झापामा दश महिनामा बलात्कारका ८६ अभियुक्त पक्राउ
वि.सं.२०७९ जेठ १८ बुधवार १६:३७
shares

विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकानुसार आर्थिक वर्ष २०७८/७९ को १० महिनामा सबैभन्दा बढी जबर्जस्ती करणीका ७२ जाहेरी परेका छन् ।
ती घटनामा ५६ अभियुक्त पक्राउ परिसकेका छन् । सोही अवधिमा बाल यौन दुराचारका १९ र जबर्जस्ती करणी उद्योगका १३ घटना भएका छन् । बाल यौन दुराचारका १७ र जबर्जस्ती करणी उद्योगका १० अभियुक्त पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
बलात्कृत हुनेमा चार वर्षीया बालिकादेखि ६० वर्षीया वृद्धासमेत छन् । पछिल्लो समय बाल यौन दुराचारका घटना बढेका छन् । अधिकांश बलात्कारका घटनामा प्रायः परिवार, नातागोता, शिक्षक र छरछिमेकी अभियुक्त पाइएको पाठकले बताए । 'अधिकांश घटना नजिकका आफन्तबाट भएका देखिन्छन्', उनले भने ।
यस्ता आपराधिक क्रियाकलापमा पढेलेखेका र समाजमा पहिचान बनाएका व्यक्तिको समेत संलग्नता पाइएको छ । बलात्कारका घटनाका २० अभियुक्त अझै फरार छन् ।

























