरक्षणमा स्थानीय लाग्नुपर्ने उनले बताए ।
स्थानीयवासी चन्द्रकली विक अहिलेका घरभन्दा त्यसको स्वरुप नै फरक हुँदा बनाउने सिकर्मी र डकर्मी पाउन मुश्किल भएको बताउँछिन् । ग्रामीण क्षेत्रमा सहरबजारमा जस्तै आधुनिक शैलीका पक्की घर बन्न थालेपछि घुमाउने घरसँगै ढुंगे घर लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।
कला, संस्कृति र मौलिकता बोकेका यस्ता घरले गाउँले जनजीवन र पहिचान बोकेका भए पनि स्थानीय तहले संरक्षणमा चासो देखाएका छैनन् । परम्परागत मौलिक घुमाउने घर संरक्षण गर्न सके घरबाससमेत फस्टाउने अवस्था छ ।
प्रकाशित समय : १५:४४ बजे