गृहपृष्ठ टिपर तथा ट्रक व्यवसायीका समस्या समाधान गर्न माग
टिपर तथा ट्रक व्यवसायीका समस्या समाधान गर्न माग
यातायात व्यवसायीले नेपालको टिपर तथा ट्रक क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेका छन् । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले शुक्रबार आयोजना गरेको ‘पदस्थापन तथा सम्मान’ कार्यक्रमका वक्ताले नेपालको टिपर तथा ट्रक क्षेत्रमा धेरै समस्या रहेको भन्दै उक्त समस्या समाधानका लागि सरकारले तत्काल पहल थाल्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले नेपालको मालबाहक क्षेत्रमा थुप्रै समस्या रहेको भन्दै त्यसको समाधानका लागि महासंघले सम्बन्धित निकायमा निरन्तर आवाज उठाउँदै आएको बताए । 'समितिले नेपालको मालबाहक क्षेत्रलाई मर्यादित र सम्मानजनक बनाउनका लागि चालक तथा सहचालकलाई बेलाबेलामा प्रशिक्षण एवं तालिम प्रदान गर्नुपर्छ', उनले भने ।
नेपाल टिपर तथा ट्रक व्यवसायी समितिका पूर्वअध्यक्ष एवं धादिङको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले टिपर तथा ट्रक क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे । 'म अध्यक्ष भएदेखि नै यस क्षेत्रका समस्या ज्यूँका त्यूँ छन्, त्यसकाे समाधानका लागि आफू जनप्रतिनिधि भएको हिसाबले निरन्तर लाग्नेछु', उनले भने ।
महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुलुकको विकासका लागि टिपर तथा ट्रक क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यो व्यवसायलाई सम्मानित ढंगले सञ्चालन गर्न राज्यले सहयोग गर्नुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष सिटौलाले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपालको यातायात क्षेत्रबाट २०० भन्दा बढी जनप्रतिनिधि विजयी भएको भन्दै विजयी जनप्रतिनिधले नेपालको यातायात क्षेत्रमा देखिएको समस्या समाधानमा लाग्ने विश्वास व्यक्त गरे ।
आर्थिक वर्ष २०७९/०८० को बजेटले नेपालको यातायात क्षेत्रलाई यथोचित सम्बोधन गर्न नसकेको उनको भनाइ थियो ।
प्रकाशित समय : १४:४१ बजे



















